युनिलिभर नेपालद्वारा बाढी प्रभावितका लागि ६ करोड बराबरको सहयोग

काठमाडौं। युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पु¥याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको छ। नेपालका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले नगद सहयोगसँगै स्वास्थ्य तथा सरसफाइका अत्यावश्यक सामग्रीसमेत उपलब्ध गराएको हो।
Advertisement 1
कम्पनीका अनुसार बाढी प्रभावित समुदायका लागि थप करिब २६ टन स्वास्थ्य तथा सरसफाइ सामग्री उपलब्ध गराइएको छ। उक्त सामग्रीको मूल्य करिब १ करोड रुपैयाँ रहेको छ। बाढीपछि प्रदूषण तथा विभिन्न किसिमका संक्रमणको जोखिम बढ्न सक्ने भएकाले प्रभावित परिवारको व्यक्तिगत तथा वातावरणीय सरसफाइलाई ध्यानमा राख्दै कम्पनीले लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायतका स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराएको जनाएको छ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्का समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। उनले नेपालले कठिन परिस्थितिमा देखाउँदै आएको धैर्य र सहनशीलताको प्रशंसा गर्दै जारी राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पु¥याउने उद्देश्यले कम्पनीले सहयोग गरेको बताए।
Advertisement 2
बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने स्वास्थ्य र सरसफाइका सामग्री उपलब्ध गराउँदा विपद्पछिको जोखिम न्यूनीकरणमा समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ। युनिलिभर नेपालले स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणका क्षेत्रमा समुदाय केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। पछिल्लो सहयोग पनि समुदायको कल्याण र विपद्का समयमा सामूहिक प्रयासलाई सघाउने आफ्नो निरन्तर प्रतिबद्धताको हिस्सा भएको कम्पनीले जनाएको छ। कम्पनीले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थाअनुसार राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।








