कर्णालीको बजेट २ अर्बले घट्यो, के–के परे प्राथमिकतामा?
सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ, चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ। प्रस्तुत बजेट चालु आवको भन्दा २ अर्ब रुपैयाँले कम हो। चालू आवका लागि ३३ अर्ब रुपैयाँको बजेट पेस भएको थियो। अर्थमन्त्री महेन्द्र केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नारालाई सार्थक तुल्याउने उद्देश्यसहित बजेट ल्याइएको बताए। साथै बजेट सात उद्देश्य, सात प्राथमिकता र सात रणनीतिक क्षेत्र निर्धारण गरी ल्याइएको उनले बताए। प्रदेशको गरिबी घटाउन बजेटले ध्यान दिइएको उनले बताए।
Advertisement 1
बजेट भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएको छ। केही पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम पनि समावेश गरिएका छन्। विगतदेखि नै सञ्चालनमा रहेको मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। ‘गरिबी निवारण र रोजगारी प्रदेश सरकारको जिम्मेवारी’ कार्यक्रमबाट १६ हजार बेरोजगारलाई आंशिक रोजगारी प्रदान गर्ने लक्ष्य छ।
चालु आवको तुलनामा कृषि मन्त्रालयलाई कम बजेट विनियोजना भएको छ। भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ। उद्यमशीलतासम्बन्धी कार्यक्रम विगतभन्दा केही सुधार गरेर भएका छन् भने दलित आयआर्जन कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन भएको छ।
बजेटमा निजी क्षेत्रसँगको सहकार्यमा वीरेन्द्रनगरका उत्तरी क्षेत्रलाई ‘हिलस्टेशन’का रूपमा विकास गरी ‘हाइकिङ’ क्षेत्रका रूपमा विकास गरिने नयाँ योजना समावेश गरिएको छ। रारा, काँक्रेविहार, बुलबुले उद्यान र स्यापुताललगायत पर्यटकीयस्थलको गुरुयोजना कार्यान्वयन गर्न १४ करोड रुपैयाँ विनियोजन गरिएको छ। कर्णालीलाई जडीबुटीको केन्द्रका रूपमा विकास गर्न केही रकम छुट्याइएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको छ।
Advertisement 2
अन्तर प्रदेश सडक निर्माण गर्न ३९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। अहिलेसम्म स्थानीय तहको केन्द्रसम्म सडक नपुगेका पालिकाका केन्द्रमा सडक सञ्जाल जोडिने महात्वाकांक्षी योजना बजेटमा समेटिएका छन्। सडक र पुल निर्माण गर्न ६८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। बजेटमा डोल्पाको रिग्मो बस्ती विकासका लागि ८६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो कार्यक्रम विगतदेखिकै निरन्तरता हो। विपन्नका घर निर्माणलाई निरन्तरता दिइने बताइएको छ भने जनता आवास कार्यक्रमलाई पनि समावेश गरिएको छ। सुरक्षित बस्ती निर्माणकोलाई पनि यथावत् राखिएको छ।