निजामति ऐन जारी गराउन रिले अनसनसम्म बस्ने एकीकृत सरकारी कर्मचारी संगठनको चेतावनी
काठमाडौं। एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले निजामति ऐन कार्यान्वयन गराउन रिले अनसन बस्ने तयारी गरेको छ। संगठनले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो।
Advertisement 1
यसअघि संगठनको कार्य समितिको बैठकबाट उक्त प्रस्ताव पारित भइसकेको पनि संगठनले जानकारी दिएको छ। ‘संघीय निजामती ऐन जारी गराउन दशैं तिहार पछि रिले अनसनको शुरुवात गर्ने,’ संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संघीयता कार्यान्वयनको ९ वर्ष पुग्दा पनि संघीय निजामती सेवा ऐन जारी हुन नसकेको संगठनको भनाइ छ। प्रशासनिक संघीयता अनन्त संक्रमणकालमा गुज्रिरहेको चेतावनी संगठनले दिएको छ।
Advertisement 2
‘ऐन आइहाल्छ भन्ने कुरा अब डाँटको निम्तो खाएर मात्रै पत्याउनुको हालतमा पुगिएको छ। सार्वजनिक प्रशासनको क्षेत्रमा अराजकता, अन्यौलता र निराशा व्याप्त छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस परिप्रेक्ष्यमा नागरिक र कर्मचारीमैत्री ऐन जारी गराउन सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सार्वजनिक सेवा प्रवाहमा कुनै पनि असर नपर्ने गरी दशैं तिहार लगायतको पर्वहरु सकिएपछि प्रत्येक हप्ताको शनिवार रिले अनसन गर्ने निर्णय गरेको छ।’
सेवाग्राही र कर्मचारीमैत्री ऐन प्राप्त नभएसम्म रिले अनसनलगायत अभियान निरन्तर गर्ने र आवश्यकताअनुसार अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने निर्णय सर्वसम्मत रुपमा भएको संगठनको भनाइ छ।