क्रिकेटर लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् ।
Advertisement 1
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश शिशिराज ढकालको एकल इजलासले फैसला गरेको हो । ६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार साँझ यो फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले थप कैद बस्नुपर्ने भएको छ ।
अब अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ । उक्त सुनुवाइबाट सन्दीपले कैद सजाय भोग्नुपर्ने अवधि तय हुनेछ ।
Advertisement 2
गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’
यो मुद्दाका क्रममा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले १८ कात्तिक २०७९ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले २९ पुस २०७९ मा उनलाई सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेश सर्वोच्चले समेत सदर गरेपछि लामिछानेले थुनाबाहिर रहेर मुद्दा लडेका थिए ।
Advertisement 3
लामिछानेमाथि एक नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । ५ भदौमा लामिछानेले ती नाबालिकालाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगेको र राति काठमाडौंको एक होटलमा राखेर बलात्कार गरेको उजुरी परेको थियो । यो अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजायको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।