राष्ट्रिय वाणिज्य बैंकले मुद्रण विभागका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा दिने

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले मुद्रण विभागका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा दिने भएको छ। त्यसका लागि बैंक र विभागबीच सम्झौता गरिएको छ। सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका कामुप्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका छन्।
Advertisement 1
सम्झौताअनुसार विभागमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैयाँसम्म ऋण दिइने बैंकले जानकारी दिएको छ। बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा दिइने बताएको छ। हाल बैंकको आधार दर ७.३५ प्रतिशत छ। सम्झौताअनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ। यसबाट बैंक र कर्मचारी लाभान्वित हुने विश्वास बैंकले गरेको छ।
Advertisement 2
सम्झौता कार्यक्रममा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्यराज पाठक, बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझीलगायत कर्मचारीहरुको उपस्थिति थियो।