सेटिङमा रसुवा नाकाबाट सुन तस्करी, आठ महिनामै ३ किलो ३० तोला सुन बरामत
पछिल्लो समय उत्तरी सीमावर्ती जिल्ला रसुवाका विभिन्न नाकाबाट सुन तस्करी बढिरहेको छ । सो नाकाबाट सुन तस्करी बढेसँगै केही साता अघिमात्र सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका एउटा टोली रसुवाका सीमावर्ती नाकाहरुको स्थलगत अध्ययन भ्रमण गरेर फर्किएको छ ।
Advertisement 1
पछिल्लो तीन महिनामै रसुवाका नाकाबाट चार पटक सुन तस्करी भइसकेको र त्यसमा संग्लग्न मानिसहरु पक्राउ पर्नुले रसुवा नाका सुन तस्करीको हब बन्दै गएकोप्रति अधिकारीहरुले चिन्ता व्यक्त गरेको छन् ।पछिल्लो समय सो नाकाबाट चार पटकमा ३ किलो ३० तोला सुन तस्करी भएको प्रहरीको तथ्यांक छ ।
रसुवा जिल्लाका केही राजनीतिक दलका भातृ संगठनका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा सेटिङ मिलाएर १५ बर्ष पूरा नभएका बालबालिकालाई नागरिकता दिलाउने र तिनैलाई भरिया बनाएर सुनको कारोबार गराउन लगाउने सिलसिला बढेको केही अघि रसुवा जिल्ला बसेर फर्किएका सुरक्षा अधिकारीले चिन्ता पोखे ।
Advertisement 2
गाउँ र बजार आवतजावत गर्ने सामान्य मानिसहरु प्रयोग गर्दा सुन ओसार्न सहज हुने देखेर तस्करले थोरै परिमाणका सुन बोकाउने गरेको उनीहरुको भनाई छ।
विचौलियाहरुले नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय नाकाका रूपमा बिस्तार भइरहेको रसुवागढीलाई सुन तस्करीका लागि नयाँ रुटका रुपमा प्रयोग गरिरहेका छन् ।०७२ मंसिर १ गते देखि यो नाका सञ्चालनमा आएपछि सुन तस्करहरूको सक्रियता बढेको प्रहरीहरु बताउँछन् । लामो समय बन्द रहेको रसुवा नाका खुले यतामात्र ३ किलो बढी सुन बरामत भइसकेको प्रहरीको भनाई छ । त्यस अघि विभिन्न चरणमा गरी तस्करी हुँदै गरेको ४५ किलोभन्दा बढी सुन प्रहरीले सुराक पाएपछि बरामत गरेको जनाइएको छ ।
Advertisement 3
मंसिरको पहिलो सातामात्र केरुङबाट ल्याइएको १३ लाख ८८ हजार चार सय मूल्य पर्ने १२ तोला सुनका औंठीसहित रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्तीले पक्राउ गरेको थियो ।पैदलयात्रीहरुले सुन ओसारेको जानकारी पाएपछि खटिएको सरकारी टोलीले आमाछोदिङ्मो गापा–५ गोङगाङका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानीका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिमका ङवाङ लोप्चन तामाङ सुन सहित समातिएका थिए । यस अघि १४ लाख ९१ हजार छ सय ८२ मूल्यका सुनका औँठीसहित तीन व्यक्ति पक्राउ परेका थिए।
रसुवा प्रहरीले यही अप्रिलदेखि यतामात्र ३ किलो ३० तोला सुन बरामद गरिसकेको छ । जसमध्ये राजश्व अनुसन्धान विभाग,पुल्चोकलाई २ किलो ५३ ग्राम र रसुवा भन्सार कार्यालय टिमुरे कार्यालयलाई थप अनुसन्धानका लागि १ किलो २४ तोला भन्सारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी सुवास बूढाथोकीले इकर्मचारी डटकमलाई जानकारी दिएका छन् ।
एकातिर सुन तस्करीको मात्रा रसुवा नाकाबाट बढिरहेको छ भने अर्काे भन्सारबाट राजश्व चुहावट भइरहेको छ । लक्ष्य अनुसार राजश्व संकलन हुन नसकिरहेकै बेला यस अघि रसुवा भन्सारका केही कर्मचारीहरु नै नक्कली प्रज्ञापनपत्र बनाएर करोडौं राजश्व छलीमा मुछिएका थिए ।
शक्तिकेन्द्रको आडमा उन्मुक्ति पाइने भएसँगै फेरि रसुवा भन्सारका ड्राइभरदेखि पूर्व अर्थमन्त्री निकट एक विचौलियाका समूहले फेरि उसैगरी ब्रान्डेड सामान ल्याएर कमसल घोषणा गरी सामान पास गरेको भेटिएको छ ।
यो बिषयमा भन्सार विभागदेखि राजश्व अनुसन्धान विभागसम्म कुरा पुगेपछि ती विचौलिया र ड्राइभर उच्च निगरानीमा राखेर अनुसन्धान भइरहेको विभागका अधिकारीहरुले बताएका छन् ।