सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्रको विवरण संकलन बिहानैदेखि
काठमाडौं। राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलन को काम बिहान ७ बजेदेखि सुरु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म राष्ट्रिय परिचय पत्र वितरण तथा विवरण संकलन सुरु गर्न लागेको हो। कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण संकलन गरिनेछ।
Advertisement 1
परिचयपत्रको विवरण संकलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उनले बताए। जिल्लामा चालू आर्थिक वर्षको वैशाखसम्ममा २८ हजार ५ सय ६० जनाले राष्ट्रिय परिचयपत्र विवरण संकलन गराएका छन्। ‘अहिले दैनिक तीनदेखि चार सय सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन्। हाम्रो कोटा दिनमा एक सय ७० जनाको मात्र हो,’ उनले भने।
सोवाग्राहीको चाप बढेसँगै एक महिनाका लागि अभियानका रूपमा बिहानबाट नै सेवा दिन थालिएको उनले बताए। ‘ भीड कम नभए अभियानलाई निरन्तरता दिइनेछ,’ उनले भने। परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेसँगै फोटो खिच्ने ‘स्टेशन’ थप गरिएको उनले बताए। पहिला चारवटा मात्रै ‘स्टेशन’बाट सेवा दिइएकामा अहिले थप गरेर पाँचवटा बनाउँदा समेत चाप कम हुन नसकेको उनको भनाइ छ।
Advertisement 2
सरकारलले लागू गरेको सामाजिक सुरक्षा कोषसँगै वैदेशिक प्रयोजन र अन्य कामका लागि परिचयपत्र आवश्यक पर्ने भएपछि सेवाग्राहीको चाप बढेको उनले बताए। परिचयपत्र बनाउनेको भीडले गर्दा अन्य सेवामा समेत प्रभाव पारेको भन्दै उनले हरेक पालिकामा शिविरको रूपमा अभियान चलाउने सोचमा प्रशासन रहेको जानकारी दिए। यस विषयमा विभागसँग छलफल चलिरहेको जनाउँदै उनले शिविर चलाउन सकेमा भीड कम गर्न सहज हुने बताए।