कर्मचारीका बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउने निर्णय

तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन्। गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो।

Advertisement 1

गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिन सो निर्णय गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिइन्। ‘नयाँ शैक्षिकसत्रदेखि यो निर्णय लागू हुनेछ,’ उनले भनिन्। गाउँपालिकाका जनप्रतिनिधिले विसं २०७९ को शैक्षिकसत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान सुरु गरेका थिए। जनप्रतिनिधिको अभियानलाई साथ दिन प्रधानाध्यापक तथा शिक्षकहरूले उक्त निर्णय गरेको उनले बताइन्।

गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकहरूले सहयोग गरेर आफूलाई थप हौसला मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। ‘जनप्रतिनिधिले अघिल्लो शैक्षिकसत्रमै छोराछोरी सामुदायिक विद्यालयमा पढाइसकेका छन्। शिक्षकहरूले पनि यो कदमलाई साथ दिनुभएको छ,’ उनले भने, ‘यो ऐतिहासिक काम हो।’ गाउँपालिकाले विसं २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणको अभियानका रूपमा अगाडि बढाएको छ।

Advertisement 2

सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ। आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन्। ती विद्यालयमा करिब ४ सय विद्यार्थी अध्ययनरत छन्। गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छूट दिने नीतिसमेत ल्याएको छ। त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि उनले बताए।

प्रकाशित :२०८० फाल्गुन २९, मंगलवार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry