महाकालीमा पानीको बहाव बढ्यो, बनबसा जोड्ने पुलमा सवारीसाधन चलाउन बन्देज
महेन्द्रनगर। महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ।
Advertisement 1
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो। साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए।
आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव १ लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ। ‘शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ,’ उनले भने, ‘शनिबार साझँ महाकालीमा १ लाख ५ हजार क्युसेक पानी मापन गरिएको थियो। बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाएपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन्।
Advertisement 2
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ। यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ।