साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार

काठमाडौं। पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन्। विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ।
आकर्षक र गुणस्तरीय तस्बिर, भिडियो खिच्नेको सौख बन्दै गएको ड्रोनको प्रयोग र बिक्री वितरणमा देखिएको लहरले मानिसका चाहनालाई थप प्रतिम्बित गरिदिएको छ। यस्तै ठूलादेखि साना आयोजनाको सर्वेक्षण तथा अन्य प्राविधिक कामका लागि पनि ड्रोन अपरिहार्य जस्तै बनेको छ। जलविद्युत् आयोजनाको सामान्यभन्दा सामान्य कामलाई सहज तुल्याउन प्रवद्र्धनकले यसमा विशेष ध्यान दिएका छन्। पदयात्रामा जाने पर्यटक, खोज तथा अध्ययनकर्ता एवं जिज्ञासुले पनि अनुमति लिएर यसको प्रयोग गरिरहेका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहर संकलनका लागि उच्च क्षमताको ड्रोन प्रयोग गर्ने गरी सफल परीक्षण भइसकेको छ। प्रविधिमा आएको परिवर्तनले मानव जीवनमा सहज प्रभाव पार्दछ भन्ने खास उदाहरण बनेको छ ड्रोन। भीडभाड हुने मेला पर्व, जात्रा तथा राजनीतिक पार्टीका आमसभा एवं जटिल स्थानका तस्बिर तथा भिडियो खिच्नका लागि प्रयोग हुने ड्रोनको सुरक्षित उडान र अवतरण गराउनु पनि उत्तिकै आवश्यक छ। त्यसमा विशेष सीप र क्षमताको आवश्यकता पर्दछ। प्रविधिको प्रयोग गरेर आम पाठक तथा स्रोतालाई गुणस्तरीय तस्बिर र भिडियो उपलब्ध गराउनका लागि महत्वपूर्ण साधनको रुपमा विकास भएको ड्रोन मर्मत सम्भार गर्ने जनशक्ति भने नेपालमा असाध्यै कम छन्। आममानिसको आवश्यकता जस्तै बनिसकेको ड्रोन प्रयोग गर्दा कहिलेकाही दुर्घटनामा पनि पर्न सक्छ। अनावश्यक खराबी आउन सक्छ। त्यस्तो अवस्थामा मर्मत सम्भार गरेर पूर्ववत् अवस्थामा फर्काउने जनशक्तिको अभाव हुँदा यसका प्रयोगकर्ता खिन्न हुने अवस्था छ।
त्यसका लागि आवश्यक जनशक्ति तयार पार्न सरकार र निजी क्षेत्रले पनि खास ध्यान नदिएको अवस्थामा आफ्नै पहलमा नै ड्रोन मर्मत केन्द्र खोलेर देशभित्रै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भक्तपुरका राजकुमार तिमिल्सिना। सिंहदरबारको पूर्वी गेट नजिकै उनले चलाइरहेका छन्, ड्रोन मर्मत केन्द्र। ‘देशभित्रै अनगिन्ती रोजगारीको अवसर छ। सामान्य पैसा कमाउनका लागि विदेशिनु पर्दैन’ भन्ने सन्देश दिँदै राजकुमारलाई यतिबेला ड्रोन मर्मत गर्न भ्याइ नभ्याइ छ भन्दा अत्युक्ति हुँदैन।
स्वदेशी तथा विदेशी उनलाई खोज्दै अनामनगर आइपुग्छन्। आफ्नो कामको प्रचारप्रसार सामाजिक सञ्जालमार्फत गर्न सिपालु राजकुमार ड्रोन मर्मतको भिडियो खिचेर फेसबुक, टिकटक र युट्यबमा राख्छन्। त्यसबाट धेरै फाइदा भएको राजकुमार बताउँछन्। सामाजिक सञ्जालबाट प्राप्त हुने सकारात्मक सन्देश नै प्ररेणाको स्रोत बनेको उनी बताउँछन्। देशभित्र अवसर नभएको, रोजगारी नपाएको तथा काम छैन भन्दै गलत भाष्य निर्माण गरेर विदेशिने जमात बढिरहेको बेला राजकुमार भने स्वअध्ययनका आधारमा नेपाली युवालाई सकारात्मक सन्देश दिइरहेका छन्। ‘सामान्य काम भनेर हेला नगरौँ। यस्तो प्राविधिक काममा धैर्यता, मेहिनत र लगनशिलता जरुरी पर्छ। परिवारको साथमा बसेर राम्रै कमाइ गर्न सकिन्छ,’ उनले भने, ‘पैसा हावामा उडेको छ भन्दा धेरैले पत्याउँदैनन्। काम खोज्न खाडी मलेसिया र कोरिया जानै पर्दैन।’
ड्रोन मर्मतको काम आफूले मात्रै नगरेको अरुलाई पनि सिकाएको स्पष्ट पार्दै राजकुमारले भने, ‘सीप सिकौँ, दक्ष बनौँ, अवसर तपाईलाई खोज्दै आइपुग्छ। कही कतै जानै पर्दैन।’
हालसम्म १० जनालाई मर्मतको सीप सिकाएको जानकारी दिँदै राजकुमारले भने, ‘मासिक १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म सहजै कमाइ गर्न सकिन्छ।’
अनामनगरमा उनले कार्यस्थलको नाम राखेका छन्, छ चण्डेश्वरी क्यामरा मर्मत केन्द्र। विगत १४ वर्षदेखि भिडियो क्यामेरा मर्मत गर्दै आएका तिमिल्सिना पछिल्ला दिनमा भने ड्रोन मर्मतलाई आफ्नो विशेष पेशा बनाएको बताउँछन्। फोटोग्राफी, भिडियोग्राफीमा ड्रोनको प्रयोग बढ्दै गएपछि मर्मत सम्भार गर्ने स्थानको अभाव हुन थाल्यो। त्यो अभावलाई सामान्य रुपमा भए पनि पूर्णता दिन पाउँदा आफूलाई धन्य ठानेको उनी बताउँछन्।
भिडियो क्यामेरा मर्मतका क्रममा विभिन्न टेलिभिजन स्टेशनमा गए पनि काम गरेको पारिश्रमिक नपाएपछि ड्रोनलाई नै खास समय दिएको उनले सुनाए। नाम चलेका टेलिभिजनले नै पारिश्रमिक दिन कन्जुस्याई गरेकोे अमिलो स्मरण छ उनीमा। ‘आफूले जानेको काम छाडेको त छैन, तर मुख्य काम भने यतिबेला ड्रोन मर्मत नै बनाएको छु। यसबाट सबैभन्दा बढी सन्तुष्टि मात्रै मिलेको छैन। कमाई पनि राम्रो भएको छ,’ उनले भने।
महँगोमा खरिद गरेको ड्रोनमा सामान्य समस्या आउँदा पनि मर्मत गर्ने स्थानको अभाव हुँदा त्यत्तिकै थन्क्याउनुपर्ने बाध्यता थियो। ड्रोन बनाउन जान्ने दक्ष जनशक्ति कम हुदाँ महँगो मूल्यको ड्रोन कहाँ बनाउने भन्ने तनाव प्रयोगकर्तामा पनि उत्तिकै थियो। उनलाई यतिबेला ड्रोन मर्मतको कामले भ्याइ नभ्याई छ। देशभरका ड्रोन प्रयोगकर्ताको एकमात्र भरोसाका रुपमा आफूलाई पाएको उनी दावीका साथ भन्छन्। आजकल चण्डेश्वरी क्यामरा मर्मत केन्द्र राजकुमार ड्रोन हाउसबाट चिनिन थालेको छ।
नेपालमा विसं २०७२ को भूकम्पपछि ड्रोन किन्ने र प्रयोग गर्नेको संख्या ह्वात्तै बढ्यो । यो १० वर्षको अवधिमा विवाह, व्रतबन्ध, वृत्तचित्र निर्माण, निजी तथा सरकारी कार्यक्रमदेखि ‘भ्लग’ बनाउन ड्रोनको अत्यधिक प्रयोग भएको छ। प्रयोग बढ्दै जाँदा मर्मतको काम उत्तिकै बढेको छ। देशैभरबाट मर्मतको लागि ड्रोन प्राप्त हुने गरेको उनको भनाइ छ। दैनिक तीनदेखि चार वटा ड्रोन मर्मतका लागि आइपुग्छन्। अन्य स्थानमा नजानेका मानिसले मर्मतको नाममा बिगारी दिए भन्नेदेखि अब बन्दैन भनेका धेरै ड्रोन मर्मत गरेको उनको दाबी छ।
क्यामरा मर्मतबाट व्यवसाय सुरु गरेका तिमिल्सिना ड्रोन मर्मतको विज्ञका रुपमा चिनिएका छन्। नयाँ क्षेत्र भएकोले आम्दानी राम्रै हुने गरेको छ। प्रयोग बढ्दा स–सानो प्राविधिक समस्या आउनु स्वभाविक नै छ। छिटो मर्मत गर्नुपर्ने हुन्छ। खासमा मर्मत गर्न जान्ने दक्ष जनशक्तिको अभाव नै छ। कतिपयले चलाउन नजान्दा वा दुर्घटनामा पर्दा बिग्रिने गरेको छ। खासमा दुर्घटना भयो भने ड्रोनमा धेरै समस्या आउँछ। नेपालमै केही गर्नेभन्दा पनि अध्ययनको नाममा वैदेशिक रोजगारीमा जाने लहडका कारण अथाह सम्भावना र राम्रो कमाई हुने यस क्षेत्रमा जनशक्तिको अभाव छ।
राजकुमार सुरुमा त्रि–चन्द्र कजेलमा साइन्स पढ्न भर्ना भएका थिए। तर उनलाई विषय लाग्यो। उनलाई त्यसमा पढ्नै मन लागेन। ‘विषय लागेपछि टेलिभिजन ममर्तको काम सिक्न अनामनगर आएको थिएँ,’ उनले भने, ‘त्यो दिन मेरा लागि रुचीकर थिएन। तर, आज नाम र दाम दुवै प्राप्त हुँदा सही निर्णय गरिएछ भन्ने लागेको छ।’
विज्ञान पढ्न गएको छोरो अनुत्तीर्ण भएर फर्केपछि उनलाई घरमा बुवाले चित्त दुखाएर भने, ‘यसले गरिखाँदैन, अब तँ विदेश जा।’ पढाइ पनि छैन, काम पनि छैन, विदेश जानुबाहेक अरु कुनै विकल्प नभएको बेला आफू संयोगले क्यामेरा र टेलिभिजन मर्मतका लागि अनामनगर आइपुगेको तिमिल्सिना बताउँछन्।

Advertisement 1

रासस

प्रकाशित :२०८१ भाद्र ११, मंगलवार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry