जीवनको उत्तरार्ध,केही अनुभव

जीवनलाई ३ चरणमा विभाजन गर्न सकिन्छ। पहिलो चरण बाल्यकाल, दोश्रो यूवा काल र तेश्रो बृद्ध काल वा उत्तरार्द्ध काल। अभिभावक माथि भरपर्दै आफ्नो खुट्टामा उभिन कोशिश गर्ने उमेरलाई बाल्यकालमा गणना गर्ने हो भने आफ्नो खुट्टामा उभिने र आफूलाई सक्षम बनाउने उमेरलाई यूवा अबस्था भन्न सकिन्छ।
Advertisement 1
जब शरीर कमजोर हुदै जान्छ, अनि शारीरिक गतिविधि क्रमशः सांघुरिदै जान्छन् यस्तो अवस्थालाई जीवनको उत्तरार्ध वा बृद्ध अवस्था भनिन्छ। जीवनको उत्तरार्द्धमा हामीले सबभन्दा पहिले हाम्रो स्वास्थ्यलाई ध्यान दिनु पर्ने रहेछ। यसको निम्ति हाम्रो खानपिन र शारीरिक गतिविधिलाई ध्यान दिनै पर्ने रहेछ। यसको अर्थ मानसिक कसरतलाई महत्व दिनु हुदैन भन्ने हैन। शरीर र मनलाई संगै सधै स्वस्थ राख्न आवश्यक हुन्छ। हाम्रो स्वास्थ्य उत्तरार्द्धमा मात्र बनाएर बन्ने हैन, यसको जग बाल्य र यूवा अवस्थामै राख्नु पर्ने हुदो रहेछ। जीवनको उत्तरार्द्धमा त स्वस्थपनलाई कायम राख्ने मात्रै रहेछ। हाम्रो स्वास्थ्य विगत देखि को खानपान र अभ्यासमा आधारित हुने रहेछ।
यो अवस्थामा हामीमा हुने कमजोर प्रतिरक्षा प्रणालिका कारण अगाडि देखा पर्न नसकेका रोगहरूले टाउको उठाउने रहेछन्, तिनीहरूलाई नियन्त्रण गर्न कठिन हुने रहेछ । यो उमेरमा हाम्रो बोली अरूलाई झिजो लाग्ने, हाम्रा अशक्तता उपर अरूलाई घिन लाग्ने, जे दिए त्यो खान नमिल्ने हुदा रूची अनुसारको खाना नपाईने, कान नसुन्ने समस्या हुदा अरूले चर्को बोल्नु पर्ने जुन झिजो मानिने, दिसा, पिसाव तर्काउन गाह्रो हुने, मन लागेको खाना माग्न धक मान्नु पर्ने, आफ्नो भन्दा घर परिवारको खुसीमा हिड्नु पर्ने रहेछ।तै पनि जे छ त्यसलाई बेहोर्न पर्ने नै रहेछ तर यसको अशरलाई विभिन्न प्रयासबाट केही कम गर्न भने सकिदो रहेछ।
Advertisement 2
भौतिक शरीर क्रमशः कमजोर हुदै गर्दा हाम्रो खानपिनमा समेत क्रमशः परिवर्तनको जरूरी हुने रहेछ। हाम्रो पाचन प्रणाली, हाम्रा दांतहरू र हाम्रो निस्काशन प्रणाली समेत क्रमशः कमजोर हुने हुदा हामीले खाने कुराहरू यो प्रणाली संग मिल्ने किसिमका हुनु पर्ने रहेछ।
यो अवधिमा हामीलाई परिवारका सदस्यको सहयोग आवश्य पर्छ। हामीलाई हाम्रो स्वास्थ्य सुहाउदो खानपिन तयार गरिदिने, तातो चिसो पिउने पानीको ब्यबस्था गरिदिने, कपडा सफा गरिदिने, विछ्यौना मिलाई दिने, औषधी मूलोको ब्यबस्था गरीदिने, नियमित स्वास्थ्य परीक्षणको ब्यबस्था मिलाईदिने आदि कामका लागि परिवारका सदस्यको सहयोगको खांचो पर्छ। हाम्रा धर्मशास्त्रहरूले सन्तानको आवश्यकता बुढेशकालमा पर्छ भनेर सन्तानको लागि बिभिन्न भाकल,पूराणहरू लगाउछन्, धर्मकर्म गर्र्न प्रेरित गर्छन्।त्यसैगरी सन्तानले पितृको उद्धार गर्छन भन्ने मान्यता पनि रही आएको छ। अन्तिममा दागवत्ति दिनका लागि सन्तानको प्रतिक्षा गरिन्छ। त्यसैले हाम्रो पूर्वीय दर्शनले बृद्ध बाबुआमाको हेरचाह सन्तानले गर्नु पर्छ भन्ने मान्यता राख्छ। तर परिस्थिति सधै आफ्नो नियन्त्रणमा हुदैन। रोजगारीको सिलसिलामा टाढा टाढा जानु पर्ने अवस्थामा बृद्ध आमाबाबुको प्रत्यक्ष हेरचाह गर्ने अवस्था नरहन सक्छ । यस्तो अनुकूलता नहुनेहरुलाई अर्के मानिस राख्नु पर्ने हुन्छ।
Advertisement 3
संयुक्त परिवारको अवधारणा विस्तारै लोप हुन लागेको वर्तमान अवस्थामा राज्यले बृद्धाश्रमको ब्यबस्था गर्नु पर्ने स्थिति देखिदै आएको छ। संयुक्त परिवारको अवधारणामा बानी परेका हामीहरूलाई बृद्धाश्रमको कुरा त्यति मीठो नलाग्न सक्छ तर समयले ल्याएको वास्तविकता यही नै हो।कुरा १/२ वर्ष अगाडिको होला, पूर्व राष्ट्रपति विद्या भण्डारीकी आमा बृद्धाश्रममा बस्छिन रे भन्ने कुरा आउदा राष्ट्रपतिले पनि आफ्नी आमालाई बृद्धाश्रममा राखेकी भनेर कानेखुसी गरेको सुनियो। हाम्रो समाज यस्तो छ, अरूका आमाबाबु बृद्धाश्रममा बस्न हुने तर राष्ट्रपतिकी आमा हुदैमा बस्न नहुने हो र! पश्चिमा मुलुकहरूमा त यसको बिकल्प छैन तर हामी एशियनहरूमा यो विषयमा बानी पर्न बांकि छ।
त्यही पनि केही सरकारी क्षेत्र केही निजी क्षेत्रले यो विषयमा सीमित ठाऊमा थालनी गरेका छन् तर यो विषय त्यति ब्यबस्थित भै सकेको छैन। सरकारले राजनीतिक पर्चारवाजीलाई प्रश्रय पाउने गरी निर्वाह स्वरूप बृद्ध भत्ता दिने गरेको छ जुन त्यति उपयोगी भएको छैन। यसको सट्टा सरकारले हरेक प्रदेश सदरमुकाममा बृद्धाश्रम बनाएर बृद्धबृद्धाको हेरचाह गर्ने ब्यबस्था मिलाउनु पर्छ।हामीले हाम्रो पछिल्लो जीवन बढी सहज बनाउन केही गतिविधीहरूलाई नियमित बनाउनु पर्ने हुन्छ।
उदाहरणका लागि दिनमा २ पटक खाने, बिहान हल्का ब्रेकफास्ट गर्ने, औषधी खान पर्ने भए समयमा खाने,बेलुका घाम छदै सात्वीक डिनर गर्ने, बेलुका ८ बजे भन्दा अगाडि सुत्ने, बिहान ४ बजे तिर उठेर मनतातो पानी पिउने र शौच जाने, योगा वा अन्य सामान्य कसरत गर्ने, नुहाईधुवाई गर्ने, प्रातः भ्रमण गर्ने, ब्रेक फास्ट पछि समाचार हेर्ने, लेखापढी गर्ने, हप्तामा १/२ दिन पुस्तकालय जाने, साथीभाई ईष्टमित्र संग सम्पर्कमा रहने, तनाव कम लिने आदि गरेर जीवनलाई सहज बनाउन सकिन्छ।
नेपालको नियति भनौ हाम्रा सन्तानहरू यूवा अवस्थामा विदेशिनु परेको छ। दिनानुदिन संख्यात्मक रूपमा बढ्दै गएको यूवा शक्तिलाई देश भित्र अड्याउने नीति सरकार संग नभएका कारण हाम्रा यूवाहरू हरेक दिन ठूलो संख्यामा विदेशिएका छन्। सरकारले त रोजगारी सृजना गर्न सकेन नै त्यस माथि स्वरोजगार सृजना गर्ने वातावरण समेत बनाउन सकेन सरकारले। यस्तो परिस्थितिमा विदेशिनुको विकल्प रहेन हरेक घरका यूवालाई। यसरी यूवाहरू विदेशिन परेपछि नेपालका घरहरू स्वतःबृद्धाश्रममा परिणत भएका छन् तर सुविधा विनाका। कतिपय बृद्धबृद्धा विदेशिएका आफ्ना सन्तानहरूलाई सम्झदै देह त्याग गर्छन्, कति यूवाहरू आर्यघाटमा भेट्न आईपुग्छन्। विदेशिएका आफ्ना सन्तान आफू ज्यूदो हुदा त भेट्न पाएनन् नै आर्यघाटमा भेट्न पनि ४/५ दिन शव गृहमा लाईनमा बस्नु पर्ने स्थिति छ। यस्तो दर्दनाक स्थितिमा समेत सरकारले कुनै पहल गर्न सकेको पाईदैन।
हाम्रो देशमा पनि सरकारको नाममा समाजकल्याण मन्त्रालय छ, सरकार बनाउने बेला मन्त्री बन्न हतार गर्नेहरूलाई यो मन्त्रालयको संवेदनशीलता प्रति कुनै चासो छैन। यस्तो सम्वेदनशील निकायमा सहयोग गर्न अन्तर्राष्ट्रिय संस्थाहरू प्रतिस्पर्धामा छन् तर त्यति सहयोगको समन्वय गर्न समेत सरकारका मन्त्रीको कुनै चासो रहेको पाईदैन। भोली म पनि यस्तो अवस्थामा पुग्छु, मेरो लागि पनि यस्ता संस्था चाहिन्छन् भनेर यसको ब्यबस्थापनमा जुट्नु पर्ने ब्यक्ति गाडीमा झण्डा हल्लाएर हिड्दैमा फुर्शद छैन।
यस्तो परिस्थितिमा हाम्रो ब्यबस्थापन हामी आफैले गर्न सक्नु पर्छ। यसको निम्ति आफैलाई ब्यबस्थित गर्नुको बिकल्प छैन। आफ्नो रोग, पिंडा, असुविधाको साथी आफै हो, त्यसलाई कसरी कम पिंडादायी बनाउने हो आफ्नै हातमा छ। फेसबुकमा केही साथीहरूको पोष्ट हेर्दा लाग्छ कि त्यो सबैको पिंडा हो , साझा पिंडा हो, त्यो संग जुध्नुको बिकल्प छैन भन्ने नबुझे झै लाग्छ। त्यसैले ती पिंडाहरू संग सहजै समायोजन हुने बानी बढाउदै लगौं।