आमालाई चिठी !

मम्मी सस्टाङ्ग दर्शन  !

Advertisement 1

                                                       विषय: यो सालको तीजमा माइती आउन नपाउने बारे ।

मम्मी,

Advertisement 2

“तीजको बेलामा सबै जान्छन् माइत !

आफ्नो माइत मुग्लानपारि छैन साइत !!”

Advertisement 3

म सानो बेलामा तीज आउँदै गर्दा घाँस गएको बेला हजुरले गुन्गुनाउने यो गीत लाम‍ो थियो अहिले मैले यति सम्झेँ उबेला म सानै भए पनि मलाई हजुरले आँसु झार्दै भाकामा गुन्गुनाउने यो गीत कण्ठै थियो । ईस्कूलमा पनि मैले यो गीत गाएर पुरस्कार थापेकी छु । तर मम्मी गत सालहरुमा जस्तै यो सालमा पनि म तीजमा माइती आउन नसक्ने भए त्यसैले तिजमा मलाई लिन भाइ गोफ्लेलाई नपठाउनु होला ।

मम्मी, तपाईंलाई थाहै छ म पनि आजकल समावेशी कोटाले गर्दा सानातिनो जब गर्न थालेकी छु । अनि टोलको महिला सशक्तीकरण सहकारी लिमिटेडमा पनि साथीहरुले मलाई नै अध्यक्ष राखेका छन् । मैले आफ्नै बलबुताले बनाएको नारी अधिकार समूहको त म शुरुदेखि नै अध्यक्ष छु । तीज हामी महिलाहरुको महान पर्व हो । त्यसैले तीजको विभिन्न कार्यक्रमहरु तयार गर्न म भदौको शुरुदेखि नै व्यस्त भएकी छु यसपालि तीज त असोज १ मा पर्छ र पनि भदौको पहिलो हप्तादेखि तीज र दर खाने, नाचगान गर्ने कार्यक्रममा भ्याइनभ्याइ हुन थालेकी छु । कहिले आफू आबद्ध संस्थाले अरुलाई तीज मनाउन बोलाउने त कहिले उनिहरुले बोलाएको ठाउँमा जाने ! कयौं दिन त दोहोरो तेहोरो कार्यक्रम पर्ने हुन थालेको छ ! संगीहरुलाई कार्यक्रम नजुधाई राखौं भन्छु , सम्भवै हुन्न ! झन अस्ति त आफू व्यवस्थापन समिति सदस्य भएको सामुदायिक विद्यालयको तीज कार्यक्रममा समेत सहभागी हुन सकिएन, हेडसरलाई मेसेज गरेर सरी भनें । कतिपय कार्यक्रमहरुको त म आफै प्रमुख अतिथि बनेकी छु ! हिजै मात्र हाम्रो अफिसले तीज दर नाचगान कार्यक्रम आयोजना गर्यो हाम्रो अफिसका सबै महिलासंगीहरु खुब रमाइलो गरि नाचे मेरो त अझै खुट्टा दुखिराछ । अनि मम्मी, हाकिमसापले त फोन गरि मेरो नाचको खुब तारिफ गरिस्यो ! म त्यति राम्राे नाच्छु भनेर आफैलाई समेत थाहा थिएन भन्या ! यसपालि माइत आउन नभ्याउनुमा अर्को मुख्य कारण हाम्रो नेताज्यूले महिला दिदिबहिनीहरुलाई तीजको दर खुवाउन शहरबाट ५ लाखको चेक पठाउँदै होइसिन्छ । दिदीबहिनी सबैलाई खबर गरी पार्टी प्यालेस बुक गर्ने अनि दर पार्टीको सबै व्यवस्थापन गरी तीज सभ्य र भब्यताका साथ सुसम्पन्न गर्ने जिम्मेवारी मलाई नै दिइसिनु भएकोले मैले दिनरात नभनी खट्नपर्छ यसबापत पार्टीले मूल्यांकन गर्छ भनी नेताज्यूले भनिस्या छ ।

मम्मी, यसपालि त मलाई खर्चले पनि साह्रै गाह्रो पार्यो ! मसंग भएको असी हजार अनि हजुरको ज्वाईसापले जम्मा गरिराखेको पैंतालिसहजार सकिन थालेको छ । धेरै ठाउँमा जान पर्ने त्यहि सारी, ब्लाउज, लेहेङ्गा दोहर्याएर लगाएर जाने कुरा पनि भएन । पैसा नपुगेर बाँडाकहाँ गएर नक्कली गहना भाडामा चलाएकोछु ! कुर्ती, आउटर, टिसर्ट, स्क्रेचवाला पेन्ट किनेको त धेरै भाछैन त्यहि चलाउँछु कतै संगीहरुले थाहा पाए लाजमर्दो हुन्छ ! हुन त यो साल किनेका सारीहरु अर्को साल पनि चलाउँला तर ब्लाउज त ठीक हुन्न होला फेसन पनि गईसक्छ । धन्न च्यान्टीको बिहेलाई सिलाएको ब्लाउज साईज मिलेछ मेरो पालो ढाड र कुममा ठूल्ठूला प्वाल बनाउन लगाएँ अनि जरिवाला लेसले पाइपिङ गराएँ । च्यान्टीको बिहेमा संगै भोज खाएका गोमाले समेत थाहा पाएन उ भन्दै थिइ “क्या दामी ब्लाउज यार !”

मम्मी, यसपाली हाम्रो मेयरसापले पनि नगरपालिकाकै खर्चले भब्य र सभ्य तीज कार्यक्रम आयोजना गर्नु भएको छ । अस्ति भर्खर हाम्रै भोटले जितेका मेयर सापले यसपालि कर अलि बढाको छ खर्चको चिन्ता लिन पर्दैन विविध भैपरि र साँस्कृतिक प्रवर्द्धनमा राम्रै बजेट विनियोजन भएको छ भन्दै मेयर साप आफै आइसी मलाई निम्तो कार्ड दिएर जानू भाको । २५०० जना त चेलीबेटी जम्मा हुन्छन् रे कति रमाइलो हुने होला त्यो दिन ! म जसरी पनि मेयरसापको कार्यक्रममा दर खान नाच्न जानै पर्छ कतै म जाननपाई त्यो कार्यक्रममा २४९९ मात्र भयो भने मेयर सापले मारिसिन्छ ! फेरि पछि सिफारिश, सहयोग माग्न जानेबेलामा लाज हुन्छ कसरी मुख देखाउनु ?! त्यसैले मम्मी यो सालको तीजमा म माइती आउन नपाउनी भएँ । नरिसाउनु होला ! सकम्भर आगे साल आउँला !

उही तिम्री प्यारी छोरी

चमेली

[email protected]

प्रकाशित :२०८० भाद्र २८, बिहीबार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry