टिकटक प्रतिवन्ध :-समर्थन र विरोधमा सरकारी कर्मचारीका आ- आफ्नै तर्क बितर्क
सरकारले सोमवार सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना शुरु भएको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले तत्कालीन राजा ज्ञानेन्द्रले रेडियोको प्रसारण बन्द गराउन र प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गर्नु उस्तै रहेको टिप्पणी गरेका छन्। प्रविधिमा आधारित ‘सर्ट टर्म भिडियो होस्टिङ एप’ नियमन गर्नुको साटो बन्द नै गर्ने निर्णय गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा सरकारको व्यापक आलोचना भइरहेको छ।
Advertisement 1
यो कदमको प्रतिपक्षीमात्र होइन सत्ता पक्षकै सांसद,नेताहरुबाट आलोचना भइरहेको छ । सत्ताधारी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, विपक्षी एमाले उपमहासचिव विष्णु रिमाल लगायतले यस्को विरोध गरेका छन् । यता सरकारी कर्मचारीहरुले पनि मिश्रित प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको चार दिन पछि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।
सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने भन्दै निर्देशिका ल्याएको सरकारले त्यसको कार्यान्वयन प्रक्रिया सुरु नगरी टिकटक प्रतिबन्ध गरेसँगै केही कर्मचारीहरुले सामाजिक सञ्जालमा समर्थन र विरोधमा अनेक तर्कवितर्क पोखेका छन् ।कतिपयले नियमन गर्नुपर्नेमा नियन्त्रण गरिएको प्रतिक्रिया दिएका छन् ।
Advertisement 2
सरकारको यो निर्णयप्रति नेपाल सरकारका सहसचिव नेत्र पौडेल लेख्छन्,“नियमन” शव्द सुन्न सजिलो तर गर्न असम्भव छ।नियमन र स्वनियमन चल्ने भए हाम्रो शिक्षा स्वास्थ्य यातायात बजार सबै यत्ती छाडा हुने थिएन।टिकटक नियमन पनि यस्तै हो।
उपसचिव माधव ढकालले लेखेका छन्,प्रयोग गर्न जान्ने हो भने सामाजिक सञ्जालमा वेफाइदा केही छैनन् । सबै फाइदा मात्रै छन् ।
Advertisement 3
बरु सामाजिक सञ्जालको प्रभावकारी नियमन गर्ने हो । समस्याबाट भाग्ने चैं होइन है । समस्याबाट भाग्यो भने त समस्याले लखेटिरहन्छ ।
यस्तै अर्काे उपसचिव मोहन घिमिरेले व्यग्य ठोके,वा अब मन नपरे जति सबै बन्द गर्न पर्छ ।
नेपाल निजामती कर्मचारी संगठन ललितपुर शाखाको अध्यक्ष तथा शाखा अधिकृत टेकराज आचार्यले व्यग्य ठोके,खुट्टामा घाउ आयो भन्दैमा खुट्टै काटेर फाल्ने निर्णय गर्न सक्ने सरकार र सहयोगीहरूलाई भन्नु नै के छ र ?सबैको जय होस् ।
यता भीमाद नगरपालिकामा अधिकृत (सातौं) तहमा कार्यरत अजय सुवेदीले फरक मत राखे । उनले सरकारको कदमको समर्थन गर्दै लेखे,टिकटक बन्द गर्ने सरकारको निर्णय उचित छ ।यहि पोष्ट लेखिएको फेसबुक समेत बन्द गरियो भने सरकारको निर्णयलाई झन बढि खुलेर समर्थन गरिन्छ ।
नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले सरकारी कदमको समर्थन गर्दै लेखे,टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागत योग्य छ । अब पालो फ्रिफायरको ।
‘स्टाट आइयो’ वेबसाइटका अनुसार नेपालमा करिब साढे १३ लाख टिकटक प्रयोगकर्ता छन्। नेपालमा टिकटक प्रयोगकर्तामध्ये १८ वर्षदेखि २४ वर्षसम्म उमेरको संख्या ४६.८ प्रतिशत, सोभन्दामाथि ३४ वर्षसम्मको ४७.५ प्रतिशत सोभन्दामाथि ४४ वर्षसम्म ४ प्रतिशत रहेको अनुमान छ।
त्यस्तै ४५ देखि ५४ वर्षसम्म १.१ प्रतिशत र ५५ वर्षमाथिका ०.६ प्रतिशत रहेको उक्त वेबसाइटले उल्लेख गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकले सामाजिक विकृति बढेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो।