स्थानीय तहको लागि खरिद, बजेट, टिप्पणी लेखन र आन्तरिक नियन्त्रण प्रणालीको व्यवहारिक तालिमको आवश्यकता छ
“समावेशी चरित्रको गाँउ र नगरपालिकाको संरचना , स्थानीय व्यवस्थापिका र कार्यपालिकको व्यवस्था र अन्य संरचनाका कारणले स्थानीय तह संघीय शासन प्रणालीको मूल आधार स्तम्भको रुपमा रहेको छ। जनताको निकटतम दूरीमा रहेको कारणले स्थानीय समस्याको वास्तविक अनुभूति गर्न र ती समस्यालाई उपयुक्त तवरले सम्बोधन गर्ने उत्तरदायित्व वहन गर्न स्थानीय तह सक्षम पनि छ।यसका लागि स्थानीय आवाजको शीघ्र सम्बोधन गर्न व्यापक र अर्थपूर्ण सहभागितालाई जोड दिनु आवश्यक छ। स्थानीय लोकतन्त्रको सफल अभ्यास र जनताको निकटतम दूरीमा रहेको स्थानीय सेवा प्रवाहको प्रभावकारिताले सुशासनको अधारस्तम्भ थप मजबुत हुदै जान सक्ने देखिन्छ। जति स्थानीय तहको सवलीकरण हुन्छ त्यति नै संघीय शासन प्रणालीको सुदृढीकरण हुदै जान्छ। यसर्थ स्थानीय सेवा प्रवाहका आयाम, राजस्व परिचालनका आयाम, बजेट निर्माण तथा मध्यमकालीन खर्च संरचनाको निर्माण,सार्वजनिक खर्च र सार्वजनिक खरिदका आयाम, खरिद योजना निर्माण,निर्णय प्रक्रियाका क्षेत्र, बेरुजु कम गर्ने उपाय, स्थानीय तहको काम कारवाही संग परेका उजुरीहरुको फर्छयौट गर्ने उपायका वारेमा स्थानीय तहको क्षमता बृध्दि हुनु आवश्यक हुन्छ।यसको लागि संघका विभिन्न मन्त्रालयहरुमा रहेको विषयगत समिति प्रभावकारी र क्रियाशील बन्नु आवश्यक छ। विभिन्न प्रशिक्षण प्रतिष्ठानहरु यस अनुरुपको स्थानीय तहको क्षमता बृध्दि गर्ने कार्यमा संलग्न रहनु आवश्यक छ। स्थानीय तहको सवलीकरणनै संघीय शासन प्रणालीको मजवूत आधारशीला हो यसवाट नै सघीय लोकतन्त्रको सुदृढीकरण हुन सक्दछ” उक्त कुरा प्रशासनविद डा. दामोदर रेग्मीले विराटनगरमा आयोजित स्थानीय तहका कर्मचारीहरुको क्षमता बृध्दि कार्यक्रममा बताएका हुन् ।
उक्त क्षमता बृध्दि कार्यक्रममा डा. रेग्मीले आन्तरिक नियन्त्रण प्रणालीको सैध्दान्तिक पक्षको जानकारु गराउनुको साथै सहभागीहरुलाई आ आफ्नो कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली बनाउने अभ्यास गराएका थिए । सहभागीहरुले यसको अतिरिक्त टिप्पणी लेखनमा ध्यान दिनु पर्ने विषयहरु र सो को अभ्यास, सार्वजनिक खरिद प्रणाला व्यवहारिक अभ्यास, अन्तरसरकारी वित्त हस्तान्तरणका व्यवहारिक अभ्यास, व्यवस्थापन परीक्षणका व्यवहारिक अभ्यास, उजुरी र वेरुजु फर्छयौटका व्यवहारिक अभ्यास र मध्यमकालीन खर्च संरचनाका व्यवहारिक अभ्यास र अन्तरक्रिया गरेका थिए । सहभागीहरुले यसपूर्व तालिम सैध्दान्तिक विषयहरुमा मात्र केन्द्रित हुने र स्थानीय तहको कार्य संग सम्बन्धित विषयमा कम प्रस्तुति हुने गरेकोमा यस पटक विषयका ज्ञाता पूर्वसचिवज्यूवाट यस प्रकारको व्यवहारिक ज्ञान र अभ्यास गराइएकोले सहभागीहरुको असल रुपमा क्षमता बृध्दि हुन गएको र यसवाट आफूहरुको कार्यसम्दान स्तर वढेको तथा काम गर्दा गुनासो र उजुरी नआउने गरि काम गर्न हौसला मिलेको वताए । स्थानीय तहको लागि खरिद, बजेट, टिप्पणी लेखन र आन्तरिक नियन्त्रण प्रणालीको व्यवहारिक तालिमको आवश्यकता छ यस कार्यक्रमव्दारा यो असल कार्यको शुरुवात भएको डा. दामोदर रेग्मीले बताए ।