अध्यागमनसँग वैदेशिक रोजगार विभागको असन्तुष्टि
वैदेशिक रोजगारीको लागि कुवेत र जोर्डन जान लागेका श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति वैदेशिक रोजगार विभागले असन्तुष्टि जनाएको छ । गत असार २४ गते कुवेत १३२ र जोर्डन जान लागेका २४ गरि १५६ श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शंकास्पद भनी फर्काइदिएपछि आपत्ति जनाएको हो ।
Advertisement 1
वैदेशिक रोजगार विभागले आइतबार विज्ञप्ति निकालेर एउटै प्रकारको श्रम स्वीकृति लिएर जान लागेकाहरुमध्ये कसैलाई प्रस्थान अनुमति दिएको र कसैलाई नदिएको तथ्य देखिएको भन्दै विना आधार विमानस्थलबाट फर्काउनु मनासिव नभएको जनाएको छ ।
विभागका निर्देशक गुरुदत्त सुवेदीले जारी गरेको विज्ञप्तिमा गलत स्थान वा गलत कागजातका आधारमा वैदेशिक रोजगारमा पठाएमा वैदेशिक रोजगार ऐन बमोजिम क्षतिपूर्ति, जरिवाना तथा कैद सजायँको समेत व्यवस्था हुँदाहुँदै अध्यागमन कार्यालयबाट फिर्ता पठाउनु मनासिव नरहेको उल्लेख छ ।
Advertisement 2
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिना कारण कामदारहरू फर्काइरहेको भन्दै आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको छ । उनीहरूले अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरूले विरोध गरेका हुन् ।