“प्रचण्डजीहरुले धर्ती छाडेर अकाश टेक्ने कुरा गर्नुभयो”
प्रचण्डले नेकपा (माओवादी)को तालाचाबी केपी ओलीलाई सुम्पिएपछि रुष्ट भएर हिँडेका थिए गोपाल किराँती । पार्टी एकीकरणपछि ठूलो पार्टी बन्यो, ५०औं वर्ष चल्छ भनेर भएभरका माओवादी उतै लागे । छिटपुट कार्यकर्ता बोकेर गोपाल किराँतीले नेकपा माओवादी केन्द्रको ऐतिहासिक विरासत थामे । यो पार्टी र चुनाव चिह्न दुई वर्षअघि उनकै बन्यो तर सर्वाेच्चले ऋषि कट्टेललाई न्याय दिने नाममा फेरि गोपाल किराँतीहरूमाथि अन्याय गरेको छ । एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि त्यो नाम र चुनाव चिह्नमा प्रचण्डहरूकै दावा रहने स्थिति छ । गोपालहरूचाहिँ पुनरवलोकनका लागि फेरि सर्वाेच्चको ढोका ढकढक्याउने सुरमा छन् । पार्टी कार्यालय भनेपछि घरधनीले नपत्याउने समस्या । त्यही कारण एउटा मासिक पत्रिकाको नाममा बोर्ड टाँसेर बालकुमारीमा पार्टी कार्यालय खडा गरिएको छ । सर्वहारा नभए जनताले देख्ने, सर्वहारा हुँदा व्यवस्थापनमा कठिनाइ हुने गोपालको अनुभव छ । पहिचानवादी आन्दोलनको भेलबाट उठेर आएका उनी एकपटक संस्कृति मन्त्री भए । प्रचण्डसँग बिच्केर नहिँडेको भए सम्भवतः १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्थे तर पदको लोभ नगरी ऐतिहासिक विरासत जोगाउन लागिपरे ।
० आइतबार एकाबिहानै प्रमुख निर्वाचन आयुक्तलाई भेट्न कान्तिपथ पुग्नुभयो । के भयो कुराकानी ?
– सर्वाेच्चले एमाले र नेकपा माओवादी पुनःस्थापित गरिदिएपछि निर्वाचन आयोगले हाम्रो पार्टी नेकपा माओवादीलाई पत्र लेखेको थियो । अदालतको फैसलाअनुसार पार्टी, नाम र चुनाव चिह्न परिवर्तन गरी पेश गर्ने भनियो । त्यही विषयमा सोधखोज गर्न कान्तिपथ पुगेका थियौं । हिजो प्रचण्डले छोड्नुभएको पार्टी हो यो । अदालतको फैसलापछि प्रचण्डहरू माओवादी केन्द्रमा रहने वा नरहने थाहा छैन । नेपालको संविधानले दलहरूलाई सर्वाेच्च स्थान दिएको छ । तर अदालतको फैसला कतै यो दलीय व्यवस्थामाथिकै चुनौती त होइन ? भनेर आयोग प्रमुखसँग बुझ्यौं । उहाँले सर्वाेच्चबाट भएको निर्णयलाई काट्न सकिँदैन भन्नुभयो । अब हामीसामु दुई विकल्प छन्– आयोगले लेखेको पत्रअनुसार नाम, चुनाव चिह्न नै परिवर्तन गरेर जाने वा अदालतमा रिट दायर गर्ने ।
० अब नेकपा माओवादी प्रचण्डलाई बुझाउन तयार हुनुहुन्छ वा ऋषि कट्टेलझैं न्यायालयतिर धाउनुहुन्छ ?
– संविधानको पालना त सबैले गर्नुपर्छ तर संविधान पालना गर्ने क्रममा अदालतले हामीमाथि ज्यादती ग¥यो । स्वेच्छाचारीपूर्वक हामीमाथि अन्याय भयो । अन्याय खप्ने वा नखप्ने भनेर छलफल गरिरहेका छौं । संवैधानिक कानुनी व्यवस्थाले पुनरवलोकन गर्ने ठाउँ दिएको छ ।
० प्रचण्डलगायत दलसँग एकाकार हुन सक्ने सम्भावना कत्तिको छ ?
– उहाँ फर्कनुभएको भए त सोच्ने ठाउँ रहन्थ्यो । प्रचण्डसँग छलफल गर्न सक्छौं । प्रचण्डले गलत गर्नुभयो भनेर पार्टी पुनर्गठन ग¥यौं । हामीले त्यतिबेलै भनेको कुरा अहिले लागू भयो ।
० तपाईंले प्रचण्ड उता मिल्न तयार हुँदै ओलीसँग सकिन्न भन्नुभएको थियो । के आधारमा गर्नुभएको थियो त्यस्तो विश्लेषण ?
– ओलीको जनयुद्धलाई हेर्न दृष्टिकोण, गर्ने व्यवहार, निरन्तर माओवादीको खेदो खन्ने प्रवृत्ति वा खेतीपाती । प्रचण्डले ओलीलाई रूपान्तरण गर्छु भन्नुभयो । हामीले भन्यौं, माओवाद नमाने पनि माओ विचारधारामा मनाउनुहोस् न त ओलीलाई । अहिले पनि हाम्रो स्पष्ट बुझाइ, माओको योगदानलाई छाडेर कम्युनिष्ट भइँदैन । प्रचण्डले लेख्नुभएको यही प्रतिवेदन हिजो हामीले पारित गर्दै आयौं । रूपान्तरणको सिद्धान्त छाडेर तपाईंले ओलीलाई कसरी रूपान्तरण गर्नुहुन्छ भनेर सोध्यौं । प्रचण्डले ओलीलाई रूपान्तरण गर्न सक्नुभएन । प्रचण्ड र माधव नेपाललाई टाउकोमा बञ्चरै हानिएको हो अदालतको फैसलाले । हामीलाई दुई÷चार भाटा लाग्यो । सहने वा नसहने भनेर छलफल चलेको छ । तर, प्रचण्डले कति चेत्नुभयो त ? कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताले धर्ती छोड्नु हुँदैन । प्रचण्डले धर्ती छाडेर आकाशतिर टेक्नुभयो । देशलाई दुःख दिनुभयो । आफैंले पनि धेरै दुःख पाउनुभयो । सरकारमा जाँदा वा निर्वाचनको गठबन्धनमा सामेल हुँदासम्म पनि हाम्रो आपत्ति थिएन । पार्टी नै विलय भएको थियो, जसलाई अदालतले तत्कालका लागि जोगाइदियो ।
० तीन वर्षअघि प्रचण्डले एमालेसँग पार्टी एकता गरिसकेपछि तपाईको उहाँसँग संवाद, सम्पर्कको स्थिति कस्तो रह्यो ?
– दुई पटक भेट्यौं । छुटेको २२ महिनापछि ०७६ असारमा विप्लव नेतृत्वका कुमार पौडेलको सर्लाहीमा बीभत्स हत्या भएपछि र सभामुख कृष्णबहादुर महरा प्रकरणमा । के हो कुरा भनेर सोध्दा आधा महराजीको कमजोरी, आधार षड्यन्त्र हो भन्नुभयो । त्यसपछि भेटिएको छैन ।
० प्रचण्डलाई हेर्ने तपाईंहरूको दृष्टिकोण के हो ?
– माओवाद छाडेर एमालेतिर विलयमा जानुभयो । आन्दोलनलाई धोखा दिनुभयो । पछिल्लो समय ओलीतन्त्रविरुद्ध जसरी लड्दै हुनुहुन्छ, त्यसलाई सकारात्मक रूपले हेर्नुपर्छ । अब कमरेड प्रचण्डलगायत माओवादी, पूर्व माओवादी, सम्पूर्ण कम्युनिष्टबीच महाध्रुवीकरण गर्ने पहल हुँदैछ । उहाँहरूसँग एकाकार हुने सम्भावना छ तर यो उहाँहरूमै निर्भर गर्छ । हिजोजस्तै धर्ती छाडेर, आकाश टेक्ने कुरा गर्नुभएन । देश, जनतालाई विश्वस्त पार्नुप¥यो । बानी, व्यहोरा, आचरण सुधार्नुप¥यो । ओलीसँग सम्झौताहीन देखिनेजस्तो संघर्ष त गर्नुभएको छ । भोलि फेरि जुट्ने हो कि त्यो बुझ्न बाँकी छ । सहमति भयो भने, साँच्चै समाजवाद भन्ने भयो भने पानी बार्ने कुरा हुँदैन ।
० नेपालको सन्दर्भमा कम्युनिष्ट आन्दोलन किन छिन्नभिन्न हुन्छ ? किन टिक्न दिइन्न ?
– अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै कारण छ । रुसी संशोधनवाद हाबी हुँदै गएपछि र चीनमा माओत्सेतुङको निधनपछि नै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन ह्रास वा प्रतिरक्षाको दिशातिर गएको छ । गोञ्जालोको नेतृत्वमा पेरुमा बल गरिँदै थियो । गिरफ्तारीपछि निस्तेज भइहाल्यो । नेपालमा प्रचण्डकै नेतृत्वमा जनयुद्ध शुरु गरियो र धेरै माथि पु¥याइएको पनि हो । संशोधनवादको अलावा वित्तीय पँुजीवादले झन् गाँजेको छ । नेपालको सन्दर्भचाहिँ विविधतामा आधारित मुलुक हुनु गलत होइन तर यसको सही व्यवस्थापनको संस्कार, मूल्य– मान्यता स्थापना हुन सकेन । हामीले हाम्रो विविधतालाई सही ढंगले व्यवस्थापन गर्न सकेनौं । पहाडिया अहंकारवाद र मधेसी मुस्लिमबीच अन्तरविरोध छ । दलित–गैरदलितबीच चर्काे अन्तरविरोध छ । सामाजिक, साँस्कृतिक रूपले टुक्रा पार्ने छँदै छ । साम्राज्यवाद त्यहीमाथि हाबी भयो ।
० हिजो १० वर्ष जनयुद्ध लड्दा माओवादी पार्टी हाइहाइ थियो । हिजोको त्यत्रो माओवादी पार्टी आज यो स्थितिमा किन पुग्यो ?
– यसको पहिलो जिम्मेवार वैद्य । संविधानसभाबाट संविधान निर्माणको कार्यनीति छाडेर हिँड्नुभयो । त्यतिबेला माओवादी, कांग्रेस, एमालेबीच अधिकतम प्रगतिशील संविधान निर्माणका लागि कांग्रेसबाट कृष्ण सिटौला, एमालेबाट ईश्वर पोखरेल भएर राष्ट्रिय सरकार बनाइएको हो । त्यसलाई भाँड्ने काम वैद्यले गर्नुभयो । दोस्रो जिम्मेवार बाबुराम, बांगोटिंगो संविधान बनेपछि उहाँ माओवाद छाडेर हिँडिहाल्नुभयो । तेस्रो र मुख्य जिम्मेवार प्रचण्ड । उहाँले माओवादीको पूरै दाहसंस्कार गर्नुभयो । यी तीन व्यक्ति नै माओवादी यो स्थितिमा पुग्नुको जिम्मेवार । गम्भीरतापूर्वक उहाँहरूले समीक्षा गर्नुहोस् भन्ने आग्रह गर्दछौं । त्यो समीक्षामा तयार हुनुभयो भने भोलि फेरि हामी एक ठाउँमा हुन सक्छौं ।
० हिजोका तपाईको सहकर्मी बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीहरूको भूमिकालाई कसरी लिइरहनुभएको छ ?
– प्रचण्डसँग मिलेरै उहाँहरू त्यहाँ पुग्नुभयो । अहिले हामी ओलीसँगै रहन्छौं भन्नुभयो । साह्रै अन्यथा होइन होला । उहाँहरूको जो कदम, अडान छ त्यसले देश जनतालाई सकारात्मक, नकारात्मक के असर पार्छ अहिले नै टिप्पणी गर्न जरुरी छैन ।
० विप्लव जसरी शान्तिप्रक्रियामा आउनुभयो । कसरी लिनुभएको छ ?
– आठौं महाधिवेशनलगत्तै हामीले विप्लवलाई वार्तामा आउन र सरकारलाई प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका हौं । आज उहाँ शान्तिप्रक्रियामा आउनुभएको छ । त्यसको स्वागत गर्छाैं तर विप्लव बालुवाटारको आड लिएर सार्वजनिक हुनुभयो यो राम्रो भएन । अहिले ओलीलाई जुन वर्गले त्यहाँ पु¥यायो त्यही वर्गले ओलीको उत्तराधिकारीको रूपमा विप्लवलाई तयार गर्न खोजेको त होइन भन्ने आशंका उठिरहेको छ । ओली सरकारले साह्रै खराब काम गरिरहेको छ । ओली सरकार देशद्रोही, फाँसिवादी र भ्रष्ट सरकार हो । ओली इण्डो अमेरिकन रणनीतिमा फस्नुभयो र देशलाई फसाउँदै हुनुहुन्छ । भनिन्छ, नेपालमा चलखेल नगरे भारत टुक्रिन्छ रे ! अमेरिका पनि हिजो भारतीय आँखाले हेथ्र्याे । हिजो ट्रम्प हुँदा अमेरिकाले सिधै ह्याण्डल गर्न खोज्यो । अहिलेको वाइडेनको उपराष्ट्रपति भारतीय भाञ्जी भएको हुँदा भारतको आँखाले हेर्छ कि सिधै हेर्छ, बुझ्न बाँकी छ । एमसिसी पास भयो भने त्यसले देशलाई गृहयुद्धतर्फ धकेल्छ । त्यो हुन नदिन माओवादी, पूर्वमाओवादीबीच ध्रुवीकरण हुन जरुरी छ । एमसिसी पारित भयो भने नेपाल अफगानिस्तान, सिरिया बन्छ । अन्ततः नेपालबाट इण्डोअमेरिकी सेना लखेट्छौं तर लाखौं नेपाली जनताको हत्या हुन्छ ।
० नेपालका कम्युनिष्टहरू अधिकांशमा सांस्कृतिक विचलन प्रमुख समस्या रहेको छ । कसरी हेर्नुहुन्छ ?
– कम्युनिष्ट हुन खोजेको तर नसकेको कारण । साँच्चै कम्युनिष्टमा त्यस्तो विचलन आउँदैन जस्तो पुष्पलाल श्रेष्ठ । आफूसँग भएको सबै कुरा पार्टी र आन्दोलनलाई सुम्पिनुभयो तैपनि सुख र जस कहिल्यै पाउनुभएन, यस्तो हुँदा पनि पार्टी र क्रान्तिको विचार कहिल्यै छाड्नुभएन । कम्तीमा पुष्पलाल हुन त तयार हुनुप¥यो । माफिया चरित्र बोकेपछि कम्युनिष्ट हुनै सक्दैन । हामी कम्युनिष्ट विचारधारा भएका कारण विचलित छैनौं । कम्युनिष्टको खोल ओढ्ने तर चरित्र कम्युनिष्ट नहुने अहिलेको समस्या हो ।
० अब प्रचण्ड–माधव नेपालहरूको भविष्य कस्तो देख्नुहुन्छ ?
– माधव नेपालहरूले सर्वाेच्चको फैसलापछि सांसद पद जोगाउनका लागि दौडन हुँदैनथ्यो । चाहिएन सांसद भनेको भए बहुत ठूलो क्रान्तिकारी माहोल बन्थ्यो । सर्वाेच्चको फैसलाले उहाँहरूको थाप्लोमा बञ्चरै हानेको हो । उहाँहरूले आ–आफ्नो ठाउँबाट धर्ती टेक्ने प्रयत्न गर्नुभयो भने सिद्धियो भनिहाल्ने स्थितिचाहिँ छैन तर लोभ त्याग्नुपर्छ । प्रचण्डले अस्ति मांसाहारी आन्दोलनको आह्वान गर्नुभयो, भारतलाई कम्फरटेबल सरकार बनाउने कुरा गर्नुभयो त्यो जगहँसाइ भयो । जो भारतको पक्षमा काम गरेको छ । ऊ बोल्दैन । अर्कै खालको राष्ट्रवादी बनिरहेको छ ऊचाहिँ ।
० नेकपा माओवादीको विरासत बचाउनुपर्छ भन्नेचाहिँ तपाईंलाई किन लाग्यो ?
– दश वर्ष जनयुद्धको इतिहास नभएका मान्छेले लडेको आन्दोलन, प्रचण्ड, बाबुराम, बादलहरूको हिजो इतिहास थिएन । त्यही इतिहास रक्षा गर्न नसके हाम्रो वर्ग उठ्न सक्दैन । त्यही कारण पुनर्गठन ग¥यौं । गर्व गर्छाैं हामीले ठीक ग¥यौं । यता नलागेको भए प्रदेश एकको मुख्यमन्त्री गोपाल किराँतीको गोजीमै थियो । झण्डा हल्लाएर हिँडिन्थ्यो होला । त्यो लोभ लागेन । तीन वर्षदेखि सडकमै संघर्ष गरिरहेका छौं । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव नेपाल पनि हामी यहाँ छौं भन्दै सडकमा आए । बल्ल खुशी लाग्यो । बराबरी भइयो । यी बूढाहरूलाई सडकमा ल्याउन जरुरी थियो ।