२३ फागुनमा खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण

फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए ।

Advertisement 1

चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए । निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ,’ निर्देशक भण्डारीले भने, ‘खोप लगाउनासाथ इम्युनिटी बन्दैन । कम्तिमा १ महिना लाग्छ । त्यसैले सचेत हौं ।’ सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १,२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो । अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।

खोपले पूर्णरूपमा काम गर्न समय लाग्ने र कतिपयमा यसले कामै नगर्न पनि सक्ने भएकाले जनस्वास्थ्यका मापदण्डमा बेवास्ता नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् । चिकित्सकहरुका अनुसार, खोप लगाएका सबैमा पूर्णरुपमा काम गर्छ भन्ने हुँदैन । पहिलो चरणको खोप लगाएको १५ दिनपछि मात्र शरीरमा एन्टिबडी बन्न थाल्ने र दोस्रो डोज लगाएको २ हप्तापछि त्यसले पूर्णता पाउँछ । त्यसमाथि कोरोनाविरुद्ध अहिले प्रयोगमा आएका सबैजसो खोप ६२ देखि ९० प्रतिशत मात्र प्रभावकारी मानिएका छन् । तर त्यस्ता व्यक्तिलाई संक्रमण देखिए पनि अस्पताल भर्ना गर्नुपर्ने सम्भावना भने निकै कम हुन्छ।

Advertisement 2

छिटफुट नै भए पनि खोप लगाएकाहरुमा पुनः संक्रमण देखिनुले उनीहरुबाट अरुलाई संक्रमण सर्ने जोखिम कायमै हुन्छ । त्यसमाथि अहिले लगाइरहेको खोपले नयाँ प्रकारको भाइरसमा काम गर्न नसक्ने पनि भएकाले खोप लगाएकै भरमा जनस्वास्थ्यका मापदण्डलाई पूरा बेवास्ता नगर्न चिकित्सकहरुले सुझाएका छन् ।

प्रकाशित :२०७७ चैत्र १०, मंगलवार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry