भोटेकोशी बाढीपछि भन्सार विभागको अपिल: सम्पर्कविहीन कर्मचारीको विवरण दिन आग्रह

काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा सम्पर्कविहीन भएका भन्सार कर्मचारी, व्यवसायी तथा मालवाहक सवारीसाधनका चालक–सहचालकको विवरण उपलब्ध गराउन भन्सार विभागले आग्रह गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको भन्दै विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै उद्धार, सूचना आदान–प्रदान तथा व्यापार सहजीकरणका लागि सम्पर्कमा आउन सम्बन्धित सबैलाई अनुरोध गरेको हो।

Advertisement 1

सम्पर्कविहीन कर्मचारीको विवरण दिन आग्रह

विभागले रसुवालगायत प्रभावित क्षेत्रमा कार्यरत सम्पर्कविहीन वा घाइते भएका भन्सार प्रशासनका कर्मचारी तथा उनीहरूका परिवारलाई आफ्नो अवस्थाबारे जानकारी गराउन आग्रह गरेको छ। उद्धार तथा आवश्यक सहयोगका लागि शाखा अधिकृत कुमार घिमिरे, भारतमणि सापकोटा र शिवराज बोहरालाई सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

Advertisement 2

व्यवसायी तथा चालकलाई पनि सम्पर्कमा आउन आग्रह

भन्सार नाकातर्फ जाने क्रममा बाटोमै सम्पर्कविहीन भएका व्यवसायी, मालवाहक सवारीसाधनका चालक तथा सहचालक वा उनीहरूका परिवारलाई समेत आफ्नो अवस्थाबारे जानकारी गराउन विभागले अनुरोध गरेको छ। यसका लागि शाखा अधिकृत रमेश सुकुम्बासी र युजिन चापागाईंलाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

Advertisement 3

रसुवागढी हुँदै आएका मालवाहकलाई कोरला नाका प्रयोग गर्न सुझाव

बाढीका कारण रसुवागढी, तातोपानीलगायतका नाकाबाट नेपालतर्फ आउन लागेका मालवाहक सवारीसाधन, चालक तथा व्यवसायीलाई तत्कालका लागि मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न विभागले अनुरोध गरेको छ। भन्सार विभागले हाल उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो।

कोरला नाका प्रयोग, वैकल्पिक मार्ग, भन्सार प्रक्रिया तथा व्यापार सहजीकरणसम्बन्धी आवश्यक जानकारीका लागि शाखा अधिकृत नवराज चौलागाईं र प्रतिष्ठा कोइरालालाई सम्पर्क गर्न सकिने विभागले जनाएको छ। विभागले विपद्को यस कठिन अवस्थामा भन्सार प्रशासन प्रभावित कर्मचारी, व्यवसायी, चालक तथा सहचालकको उद्धार र व्यापार सहजीकरणमा आवश्यक समन्वय गर्न तयार रहेको जनाएको छ। यससँगै रसुवातर्फको आवागमन प्रभावित भएपछि सीमामा रोकिएका मालवाहक सवारी तथा व्यवसायीलाई वैकल्पिक नाका प्रयोग गरेर व्यापारिक गतिविधि सहज बनाउने प्रयाससमेत अघि बढाइएको छ।

प्रकाशित :२०८३ भाद्र ११, बिहीबार ११:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry