कर्मचारीको ईमान्दारितामा संकट

ईमान्दार जो सुकै पनि हुनु पर्छ र भएको राम्रो हो। तर जनता संग नजिक रहेर काम गर्नेहरू झन् बढी ईमान्दार हुनु पर्छ। आजका समाचारहरू हेर्दै जादा एउटा समाचारले ध्यान खिच्यो, त्यो थियो राष्ट्रपतिबाट पुरस्कृत एकजना कर्मचारीलाई भ्रष्टाचार गरेको अभियोगमा ६ महिना कैद र थप जरिवानाको सजाय पाएको। यसरी पुरस्कार दिईने विभिन्न मापदण्डहरू मध्ये ईमान्दारिता पनि एउटा मापदण्ड हुनु पर्छ। फेरि पुरस्कृत कसलाई गर्ने, किन गर्ने भन्ने कुरा विभिन्न तहबाट छानविन भएर जाने विषय हो र पुरस्कृत भएको कर्मचारी देख्दा समस्त संगठनको छाती गर्वले फुलेको हुनु पर्ने हो तर प्रायः पुरस्कृत हुनेहरूबाट त्यस किसिमको सन्देश जाने गरेको छैन। अहिले सेवा निवृत्त भए पनि निजामती क्षेत्रका समाचारहरू प्रति यो पंक्तिकारको चासो रहने गर्छ। सन्दर्भ कर्मचारी पुरस्कृत गर्ने विषय कै हो।
Advertisement 1
हाम्रो अफिसको दर्ता चलानी फांटमा एकजना मुखीया स्तरका कर्मचारी थिए। उनले बाहिरबाट आएका चिठी पत्र खोलेर ती खाली खामलाई उल्ट्याएर पुनः प्रयोग गर्न मिल्ने बनाउथे। यसबाट खाममा खर्च हुने पैसा जोगिन्थ्यो। पंचायती कालको कुरा हो, तत्कालीन राजाको जन्म दिन पारेर कर्मचारी पुरस्कृत गर्ने चलन थियो र त्यसमा एउटा मापदण्ड थियो त्यो के भने निजले गरेको ठोस काम खुलाउनु पर्ने थियो, कार्यालयले त्यसै विषयलाई उल्लेख गरी सिफारिस गर्यो र निजले गोदवा( गोरखा दक्षिण वाहु पांचौ ) प्राप्त गर्न सफल भए। हुन त उक्त भ्रष्टाचारमा सजाय पाएको समाचार यति खेर प्रकाशित भए पनि निजलाई २०७९ मा पुरस्कृत गरिएको रहेछ तर पनि कर्मचारीलाई पुरस्कृत गर्ने तौर तरीकामा आज पर्यन्त कुनै सुधार आएको पाईदैन। कतिपय पुरस्कारहरूमा सिफारिस कर्ताले आफ्नै नाम राख्ने, कर्मचारी अमूक राजनीतिक पार्टीको शुभेच्छुक वा सदस्य हुने,चाकडी गर्ने जस्ता नकाम गरेर तक्मा थाप्नेको संख्या अधिक हुन्छ। हुदा हुदा तक्माको संख्यालाई कर्मचारीको संख्याले उछिने झै लाग्छ र त्यसै गरी तक्मा पाउनेको संख्या हेर्दा हरेक कर्मचारी कर्तब्य परायण, सेवाग्राही मैत्री, पारदर्शी छन् जस्तो लाग्छ तर त्यस्ता कर्मचारी कुनै पनि कार्यालयमा भेटिन गाह्रो हुन्छ। नेपाल मात्र यस्तो राष्ट्र हो जहां एक वर्षमा एक पटक भन्दा बढी पटक तक्मा पुरस्कार दिईन्छ। हरेक नयां वर्ष, संविधान दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, निजामती सेवा दिवस हरेकमा कर्मचारीलाई अभिप्रेरित गर्ने नाममा विभूषित गरिन्छ तर कर्मचारीको बानी ,बेहोरा र काम गर्ने शैली हेर्यो भने पुरस्कृत गर्नु पर्ने कोही देखिदैन।
Advertisement 2
हेर्दा हेर्दै यस्तो लाग्न थालेको छ कि प्रदान गरिएका तक्माले कर्मचारी वृत्तमा ईज्जत र मान प्रतिष्ठा प्रदर्शन गर्नुको सट्टा कता कता तक्माको नै लाजले शिर निहुरिनु पर्ने स्थिति देखिएको छ। यो कुरा सही हो कि कर्मचारीतन्त्रमा अभिप्रेरणाको महत्वपूर्ण भूमिका हुन्छ तर अभिप्रेरणाको रूपमा प्रदान गरिने जुनसुकै साधनले ती कर्मचारी अभिप्रेरित भएर उनीहरू आफ्नो काममा अरू थप लागेर सकारात्मक नतिजा दिन सकुन्। तर परिणामले यस्तो देखाएन। यस्तो अवस्था किन आयो भने हामी संग भएका सुवरीवेक्षकले सुपरीवेक्षण र अनुगमन गर्न सकेनन्। जब सुपरीवेक्षण प्रभावकारी हुदैन तव काम गर्ने र काम नगर्नेहरूको मूल्यांकन एउटै हुन्छ, यस्तो परिस्थितिमा काम नगर्नेहरू र छलछाम गर्नेहरू पुरस्कृत हुने सम्भावना हुन्छ। यहां हुने यस्तै हो र यसमा सुधार आउने छनक पनि देखिएको छैन। यहां कर्मचारीतन्त्रलाई मात्र हैन समस्त राजनीतिक प्रणालीमा नै दोष देखिन्छ। स्वच्छताको मुहानमा राजनीति हुनु पर्ने हो तर यो नै सबै भन्दा विकृत छ। त्यसैले समस्त प्रणाली र पर्यावरणमा कर्मचारी समेत अछूतो नरहनु कुनै नौलो विषय भएन।