दिगो बैंकिङमा अग्रस नबिल बैंक ४१औं वर्षमा
काठमाडौं। नबिल बैंक स्थापनाको ४० वर्ष पूरा गरी ४१औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले ४०औं वार्षिकोत्सव मनाएको छ। ‘फोर्टी एण्ड फर्दर फर सस्टेनेबल फ्युचर’ नारासहित बैंकले वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सव कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका विषयमा छलफल गरिएको थियो।
Advertisement 1
काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक डा पेमा ग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि डा घनश्याम गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायतको उपस्थिति थियो।
अध्यक्ष पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिए। बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उनले बताए। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई धन्यवाद दिए।
Advertisement 2
बैंकले ४० वर्ष पुगेको अवसरमा आगामी ४० दिनसम्म दिगो विकाससम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने समेत उनले जानकारी दिए। त्यसका लागि आगामी ४० दिनमा साइकलिङ, प्रभातफेरी, ‘चार दशक नेपालको’ यात्रा झल्काउने तस्बिर प्रदर्शनीलगायत कार्यक्रम तय भएको उनको भनाइ थियो।