साढे चार महिनामा सशस्त्र र एसएसबीका एक सय ४५ संयुक्त गस्ती

कञ्चनपुरमा सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ ।
Advertisement 1
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी पोष्ट थपिएसँगै सीमामा सुरक्षा मजबुद ढङ्गले अघि बढाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक पेट्रोल, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग संयुक्त गस्ती, सीमा स्तम्भ रेखदेख तथा सीमा क्षेत्रमा हुने आपाराधिक गितिवधि नियन्त्रणमा दिनहुँ परिचालन भइरहेको सशस्त्र प्रहरी बल नं ३५ का गणले जनाएको छ ।
पछिल्लो समय सीमासँग जोडिएका स्थानीय तहका वडामा सीमा सहजीकरण समिति गठन गरी सीमा समस्या समाधान, सीमा अपराध नियन्त्रणलगायतका विषयमा समेत सहकार्य भइरहेको गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले जानकारी दिए। “चालु आर्थिक वर्षको साढे चार महिनामा मात्रै सीमा क्षेत्रमा एक सय ४५ वटा सीमागस्ती गरिएका छन्”, सशस्त्र प्रहरी उपरीक्षक रावलले भने, “फिल्डमा देखिने स–साना समस्या मिलेर समाधान गर्दै आएको छ ।”
Advertisement 2
उपरीक्षक रावलले नेपाल–भारत सीमा सुरक्षा बलको नियमित बैठक र छलफल भए हुँदै आएको बताए । कोरोना कहरका बेला सरकारले नै सीमामा सशस्त्र प्रहरी बलको सुरक्षा बढाएपछि सीमा क्षेत्रमा शान्ति सुरक्षासमेत राम्रो हुँदै गएको र सशस्त्र प्रहरी कतिपय स्थानमा अस्थायी संरचना र त्रिपालमा समेत बसेर सीमा सुरक्षामा सक्रिय रहेका रहेको उनको भनाइ छ । “कञ्चनपुरमा तीन वडा बिओपी पोष्टमा पक्की संरचनाका लागि जग्गा भोगाधिकारको विषय टुङ्गो लगाउने प्रक्रियामा छौँ”, उनले भने, “भोगाधिकारको विषयमा विमती नरहे पनि प्राप्तिको विषय अघि बढ्दै छ ।”
सशस्त्र प्रहरीले चालु आवको चार महिनामा अवैध चोरी निकासीबाट रु एक करोड ४१ लख ९८ हजार बराबरको राजस्व सङ्कलन गरी भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै लागुऔषध नियन्त्रणका क्रममा सशस्त्र प्रहरी बलले चालु आवमा ११ जना अभियुक्तलाई लागुऔषधसहित कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ ।