लोकसेवामा कसरी उत्र्तीण हुने ? निजामती सेवामा १७ बर्ष अनुभव बटुलेका उपसचिव अर्जुन भण्डारीको टिप्स
दुर्गम जिल्ला रुकुमको मुसिकोट न.पा. १ मा जन्मिएका हुन्, उपसचिव अर्जुन भण्डारी । जो प्रायश पहिलो नम्बर ओगट्न सफल भइरहे । २०७४ मा लोक सेवा आयोगबाट उपसचिवमा पहिलो नम्बरमा नाम निकाल्न सफल उनी १७ वर्षअघि अर्थात २०६० साल भाद्र ११ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका हुन् । गृहमन्त्रालयको लागु औषध नियन्त्रण शाखामा कार्यरत उनी खरिदार, अधिकृत र उप–सचिव पदमा पहिलो नम्बरमै नाम निकाल्न सफल भए । निजामती सेवामा १७ वर्षको लामो अनुभव बटुलिसकेका उनै उप–सचिव भण्डारीबाट निजामती क्षेत्रमा प्रवेश गर्नेहरुका लागि नयाँ टिप्सहरु यहाँ प्रस्तुत गरिएको छ :-
लोक सेवा तयारी कसरी गर्ने ?
सरकारी सेवामा रहँदा प्रत्यक्ष रूपमा देश र जनताको सेवा गर्न पाइने उद्देश्यले म यो सेवामा प्रवेश गरेको हुँ । रुकुमबाट ११ भदौँ २०६० मा मैले निजामती सेवामा खरिदारका रुपमा जागिरमा प्रवेश गरेँ । गृहजिल्लामा केहीँ वर्ष सेवा गरेपछि शाखा अधिकृतमा २९ कात्तिक २०६७ मा बढुवा भएँ । यस्तै, १० साउन २०७४ मा उपसचिवमा नाम निकाल्न सफल भएँ । त्यतिबेला म लोक सेवा परीक्षाको तयारी गर्दा दैनिकजसो कम्तिमा दुईदेखि चार घन्टा अध्ययन गर्ने गर्दथेँ । खोजपूर्ण अध्ययन सामग्रीहरु संकलन गर्थेँ । जस्ले मलाई लक्ष्यमा पुग्न निकै मद्धत पुर्यायो । यसकारण अहिलेसम्मको अनुभवले निजामती सेवामा प्रवेश गर्ने जो कोहीले पहिला सार्वजनिक सेवाप्रतिको स्पष्ट अवधारणा बनाउनुपर्छ । सार्वजनिक सेवालाई आत्मसात् गर्नुपर्छ । अनि मात्रै परीक्षाको तयारी थाल्नुपर्छ ।
निजामती सेवामा प्रवेश गरेपछि क्रमिक रुपमा माथिल्लो तहका लागि बढी अध्ययन र तयारी गर्नुपर्छ नै । मैले पनि निकै मेहनत गरेँ । अहिले पनि सम्झन छ– उप–सचिवको तयारी गर्दा मैले धेरै नै मेहनत गरेको थिएँ । निरन्तर मेहनतले उपसचिवको आन्तरिक प्रतिस्पर्धामा पनि पहिलो नम्बरमा नाम निकाल्न सफल भएँ । मैले श्रम मन्त्रालय, वाणिज्य तथा आपुर्र्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, रसुवा जिल्लामा जिल्लाको प्रशासन अधिकारी हुँदै हाल लागू औषध नियन्त्रण शाखाको जिम्मेवारी बहन गरिरहेको छु ।
लोक सेवा तयारी गर्नेहरुका लागि ‘टिप्स’
पाठ्यक्रम अनुरूप र त्यससँग सम्बन्धित अध्ययन सामग्रीको खोजबिन पर्याप्त मात्रामा गर्नुपर्छ । जस्तैः राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदनलगायत विभिन्न सामग्रीहरु संकलन गरी अध्ययन गर्नुपर्दछ । त्यस्तै, रेडियो, पत्रपत्रिका, टि.भी.मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यमहरुबाट समाचारहरु सुन्ने वा पढ्ने गर्नुपर्छ । पढेका, सुनेका वा देखका महत्वपूर्ण घटनाहरुलाई सरसर्ती टिपोट गर्ने बानी बसाल्नुपर्छ ।
यसैगरी अर्काे महत्वपूर्ण कुरा सम्बन्धित विषयका विद्धानहरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने गर्नुपर्छ । परीक्षा हुनुभन्दा कम्तिमा ६ महिना अघिदेखि नै यो कार्यलाई अझ नियमित तयारी गर्ने गर्नुपर्छ । अहिले त इन्टरनेटमा पाठ्यक्रमअनुसारको विषयको अध्ययन गर्न सकिने भएकाले सकेसम्म पाठ्यक्रमअनुसारको अलग–अलग विषयको नोटकापी बनाएर संग्रह गर्ने बानी गर्नुपर्छ । साथै, अध्ययका क्रममा मनोबल घटाउने गर्नु हुन्न । सकारात्मक सोचका बिहान बेलुकी कम्तिमा ४ देखि ६ घन्टा अध्ययन गर्ने गर्नु उपयुक्त हुन्छ ।
कस्ता पुस्तकहरु छनोट गर्ने ?
अहिले बजारमा धेरै पुस्तकहरु छन् । बजारमा धेरै थरी लेखकका पुस्तक प्रकाशित भएको पाइन्छ । तर, ती सबै पुस्तकहरु उत्तिकै उत्कृष्ट हुँदैनन् । बजारको काम नै पुस्तक बिक्री वितरण गर्नु हो भने पाठकको काम सही पुस्तक छनौट गर्नु हो । यद्यपि, सेवा प्रवेश गर्न चाहने बौद्धिक लेखकका विषयगत सन्दर्भका पुस्तकमा बढी ध्यान दिन जरुरी छ । विषयगत विज्ञले लेखेका पुस्तकहरुमा विषयको गहिराइ, समालोचनालगायत विविध पाटोबारे राम्रोसँग सरल रुपमा प्रस्तुत गरिएको हुन्छ ।
कसरी गर्ने लिखित परीक्षाको तयारी ?
लिखित परीक्षाको तयारी पढाइको तयारीसँगै सुरु हुनुपर्दछ । पढ्दा पाठ्यक्रमका सवै विषयको न्यूनतम जानकारी राख्ने, एक शिर्षक र अन्य शिर्षकबीचको अन्तरसम्बन्ध खोज्ने गर्नुपर्दछ । पढाइ–लेखाइ दुवैले आवश्यक संरचनाको अतिरिक्त नवीनता, सिर्जनशीलता र पूर्णता दिलाउँदछ । यसकारण पढाइ ‘इनपुट’ हो, ‘प्रोसेस’ पढाइ–लेखाई दुवैलाई सामन्जस्य गर्ने र लेखाइ ‘आउटपुट’ हो । यसकारण ‘इनपुट’ जति गरिन्छ त्यत्ति नै धेरै ‘आउटपुट’ निस्कन्छ । यी तीन प्रक्रियाको समायोजन सही ढंगले गर्नुपर्छ ।
साथै, लोक सेवामा परीक्षाको लेखाइ राम्रो भएर मात्र पुग्दैन अन्य प्रतिस्पर्धीभन्दा विचारोत्तेजक, सिर्जनशीलता र वस्तुपरक आफुमा हुन आवश्यक हुन्छ । जसले परीक्षामा सफलता हासिल गर्नमा सहयोग पुर्याउँदछ ।
लिखित परीक्षाको समय व्यवस्थापन कसरी गर्ने ?
लिखित परीक्षाको समय व्यवस्थापन कसरी गर्ने ? भन्ने अर्को महत्वपुर्ण प्रश्न हो । विद्यार्थीको अपेक्षाअनुसारको नम्बर ल्याउन नसक्नुको कारण पनि समय व्यवस्थापन नहुनाले नै हो । परीक्षामा सबै प्रश्नको उत्तर त आउँछ तर, कोहीँ अनुत्तीर्ण हुन्छन त कसैको कम अंक प्राप्त हुन्छ । यसका लागि प्रश्नको अंकभार अनुसार समय विभाजन गर्ने, बढी अंकभार भएका प्रश्न एउटा निश्चित अवधिभित्र लेखिसक्ने पूर्व योजना बनाउनुपर्छ । यस्तै, आफूले अलि धेरै जानेका विषयलाई निर्धारित समयभन्दा बढी नलम्ब्याउने, कम जानेका विषयलाई छोड्ने वा कम लेख्ने नगरी एउटा निश्चित परिमाणमा लेख्ने बानी बसाल्नुपर्छ ।
परीक्षा हलमा प्रश्नपत्र पाइसकेपछि प्रश्नको आधारमा पूर्वनिर्धारित समयअनुरुप प्रश्नको उत्तर लेख्ने कार्य सुरु गर्नु पर्दछ । प्रश्न जति अंकभारको छ र सो अंकभारले कूल प्रश्नको अनुपातमा कति समय माग गर्दछ सोही परिधिको सामान्य सीमारेखा कायम हुने गरि उत्तरका आकार व्यवस्थापन गर्नुपर्छ । यस्तै, जानेका कुराको प्रस्तुती आकर्षक बनाउनुको अतिरिक्त समय सीमाको पालना पनि गर्नुपर्छ । लेखनको गति कम हुने व्यक्तिले भने समय व्यवस्थापनमा बढी नै ध्यान दिन आवश्यक छ ।
अन्तर्वार्ताको तयारी कसरी गर्ने ?
लिखित परीक्षामा पास गरेपछिको अर्को महतवपुर्ण कुरा हो अन्तर्वाता । अन्तर्वार्तालाई अन्तिम परीक्षा पनि भन्ने गरिन्छ । अन्तर्वार्तामा धेरै बोल्नु कहिलेकाहीँ घातक सावित हुन सक्छ । अन्तर्वार्तामा सोधिएको प्रश्न आएन भन्दैमा अन्तर्वार्ताकारको नजरमा तपाईँ कमजोर सावित हुनुहुन्न । प्रश्न नआएर नर्भस हुनुभयो वा आवेगमा आउनुभया भने मात्र कमजोर सावित हुने सम्भावना रहन्छ ।
त्यस्तै अन्तर्वाताको क्रममा पोशाकमा पनि उत्तिकै ध्यान दिनुपर्छ, जस्ले तपाई अनि अन्तर्वार्ताकारलाई सहज बनाओस् । भड्किलो पोसाक तथा हदभन्दा बढी शृंगारको प्रयोग, भद्धा शब्द तथा थेगोको प्रयोग, उत्तर नजानेमा मुखाकृति बिगार्ने, जानेमा एक्साइटेड हुने, असंयमित भई ठूलो स्वर प्रयोग गर्ने, विभिन्न प्रभाव तथा व्यक्तिगत सम्बन्ध बनाउन खोज्ने, नकारात्मक कुरामात्र गर्ने, प्रसंग निस्केमा कसैको कुरा काट्ने, विवाद गर्ने, उचित शिष्टाचार नगर्ने यी कुराहरूबाट अन्तर्वार्ताको समयमा जोगिनुपर्ने हुन्छ ।
तर, अन्तर्वार्ता लिने व्यक्ति पनि हामीजस्तै सामान्य व्यक्ति हुन् । भोलिको दिनमा आफू सो स्थानमा पुग्नुभयो र उपयुक्त उम्मेदवार छान्ने जिम्मेवारी तपाईँको हातमा आइपर्याे भने के के गर्छु जस्तो लाग्छ, सोही कुरालाई ख्याल गर्दै सम्भावित अन्तर्वार्ता परिवेशलाई सम्झँदै अन्तर्वार्ताको तयारी गर्नुपर्ने हुन्छ ।
Advertisement 1
प्रस्तुति :- महेश्वर गजुरेल