७० काटेकादेखि चालीसे ठिटा जुवाखालबाट कर्याप्पै

लमजुङ ।जुवाडेहरुको लागि उर्वर मात्रै हैन हवकै रुपमा चिनिन्छ लमजुङ । कुनै समय जिल्ला प्रहरी कार्यालय भित्रै सय रुपैयाँ प्वाइन्ट २१ पत्ती देखिलिएर कौडा समेत चल्ने गरेको सुराक थियो । जिल्लाका धनी साहुहरु लस्करै प्रहरी कार्यालयबाट निस्कन्थे हारजितको गफ लडाउदै । तर अहिले स्थिति फरक छ । जुवाको सुइँको पायो कि प्रहरीले छापा मारिहाल्यो । केही समय पहिले मर्स्याङ्दी गाउँपालिका घरपोखराबाट जिल्ला र बाहिरका नामुद जुवाडे सहित लाखौ रकम प्रहरीले पक्राउ गर्यो । तर पछि प्रहरीले नै रकम हिनामिना पारेको एउटा पसलमा बसेर प्रहरीले रकम बाँडेको भन्ने सिसिटिभी फुटेजसम्म बाहिरियो तरपछि त्यो त्यसै सेलायो पनि ।
Advertisement 1
अहिले जिल्ला प्रहरीले दशै तिहारको छेको पारेर कुनै जुवाडेहरु पक्राउ गर्न नसकेपनि इलाका प्रहरी कार्यालय भोर्लेटारले भने जुवातास खेलिरहेको अवस्थामा १ लाख ६० हजार ६८५ नगद सहित ८ जना जुवाडेहरुलाई पक्रन सफल भएको छ ।
भाइटिकाको दुईदिन पहिले अर्थात् गत २६ गते रातको १२:१५ बजेको मध्यनेपाल नगरपालिका वडा नं.६ भोर्लेटार, मिलनटोलका लक्ष्मण कुँवरको घरमा हारजितको बाजी राखी ठुलै चलखेलको जुवा खेलाइएको गोप्य सुचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय भोर्लेटारका इन्चार्ज प्रहरी निरीक्षक राजाराम खड्काले मातहतका केही प्रहरीलाई तत्काल तयारी हुन लगाएर बायुको बेगमा घटनास्थल पुग्दा कुँवरको घरको दोस्रो तल्लामा ८ जना जुवातास खेलिरहेको अवस्थामा भेटिएका थिए । सूचना अनुसार त्यहाँ ठुलै धनराशीको खेलोफड्को भएको भनिएपनि पचास कटेका केही र अन्य युवाहरुले २१ पत्ती तास खेलेका थिए ।
उक्त जुवाखालबाट पक्राउ पर्नेमा घरबेटी वर्ष ७० का लक्ष्मण कुँवर, मध्यनेपाल- ६ का ५८ बर्षिय सुन बहादुर कुँवर, सोही वडाका बर्ष ५२ का सोम बहादुर रानाभाट, वर्ष ४३ को शमशेर भुजेल, वर्ष ४५ को बिक्रम थापा, वर्ष ५० को खगेन्द्र कुँवर, वर्ष ३८ को हिमलाल रानाभाट र वर्ष ४१ को उदय दुरा छन । तिहारनै प्रहरी कस्टडीमा बिताएका उनीहरुलाई गत शुक्रबार मात्रै ५ दिनको लागि जिल्ला प्रशासनले थप अनुसन्धानको लागि म्याद थपेको छ । तिहार बिदाको कारण शुक्रबार मात्रै म्याद थपिएका उनीहरू मध्ये दुईजना पटके भएका हुनाले अदालत पठाउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । २६ गते राती पक्राउ परेका उनीहरुलाई बिहानै जिल्ला पुर्याइएको थियो ।