मनसुनी घटनाबाट हालसम्म २८ को ज्यान गयो

काठमाडौं। मनसुनजन्य विपदमा परी २८ जनाले ज्यान गुमाएका छन्। १ जना बेपत्ता रहेका तथा अन्य २५ जना घाइते भएका सरकारले विवरण राखेको छ।
Advertisement 1
राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उक्त जानकारी गराएका हुन्।
उनका अनुसार मनसुनजन्य विपद्बाट ४६ घर पूर्णरुपमा क्षति भएका छन्। ३६ घर आंशिक क्षति भएका छन्। चालु आवमा हालसम्मका मनसुनजन्य विपद्का विवरण प्रस्तुत गर्दै उनले पहिरोबाट २४ जनाको मृत्यु भएको, १९ जना घाइते भएका तथा बाढीबाट ४ जनाको मृत्यु भएको जानकारी गराए। एकजना बेपत्ता भएका र दुईजना घाइते भएका उनले बताए। भारी वर्षाका कारण ४ जना घाइते भएका छन्।
Advertisement 2
चट्याङका कारण ९३ वटा घटनामा परी १९ को मृत्यु भएको तथा ३५ घाइते भएका छन्। हालसम्म चट्याङबाट ३२ जिल्ला प्रभावित भएका उनले जानकारी दिए।
सबै विपद्का घटनाबाट १ सय ७१ चौपाया मरेका छन्।
विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्री अर्यालले जानकारी दिए। उनले मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमको आँकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुनेगरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिए।