दुई सचिवको पदस्थापन :-अर्याल लुम्बिनी प्रदेशमैं,पुडासैनीलाई नेपाल ट्रष्ट
सरकारले हिजोमात्र सहसचिवबाट सचिवमा बढुवा भएका दुबै जनाको पदस्थापन गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ राधिका अर्याल र प्राविधिक सेवातर्फ विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेलगत्तै पदस्थापन गर्ने निर्णय गरेको हो ।
Advertisement 1
निजामती सेवाका सचिवहरु डा दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिवमा बढुवा भएका थिए । अर्याल सहसचिव भएको दश बर्षभन्दा बढी समयसम्म एसइडिपी अर्थात सिनियर एक्जुकेटिभ डेभलप प्रोग्राम तालिममा नलिएका कारण सहसचिवमै खुम्चिएर बसिरहेकी थिइन ।
सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त एक सचिव पदमा बढूवाका लागि सहसचिवत्रय राधिका अर्याल, चूडामणि पौडेल र डा हरिप्रसाद लम्सालको नाम सिफारिस गरेको थियो । प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिवका रुपमा कार्यरत थिइन उनलाई लुम्बिनी प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ ।
Advertisement 2
यस्तै १२ दिनका लागि सचिव बनेका अर्जुनजंग थापा उमेर हद लागेर घर गएसँगै रिक्त हुने पुगेको प्राविधिकतर्फका सचिवका लागि विश्वबाबु पुडासैनी एकल सिफारिस भएका थिए । वरिष्ठताका आधारमा चार पटक सिफरिसमा परे पनि सचिवमा बढुवा नभएका पुडासैनीको नाम पाँचौं पटक भने एकल रुपमा सिफरिस भएको थियो ।पुडासैनीलाई नेपाल ट्रष्टको कार्यालयमा कार्यकारी सचिवमा पदस्थापन गरिएको छ । त्यहाँका सचिव सर्जुकुमार वैद्यलाई शहरी सचिवमा तानिएसँगै नेपाल ट्रष्ट सचिवविहिन बन्न पुगेको थियो ।