उपसचिवसहित १० विरुद्ध पौने पाँच लाखको भ्रष्टाचार मुद्धा दायर

विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले एकै पटक १० जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
Advertisement 1
अख्तियारले ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाई प्राविधिक दिल कुमार बुढाथोकीसहितलाई प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको हो ।
अख्तियारका अनुसार ०७५/ ०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नम्बर १० मा विद्युतीकरणको कार्यको लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजना उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमला र सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाबिच सम्झौता भएको थियो ।
Advertisement 2
उक्त योजनामा नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गावाट निशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामाग्रीहरु वईजल एसीएसआर कन्डक्टर, स्टिल ग्यालभनाईज पोल, स्याकल इन्सुलेटर डि आइरन सेट, पिन ईनसुलेटर स्पिन्नडल सामानहरु लिई सोही सामाग्रीलाई नमामी सप्लायर्स लहानको भ्याट बिल आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी खरिद गरेको भनी फर्जी बिल बनाई बनाउन लगाई सोही बिल सिद्धिचरण नगरपालिकामा भुक्तानीको लागि सिफारिस तथा पेश गरी गर्न लगाई सोही बिल वमोजिमको नापी किताव, उपभोक्तासम्वन्धी विल र कार्य सम्पन्न प्रतिवेदनमा लेखी लेखाई गलत प्रतिवेदनसमेत तयार गरी गराई भुक्तानी नै गर्न नमिल्ने ४ लाख ७७ हजार ८ सय ९९रुपैंया ६० पैसा भुक्तानी दिई दिन लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ङ) वमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा भोजराज खतिवडा, अमृत कुमार दाहाल, दिल कुमार बुढाथोकी र दामोदर धमलालाई बढी भुक्तानी दिई दिन लगाएको देखिएको हुँदा उनीहरुविरुद्ध ४ लाख ७७ हजार ८ सय ९९ रुपैयाँ पैसा साठी पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिमको कैद र मागदावी बराबरको अभियोगपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।