सर्लाहीको बरहथवामा फेरि तनाव, प्रहरी कार्यालय र मेयरको घरमा ढुंगामुढा

सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयामा आइतबार पुनः तनाव भएको छ । आज बिहानैदेखि मृतकका आफन्त र स्थानीय सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । ड्रमले बनाएको ब्यारिकेटहरू प्रदर्शनकारीले हटाउन लाग्दा प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले प्रदर्शनकारी तितर/बितर भएका छन् ।

Advertisement 1

गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो । आफन्त र स्थानीय बासिन्दाले उनको शव उठाउन मानेका छैनन् । आइतबार बिहानैदेखि शव उठाउने विषयमा आन्दोलनरत तथा मृतक परिवार र जिल्ला प्रशासन कार्यालयबीच इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको थियो । छलफल भइरहेकै बेलामा बाहिरबाट प्रदर्शनकारीले ढुंगामुढा गरेका हुन् ।

शुक्रबार साँझ साहको मृत्युपछिको तनावपूर्ण अवस्थामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । शनिबार पनि दिनभर घरबाहिर हिँडडुलमा प्रतिबन्ध लगाएकामा आइतबार विहान ८ बजेदेखि खुला गरिएको थियो । बजार र यातायात बिहानैदेखि बन्द छ । पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले वार्ताका लागि बोलाएका छन् । अहिले वार्ता चलिरहेको छ ‌।

Advertisement 2

 

प्रकाशित :२०८० पुष २२, आईतवार १४:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry