अब सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो ।कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भइ उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र १२ घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ।

Advertisement 1

आगामी फागुन १ गतेदेखि साविक सञ्चयकर्तालाई मात्र उपलब्ध गराइएको सो सुविधा सञ्चयकर्ताका पति वा पत्नीलाई पनि प्रदान गरिने कोषले जनाएको छ। उक्त सुविधा सञ्चालका लागि अस्पतालको सूची तयार भइरहेको कोषले जनाएको छ।

‘कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने सन्दर्भमा २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेकोमा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरूको सूची तयार गरिएको हुँदा सो सूचीमा उल्लिखित अस्पतालहरूमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइने ब्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ, ‘साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति / पत्नीलाई समेत समावेश गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । पुनश्चः, नयाँ व्यवस्था बमोजिमको अस्पतालहरूको सूची कोषको वेबसाईट www.epf.org.np मा हेर्न सकिनेछ । कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ता वा पति / पत्नीको उपचार गराई कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्नहुन समेत अनुरोध गरिन्छ ।’

Advertisement 2

विसं २०१९ मा स्थापना भएको कोषले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिका निमित्त सञ्चय कोष व्यवस्थापनको काम गर्दै आएको छ। कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षाका सुविधा प्रदान गर्नुका साथै नयाँ सुविधा पनि थप गर्दै आइरहेको छ। कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता सूचीकृत छन्।

प्रकाशित :२०८० पुष २५, बुधबार १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry