कञ्चनपुरमा भएको अत्यधिक वर्षाको अध्ययन सुरु

दोधारा चाँदनी। जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्को टोलीले दोधारा चाँदनीमा भएको अत्यधि वर्षाको अध्ययन थालेको छ। टोलीले केही दिनअघि भएको हालसम्मकै उच्च वर्षा के कारणले भएको हो त्यसको अध्ययन थालेको हो।
Advertisement 1
वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ। टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए÷नभएको जाँच गरेकाबारे दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रको अध्ययन गरेको मौसमविद् डा. कँडेलले जानकारी दिइन्।
यसका साथै दोधारा चाँदनी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिएको उनले बताइन्। ‘असार २३ र २४ गतेका दिन २४ घण्टाको अवधिमा ६२४ मिलिमिटर अर्थात् अहिलेसम्मकै सर्वाधिक वर्षा रेकर्ड हुँदा यति धेरै हुनसक्छ र? भनेर सरोकारवालाले चासो देखाउनुभयो,’ उनले भनिन्, ‘त्यसपछि थप अध्ययनका लागि स्थलगत आएका हौं।’
Advertisement 2
दोधारास्थित वर्षा मापन केन्द्रका उपकरणको जाँच गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने उनको भनाइ छ। टोलीले आज कञ्चनपुरको हनुमाननगर र सुन्दरपुर केन्द्रमा रहेको वर्षा मापन केन्द्रको पनि अध्ययन गर्ने कार्यक्रम छ। असार २३ र २४ गतेको वर्षाले नेपालमा हालसम्म भएको वर्षाको रेकर्ड तोडेको थियो। दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा रेकर्ड भएको ६२४ मिलिमिटर वर्षा नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै भएको कँडेलले बताइन्।