शिक्षक आन्दोलनका सवालमा उपसचिवका १२ सुझाव

१. राज्यले कानुन बनाउदा सरोकारवालाको राय सुझाव लिनुपर्छ र राज्यको हित हुनेगरी कानुन बनाउनुपर्छ । केही स्वार्थगत ग्रुपको प्रलोभनमा परेर होइन ।
२. कसैलाई पनि बलजफ्ती सेवामा लगाउनु उपयुक्त होइन मान्छेमा भावना हुन्छ, आत्मसम्मान हुन्छ तसर्थ उनिहरुको मनोवल उच्च बनाइनुपर्छ तर, मनोवल उच्च बनाउनु भनेको राज्यलाई हानि हुनेगरी होइन । शिक्षकले दिने सेवा र राज्यले दिने सुविधामा अन्याय हुनुहुँदैन ।
३. नेपालको संविधानले माध्यमिक तहसम्मको शैक्षिक अधिकार एकल रुपमा स्थानीय तहलाई दिएको छ । त्यसको विरोध गर्नुको कुनै तुक छैन । संविधान विपरीत समेत हुन्छ ।
४. राजनीतिक आग्रह र पूर्वाग्रहका रुपमा स्थानीय तहले शिक्षकहरुलाई दुख दिने, हैरानी गर्ने, बर्खास्त सम्म गर्ने गर्न सक्छन् भन्ने शिक्षकहरुलाई सबैभन्दा ठूलो चिन्ता छ तसर्थ स्थानीय तहले त्यसरी आग्रह पूर्वाग्रहका आधारमा शिक्षकमाथि विभेद नहुने व्यवस्था गरिनुपर्छ र त्यै कुरामा विश्वस्त हुने वातावरण बनाइनुपर्छ ।
५. नेपालका समान तहका शैक्षिक संस्थामा चाहे सरकारी होस् या निजी सबैमा समान पाठ्यक्रम राखिनुपर्छ । अंग्रेजी, नेपाली भाषा पनि समान हुनुपर्छ । एउटा स्थानीय विषयको भाषा बाहेक ।
६. शिक्षक र प्राधानाध्यापकलाई नतिजामा आधारित कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता दिनुपर्छ । राम्रो नतिजा दिने शिक्षक र समग्र विषयमा राम्रो गर्ने स्कुलका प्र अ लाई १००% भत्ता दिदा फरक पर्दैन । क्रमशः राम्रो गर्नेलाई क्रमशः वृद्धि गर्ने । २०%, ३०%, ५०%, ८०%, १००% गर्ने । तर, नतिजाको मापन घोकाइको मात्र नभइ बुझाइको र व्यवहारिक ज्ञानको हुनुपर्छ । अति नराम्रो नतिजा दिनेलाई कारवाही पनि हुनुपर्छ ।
७. शिक्षकलाई पार्टीपिच्छेका संगठन खोल्न दिइनु हुँदैन र राजनीति गर्न पूर्ण निषेध गरिनुपर्छ ।
८. शिक्षकको बढुवा हुने होइन तहवृद्धि हुने हो तसर्थ प्रा वि को प्रथम श्रेणीको शिक्षकले अधिकृतस्तरको तलब खाँदैमा ऊ नि मा वि तृतीय भन्दा माथि होइन । नि मा वि प्रथम शिक्षक मा वि तृतीय भन्दा ठूलो होइन भन्ने स्पष्ट बुझ्नु आवश्यक छ जुन कुरामा धेरैलाई भ्रम छ ।
९. हरेक सेवाका आ आफ्ना विशेषता छन् । कुनै सेवा वा क्षेत्रका पेशाका ब्यक्तिले अर्को सेवा वा क्षेत्रलाई होच्याउनु कुनै दृष्टिकोणबाट पनि राम्रो मानिदैन ।
१०. शिक्षक भनेको कलाकार हो, अभिभावक हो, साथी हो, संस्कार हो, व्यवहार हो, आचरण हो । यी सबै कुरामा ध्यान दिएर राम्रो र सक्षम शैक्षिक उपाधियुक्त जनशक्ति निर्माण गर्नु शिक्षकको मुख्य दायित्व र जिम्मेवारी हो । यो जिम्मेवारी कति पूरा भयो ? कस्तो जनशक्ति शिक्षालयबाट उत्पादित भएका छन् ? भन्ने कुरामा हाम्रा शिक्षकहरु कति जिम्मेवारीबोध गर्न सकेका छन्? अधिकार माग्दा कर्तव्यबोध र जिम्मेवारी वहन कति भएको छ ? यो पक्कै गम्भीर भएर सोच्नु जरुरी छ ।
११.राज्यले कसैलाई नि पेल्ने, आग्रह पूर्वाग्रह राख्ने भन्दापनि हरेक पेशालाई सक्षम र मुलुकको हितमात्र सोचेर मानव संशाधनलाई उत्प्रेरित गरेर नतिजा लिने वातावरण बनाउनुपर्छ । तबमात्र मुलुक बन्छ । होइन भने उही देखाउन गरेजस्तो गर्ने भित्रबाट गर्ने जाँगर नआउने हो भने मुलुक अझै पछि नै पर्छ ।
१२. सरकारले कुनै आग्रह पूर्वाग्रह नराखी साच्चिकै असल, क्षमतावान् सदाचारयुक्त ब्यक्तिलाई उचित जिम्मेवारी दिनेमात्र हो र चाकडीवालालाई चिन्न मात्र सकेर काम गर्नेलाई नै मागेको जिम्मेवारी दिने हो भने मुलुक बन्न एक दशक त के आधा दशक पनि लाग्दैन ।