निजी क्लिनिकको लापरबाहीः रेबिजको ठाउँमा टिटानस खोप, फागुनमा मात्रै तीनको मृत्यु

कुकुरले टोकेर बिरामी भएको भन्दै लमजुङका १२ वर्षीय बालकलाई २१ भदौमा काठमाडौं, टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरियो ।तर, रेबिज रोगका कारण अस्पतालमा नै उनको मृत्यु भयो । परिवारले अस्पताललाई दिएको जानकारी अनुसार, कुकुरले टोकेको २४ घण्टा जति पछि उनलाई नजिकैको क्लिनिकमा पुर्याइएको थियो । तर, ढिलो गरी ल्याएको भन्दै क्लिनिकका स्वास्थ्यकर्मीले रेबिज विरुद्धको सुई नै नलगाई फिर्ता पठाइदिएका थिए । त्यसको एक महीनापछि मात्र ती बालकलाई टेकू ल्याइएको थियो ।

Advertisement 1

रेबिजकै कारण १८ भदौमा स्याङ्जा, वालिङका ६५ वर्षीय वृद्धले ज्यान गुमाए । कुकुरले टोकेपछि उनी पनि घर नजिकैको फार्मेसीमा रेबिज विरुद्धको सुई लगाउन गएका थिए । तर, फार्मेसीवालाले केही हुँदैन भन्दै टिटानस विरुद्धको सुई लगाइदिए । उनी पनि त्यसको एक महीनापछि मात्र टेकूस्थित अस्पताल आइपुगेका थिए । १९ साउनमा टेकू अस्पतालमै ज्यान गुमाएकी सिन्धुपाल्चोक, मेलम्चीकी १८ वर्षीया किशोरीको मृत्युको कारण पनि रेबिज नै थियो । उनलाई पनि स्थानीय क्लिनिक सञ्चालकले टिटानस विरुद्धकै सुई लगाइदिएका थिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्याङ्क अनुसार, यो वर्षको वैशाखदेखि १३ असोजसम्मको ६ महीनामा मात्र रेबिजकै कारण १६ जनाको मृत्यु भइसकेको छ । अस्पतालका मेडिकल अफिसर डा.श्रवणकुमार मण्डल बिरामी र क्लिनिक सञ्चालकको हेलचेक्र्याइँका कारण कुकुरको टोकाइबाटै ज्यान जानेको संख्या बढ्दो छ । “समयमा रेबिज विरुद्धको सुई लगाएको भए मात्र पनि कसैको ज्यान जाने थिएन”, मण्डल भन्छन् ।कागेश्वरी मनहरा नगरपालिकाका ३८ वर्षीय खिलानाथ गौतम फागुन ७ गते सहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भए। रेबिजका संक्रमित उनी अन्तिम अवस्थामा अस्पताल भर्ना भएका थिए।

Advertisement 2

अस्पताल भर्ना भएको छैठौं दिनमा उपचारको क्रममा फागुन १३ गते उनले देहलिला त्याग गरे। यस्तै, खोटाङ हलेसीका ६२ वर्षीय धनबहादुर मगर पनि अन्तिम अवस्थामा अस्पताल भर्ना भए। फागुन १५ गते अस्पताल भर्ना भएका उनको १७ गते मृत्यु भयो। अघिल्लो आर्थिक वर्षमा दुई महिला र ६ पुरुषले रेबिजबाट ज्यान गुमाएका थिए। तर, यस वर्ष कोरोनाका कारण कोही अस्पताल आउन सकेका थिएनन्। अवस्था सामान्य बन्दै गएपछि फागुनमा तीन गम्भीर प्रकृतिका बिरामी अस्पताल भर्ना भए। दुईले अस्पतालमै ज्यान गुमाए भने एकजनाका आफन्तले बिरामीलाई घर लगेको अस्पतालले जनाएको छ।

पछिल्ला दिनमा रेबिजप्रति लापरवाही गर्ने प्रवृत्ति बढ्दो छ।विभिन्न निजी क्लिनिकमा टिटानसको सुई प्रयोग गरी ढुक्क भएर बस्दा रेबिजबाट मृत्यु हुने दर बढ्दो क्रममा रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन्। अस्पतालको तथ्यांक अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउन करिब ४ सय ५० भन्दा बढी मानिस आउने गरेका छन्।

पछिल्ला दिनमा रेबिजविरुद्धको खोप लगाउने संख्यामा निकै वृद्धि भएको अस्पताल प्रशासनको तथ्यांकले देखाएको छ। संक्रमितको संख्या बढ्दै जाँदा सरकारको सन् २०३० सम्म मुलुकबाट रेबिज उन्मुलन गर्ने लक्ष्य पूरा हुने सम्भावना न्यून बन्दै गएको छ। सरकारी लक्ष्यअनुसार रेबिज संक्रमित बिरामीको संख्या क्रमशः घट्नुपर्ने हो। तर, संक्रमितको संख्या बढ्दै गएको अस्पतालको तथ्यांकले देखाउँछ।

प्रकाशित :२०७७ फाल्गुन २५, मंगलवार १३:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry