९ कर्मचारीको दरबन्दी रहेको कार्यालय १ जना सहयोगीको भरमा
काठमाडौं। संखुवासभाको किमाथांका भन्सार कार्यालयमा कर्मचारीको चरम अभाव रहेको छ। ९ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा १ जना कार्यालय सहयोगी मात्रै रहेका छन्। भन्सार कार्यालय कर्मचारीविहीन हुँदा भोट खोलावासीले चरम सास्ती पाउने गरेका छन्।
Advertisement 1
किमाथांका भन्सार कार्यालय गत कार्तिक ७ गतेदेखि १ जना कार्यालय सहयोगीको भरमा छाडिएको छ। भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि किमाथांका भन्सार ‘कार्यालय सहयोगी’को भरमा छ। उत्तरी क्षेत्र किमाथांकामा २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो।
द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ। भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ। उता किमाथांका सीमा भन्सार कार्यालयले करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन्। किमाथांका सीमा भन्सारको कामका लागि तीन–चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै पुग्नुपर्ने बाध्यता रहेको छ।
Advertisement 2
भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो बनेको छ। उत्तरी क्षेत्र किमाथांका नाका गत जेठ १२ गते सञ्चालनमा आए पनि भन्सार कार्यालय नहुँदा भोट खोलावासीले सास्ती पाएका छन्। किमाथांका नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटीलगायत सामान आयात–निर्यात गर्दा तीन–चार दिन पैदल हिँडेर सरदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता छ।
किमाथांकावासी सीमापारीको चाँगा, देन्दाङ बजारमा सीमापासका आधारमा चिनियाँ बजारमार्फत सामान आयात गर्दै आएका छन्। किमाथांका सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ। खाँदबारीदेखि किमाथांकाको दूरी एक सय ६२ किमि छ।