निजामती सेवालाई अस्तव्यस्त र ध्वस्त पार्ने विभेदकारी प्रावधान हटाउनतर्फ लागौं

प्रस्तावित निजामती सेवा ऐनका केही प्रावधान हेरें त्यसपछि केही कुराहरु राख्न मन लाग्यो ।
क) नेपालको निजामती सेवालाई व्यवसायिक, सक्षम, क्षमतावानको सपना, नागरिकको सेवामा उत्प्रेरित, उच्च मनोवलयुक्त, राजनीतिक रुपमा तटस्थ भै सेवामै दत्तचित्त हुनेखालको बनाउन खोजिएको हो कि ?
ख) नेपालको निजामती सेवालाई कमजोरबीचको योग्य भित्र्याउने, सक्षमजति विदेश पलायन गराउने, सेवामा आइसकेकालाई पनि सेवादेखि वितृष्णा उत्पन्न गराउने हतोत्साही गराउने, सेवामा भन्दा जागिर खाने खालको भावनायुक्त, क्षमतावान र कार्यप्रति जिम्मेवार भन्दा राजनीतिप्रतिको लगावले मात्र भनेजस्तो जिम्मेवारी पाउने, हाकिमले जे भनेनि, नराम्रो भनेनि, नराम्रो काम गराए पनि चुपचाप सहने र गर्ने अनि निजामती सेवालाई ध्वस्त पार्ने खालको बनाउन खोजिएको हो ??
यदि दोश्रो बिचार बमोजिम बनाउन खोजिएको हो भने अहिले संसदमा लगिएको निजामती सेवा ऐन ठिकै छ । तर पहिलो विचार बमोजिम बनाउन खोजिएको हो भने उद्देश्य पौडी खेल्ने तर हामफाल्ने चैं पेट्रोलको भण्डारमा जस्तो हुनेछ ।
यदि राम्रो गर्ने हो भने कि शाखा अधिकृत भन्दा माथिल्लो पदमा खुला र आ प्र दुवै हटाउनुपर्छ कि आ प्र अनिवार्य राखिनुपर्छ । अन्यथा २१ बर्षमा पास गरेको शाअ कहिल्यै सचिव हुँदैन । बाहिरबाट आउनेहरु धमाधम सचिव बन्छन् किनकी माथिल्ला पदहरु त कम नै हुन्छन् । २१ बर्षमा शाखा अधिकृत पास गर्ने कर्मचारीको मनोवल कस्तो होला ?
राजपत्र अनंकित पदबाट राजपत्रांकित पदमा केही प्रतिशत आन्तरिक प्रतिस्पर्धा राख्दा खरिदार, ना सु को मनोवल उच्च हुन्छ ।
सेवामा रहेकाले काम गरेनन् लोकसेवा तयारीमा लागे भन्ने हो भने त धेरै संख्यामा सेवामा संलग्न कर्मचारी खरिदार, ना सु हुन् उनीहरु शाखा अधिकृतको तयारीमा बेजोड रुपमा लागेकै हुन्छन् । शाखा अधिकृतको पनि खुला हटाइदिने त ?? खरिदार, नासु त्यत्रो संख्यामा हुन्छने् उनिहरुले शाखा अधिकृत तयारि गर्दा सेवा प्रभावित नहुने अनि थोरै संख्यामा मात्र रहने शाखा अधिकृत र उपसचिवले मात्र नपढेर सेवा राम्रो हुने त पक्कै हैन होला ? फेरि पढेर सेवा प्रभावित भयो भन्नू झन् संकिर्ण सोच हो । पढाइ रोकेर आउने फाइदा भन्दा कैयौ गुणा बढी बेफाइदा छन् ।
विकास समितिमा काम गर्नेको अवधिदेखि अस्थायी सेवा अवधिलाई समेत स्थायीमा गणना गरिएको छ जुन आवश्यक थिएन तर सेवामा कार्यरत अधिकृतस्तरका कर्मचारीको मनोवल पूर्णरूपमा गिर्नेगरी खुलाबाट पास हुनेलाई समेत विगतको सेवा अवधि नजोडिने प्रावधानले हाम्रो निजामती सेवा कहाँ जाला ?? बाहिरका उम्दा प्रतिस्पर्धी आउन शाखा अधिकृतपदको बाटो खुला छ त किन चाहियो उपसचिव र सहसचिवमै खुला ? अधिकृतमा भर्ना गरेर उच्च मनोवलयुक्त बनाउदै लैजाअौं न । त्यसो गर्ने हो भने शाखा अधिकृभन्दा माथि आप्र, खुला सबै हटाइदिउँ । अहिलेको प्रावधानले कतै राम्रो नतिजा दिदैन । राम्ररी समीक्षा गरौं ।
पढेर माथि जान पाइन्न भनेपछि सक्षम ब्यक्तिहरु दशकौं बढुवाका लागि कुरेर कदापि बस्दैनन् किनकी सेवामा रहेर पर्याप्त तलब सुविधा पनि त छैन । पर्याप्त तलब सुविधा पनि नहुने, योग्यता क्षमता देखाएर माथिल्लो पदमा पुग्न नि नपाइने । सधैं आर्थिक संकटमा गुज्रिन निजामती सेवामा कोही आउदैनन् ।
आउनेहरु कस्ता हुन्छन् त ? भन्दा कि अन्यत्रका जागिर नपाएपछि, कि विदेश जान भनेजस्तो नभएपछि मात्र आउछन् र केही भ्रष्टाचार गरेर छोटो अवधिमै प्रशस्त कमाउछु भन्नेहरु आउछन् । अब यस्ता कर्मचारीबाट कस्तो सेवा प्रवाह, सुशासन र विकासको अपेक्षा गर्ने ???
निजामती सेवालाई साच्चै गरिमामय, योग्य र सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी स्थापित गर्ने हो भने सक्षमलाई आकर्षित गर्ने, सेवाभाव जगाउने, उच्च मनोवलयुक्त बनाउने, संगठनमा टिकाइराख्ने अवस्था सृजना गरी प्रभावकारी सेवा प्रवाह, सुशासन र विकास गर्न निजामती सेवा ऐनबारे ट्रेड यूनियन, राजनीतिज्ञ, सञ्चार जगतदेखि सबैले गम्भीर भएर समीक्षा गर्नु जरुरी छ । यस्तो अस्तब्यस्त र निजामती सेवालाई ध्वस्त पार्ने प्रावधानहरु हटाउनतर्फ लागौं ।
प्रकाशित :२०७७ चैत्र २७, शुक्रबार ०७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry