प्रशासन सुधार कार्यदलले प्रतिवेदन बुझायो

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष प्रदेश सरकारले चार महिनाअघि गठन गरेको प्रशासन सुधार कार्यदलले एक समारोहका बीच आज प्रतिवेदन बुझाएको छ ।

Advertisement 1

कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदनमार्फत दिएका राय सुझावलाई आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवको महत्त्वपूर्ण भूमिका हुने जानकारी गराउँदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यान्वयनमा लैजान पनि मन्त्री तथा सचिवलाई निर्देशन गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीयताको महत्त्वपूर्ण हिस्साका रूपमा प्रदेश सरकार रहेको स्मरण गराउँदै प्रदेश सरकारले सकारात्मक काम गर्दा पनि जनस्तरबाट नकारात्मक टिप्पणी हुनु दुःखद् भएको बताउनुभयो । उहाँले प्रदेश संरचनाप्रति जनस्तरबाट विभिन्न प्रश्न उठिरहेका बेला कार्यदलमार्फत आएका सुझावले त्यसको समाधान दिने विश्वास व्यक्त गर्नुभयो । कोशी प्रदेश सरकारले चार महिनाअघि २०७९ माघ ६ गते पूर्वसचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यमा पूर्वप्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव रहनुभएको थियो ।

Advertisement 2

कार्यदलले चार महिना लगाएर तयार पारेको दुई सय २८ पृष्ठ लामो प्रतिवेदनमा एक सय ५२ सुझाव रहेका छन् । कार्यदलले बुझाएको प्रतिवेदन आज नै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेलाई कार्यान्वयनका लागि हस्तान्तरण गर्नुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो ।

प्रकाशित :२०८० असार १३, बुधबार २१:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry