पूर्वाधार मर्मत तथा विस्तारमा प्रभावकारी बन्दै दमौली सडक डिभिजन

तनहुँ। सडक डिभिजन कार्यालय दमौलीले आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका क्षेत्रमा विभिन्न काम सम्पन्न गरेको छ। कार्यालयले उक्त आर्थिक वर्षमा नयाँ सडकको ट्रयाक खोल्नेदेखि सडक ग्राभेल, कालोपत्र, ढलान तथा नियमित मर्मतसम्भारलगायत काम गरेको हो।
Advertisement 1
कार्यालय प्रमुख राजिव श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयअन्तर्गत सञ्चालन भएका विभिन्न कार्यक्रममार्फत ३.२ किलोमिटर सडकको ट्रयाक खोल्नेकार्य सम्पन्न भएको छ। उक्त कार्यबाट तनहुँका बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न क्षेत्रमा आन्तरिक आवागमनमा सुधार आएको उहाँले बताउनुभयो।
त्यस्तै, ७.३० किलोमिटर सडक ग्राभेल गरिएको छ। व्यास नगरपालिका र घिरिङ गाउँपालिकाका विभिन्न क्षेत्रमा ग्राभेल सडक निर्माण गरिएको हो। यसबाट स्थानीयस्तरमा सडकको पहुँच विस्तार हुनुका साथै वर्षायाममा आवागमन सहज बनाउन सहयोग पुगेको श्रेष्ठको भनाइ छ।
Advertisement 2
सो अवधिमा २.६० किलोमिटर सडक कालोपत्र र ३.१६ किलोमिटर सडक ढलान गर्ने कार्यसमेत सम्पन्न भएको छ। व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाअन्तर्गतका सडकमा कालोपत्र तथा ढलानको काम गरिएको उनले जानकारी दिए।
कार्र्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका राष्ट्रिय तथा सहायक राजमार्गलाई नियमित सञ्चालनमा राख्न नियमित तथा पटके मर्मतलाई पनि प्राथमिकता दिएको छ। श्रेष्ठका अनुसार ११६.५० किलोमिटर सडकमध्ये ८०.५० किलोमिटर राष्ट्रिय राजमार्ग र ३६ किलोमिटर सहायक राजमार्गको नियमित तथा पटके मर्मत गरेको छ। सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, बिग्रिएका संरचना मर्मत गर्ने तथा सडकलाई सञ्चालनयोग्य अवस्थामा राख्ने काम गरिएको श्रेष्ठले बताए।
Advertisement 3
सडक मर्मतका कारण राजमार्ग तथा सहायक राजमार्गमा यातायात सञ्चालनलाई निरन्तरता दिन सहयोग पुगेको उनको भनाइ छ। विशेषगरी वर्षायाममा सडकमा आउने समस्या तत्काल सम्बोधन गरी यातायात सञ्चालनमा सहजीकरण गरिएको उनले बताए।
कार्यालयले लामो समयदेखि कार्यान्वयनमा समस्या देखिएका रुग्ण ठेक्का व्यवस्थापनमा प्रगति हासिल गरेको छ। आर्थिक वर्ष २०८२÷८३ सम्म आइपुग्दा पाँच वटा रुग्ण ठेक्का तोडिएको उनले उल्लेख गरे।
निर्धारित समयमा काम अघि बढाउन नसकेका तथा विभिन्न कारणले रुग्ण बनेका ठेक्काको व्यवस्थापनलाई प्राथमिकतामा राखेर ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो। रुग्ण ठेक्का व्यवस्थापनले लामो समयदेखि अलपत्र रहेका सडक आयोजनालाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सडक निर्माण तथा मर्मतका विभिन्न कार्यक्रममार्फत कार्यालयले २७७ जना निर्माणकर्मीलाई आंशिक रोजगारी प्रदान गरेको छ। उनका अनुसार निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रमअन्तर्गत ८० जना, वैकल्पिक सहायक राजमार्ग कार्यक्रमअन्तर्गत ७५ जना, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत ६५ जना, सडक बोर्ड मर्मतअन्तर्गत ३२ जना र सडक बोर्ड मर्मत तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत ३५ जना निर्माणकर्मीले रोजगारी पाएका छन्।
कार्यालयले सडक पूर्वाधारको विस्तारसँगै विद्यमान सडकलाई सुरक्षित र सञ्चालनयोग्य राख्न मर्मतसम्भारलाई पनि प्राथमिकता दिएको जनाएको छ।








