खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता भएको छानविन समितिको निष्कर्ष

उच्चस्तरीय छानबिन एवम् अनुगमन समितिले नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भ्रष्टाचार,बेथिति,अनियमितता र मनोमानी निर्णय भइरहेको निष्कर्ष निकालेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित केन्द्रको अनियमितताबारे अध्ययन गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो निष्कर्ष दिएको हो ।

Advertisement 1

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा गत माघ ८ गते गठित सात सदस्यीय छानबिन समितिले एक महिना अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो । सहायक प्रजिअ एवं समितिका संयोजक ढुङ्गानाले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई बुधबार प्रतिवेदन बुझाए ।

प्रजिअ बस्नेतले समितिको प्रतिवेदन बुझेको र अध्ययन गरेर समितिले दिएका सुझावलाई तत्काल कार्यान्वयनमा ल्याउने बताए । समितिका संयोजक ढुङ्गानाले अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता, अपारदर्शी आर्थिक व्यवहार भइरहेको निष्कर्षसहित प्रतिवेदन बुझाइएको बताए । उनले सङ्घको व्यापारिक भवनका ७६ वटा सटर भाडामा दिँदा प्रक्रिया पूरा नभएको जानकारी दिए ।

Advertisement 2

“सङ्घको कार्यसमितिले निर्णय नगरी मनोमानी ढङ्गले सटरको भाडा थपेको देखियो। आर्थिक ऐन अनुसार टेन्डरको प्रक्रियामा जानुपर्ने हुन्छ। त्यसलाई पूर्ण पालना गर्नु पर्छ भन्ने सुझाव प्रतिवेदनमार्फत दिएका छौँ,’ उनले भने ।

उनले सङ्घमा कर्मचारीको नियुक्ति र बर्खास्तीमा पनि मनोमानी भएको पुष्टि भएको जानकारी दिए । उनले बौद्धिक अपाङ्गता भएका व्यक्ति र अन्य जटिल शारीरिक समस्या र अपाङ्गता भएका व्यक्तिलाई एकै ठाउँमा राखिएको देखिएकाले अलग अलग राख्नु पर्छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको बताए । केन्द्रका नाममा विभिन्न ठाउँमा रहेको ६८ रोपनी जग्गा व्यवस्थित गर्न सुझाव दिइएको छ ।

Advertisement 3

संयोजक ढुङ्गानाले भने, ‘सङ्घको जग्गामा वरिपरिका घरलाई बाटो थुन्ने नाममा सरकारी जग्गामा निजी र कुनै व्यक्तिले मनोमानी गरेको पनि भेटियो। त्यसमा के कारणले त्यसो गरिएको छ भन्ने बुझेर कारबाहीमा जानु पर्छ भन्ने समितिको निष्कर्ष छ।’ उनकाअनुसार सम्झौता अवधि सकिएको व्यक्तिलाई क्यान्टिन चलाउन दिइएको देखिएको र त्यसका सञ्चालक प्रशासन र कार्यसमितिमै हाबी भएका कारण मनोमानी रूपमा सम्झौता थपिएको देखिएको छ ।

उनले अबदेखि सङ्घको कार्यसमितिमा ६६ प्रतिशत अपाङ्गता भएकै व्यक्ति सहभागी गराउनुपर्ने, शतप्रतिशत पदाधिकारी अपाङ्गता भएकै व्यक्ति हुनुपर्ने अनिवार्य गर्नुपर्ने सुझाव दिएको बताए । उनले अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न व्यक्तिबाट ५० औँ लाख रुपियाँ लिइएको र त्यो हिसाब पारदर्शी नदेखिएको निष्कर्षसहित स्थायी कोषको रकम सोही कोषमै राख्ने र अरू चालु खातामा राखेर खर्च गर्न नमिल्ने व्यवस्था गर्न सुझाव दिइएको बताए ।

प्रकाशित :२०८० फाल्गुन १७, बिहीबार ०९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry