सरकारी कार्यालयमा खुलेआम पैसा माग्छन्, तर केही गर्न सक्दैनौंः अख्तियार प्रमुख
सरकारी कार्यालयमा कर्मचारीले सेवाग्राहीसँग खुलेआम घुस माग्ने गरेको तर आफूहरुले कारबाही गर्न नसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले स्वीकार गरेका छन् । आइतबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले मालपोत र यातायात कार्यालयमा जाँदा कर्मचारीले घुसको मोलमोलाइ गरिरहेको भेटिने बताए ।
Advertisement 1
समिति बैठकमा सांसदहरुलाई सम्बोधन गर्दै उनले भने, ‘हजुरहरु यातायात कार्यालय जानुस्, मालपोत कार्यालय जानुस् । अथवा अन्य सरकारी निकाय जहाँ सरकारी सेवा उपलब्ध गराइराखेको छ त्यहाँ जानुस् खुलेआम रुपमा कर्मचारीले व्यक्तिसँग पैसा मागिराखेको हुन्छ । मोलमोलाइ गरिराखेको हुन्छ । तर पनि हामी केही गर्न सक्दैनौं ।’
सर्वोच्च अदालतले स्टिङ अपरेशन अवैधानिक भनेपछि अख्तियारले सरकारी निकायमा हुने खुलेआम घुसखोरी रोक्न नसकेको राईको जिकिरि छ । ‘म सँग पैसा मागेको छ, पैसा म लगेर दिन्छु, समात्नुहोस् भनेर दिनमा दुई तीन जना आउँछन्’ राई भन्छन्, ‘हारगुहार गरिराखेका हुन्छन् ।’
Advertisement 2
उनले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जबाफदेही हुनुपर्छ भन्ने नदेखिएको टिप्पणी गरे । ‘हामी सबैले सबैलाई जे गर्दा पनि हुन्छ भन्ने हिसाबमा छुट दियौँ । जहाँ पनि, जसले जे गर्दा पनि ठिक छ कारबाही नगर्ने । कर्मचारीले मनपरी कार्य गर्छ फेसबुकमा । सोसल मिडियामा आफ्नै हाकिमको विरुद्धमा मनपरी लेख्छ । त्यो कर्मचारीलाई कारबाही गर्ने हिम्मत हामीमा छैन, तर कानुनमा छ’, उनले भने ।
उनले तिनै तहको सरकारले बनाएका ऐन, नियम, कानुन र नीतिभित्र रहेर कर्मचारीले काम गरेमा भ्रष्टाचार नहुने जिकिर गरे । सरकारले सुशासन कायम गराउन नसकेको उनको भनाइ छ । उनले भने, ‘हेर्दा खेरी समाजलाई भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार मात्रै हो कि भनेजस्तो सोच विकास भएको छ । त्यो होइन । भ्रष्टाचारको नियन्त्रण भनेको सबभन्दा पहिला सरकारको हो । सरकारले सुशासन कायम गर्न प्रयास गर्नुपर्छ ।’