महिलाका लागि प्रकृती विपरित कानून

प्रकृतीले नौ महिनासम्म आफै भित्र बच्चा राखेर हुर्काई जन्माउन सक्ने क्षमता महिलाको शरिरलाई दिएको छ । त्यसैगरी स्त्री हृदयमा बच्चा हुर्किनका लागि चाहिने धैर्यता, ममता र करुणा दिएको छ । गर्भाधान भएपछि महिलाले पुरुषको अनुपस्थितिमा पनि बच्चा जन्माउन सक्छिन्, हुर्काउन सक्छिन् । यसरी प्रकृतीले नै महिलालाई बच्चा जन्माउने र हुर्काउने मुल जिम्मेवारी बक्सेको छ । जुन हरेक महिलाका लागि गर्वको विषय हो तर पितृसत्तात्मक सामाजिक प्रणालीमा विकाश भएको यौनिक नियन्त्रणको संस्कारले बच्चा जन्माउन र हुर्काउन सक्ने महिलालाई पहिचान र वैधता दिने अधिकार दिएको छैन । यस प्रणालीमा महिलाले कुन पुरुषको सन्सर्गबाट गर्भवती भएको हो सोको हिसाब समाजलाई दिनु पर्दछ । यति मात्रले पुग्दैन उनले देखाएको पुरुषले त्यो गर्भलाई सकारेको पनि हुनुपर्दछ । कारणबंश महिलाले उनको गर्भ कुन पुरुषको सन्सर्गबाट रहन गएको हो, नाम दिन सकिनन् या उनले देखाएको पुरुषले त्यो गर्भ सकारेन भने ती महिलाको मात्र होईन उनको सन्तानको जीवन अपमानजनक, पहिचान बिहिन र कष्टकर हुन्छ । जन्माएको बच्चालाई वैधता दिनका लागि एक नाबालिग कुमारी आमाले कति ठुलो महाभारत लड्नु पर्यो उदाहरण ताजा नै छ हामीसङ्ग । उनले पाएको समाजिक अपहेलना र मानसिक पिडाको त कुनै हिसाब नै छैन । उनी त हिम्मतिली थिईन् र जोखिम उठाउदै लडेर लिईन तर सबै महिलाले त्यसरी लडेर लिन सक्दैनन् । यदि मानविय हिसाबले न्यायपुर्ण र महिला मैत्री कानून बनाउने हो भने कुनै पुरुषले नसकारेको अवस्थामा पनि महिलाले आफ्ना सन्तानलाई ससम्मान पहिचान दिन सक्ने गरी व्यवस्था गरिनु पर्दछ । अनि मात्र प्रकृतीले बक्सेको स्त्री उत्तरदायित्वको आदर हुन्छ ।

Advertisement 1

यसै सन्दर्भमा नेपालमा विद्यमान कानूनको कुरा गर्दा, नेपालको सविधान धारा ३८ (१) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक हुने व्यवस्था गरेको छ । प्रजनन् स्वास्थ्य र प्रजनन् अधिकारको वृहत परिवेशभित्र सन्तान जन्माउने वा नजन्माउने दुबै कुराको निर्णय पर्दछ । यसरी सविधानले नै गर्भमा आएको बच्चा जन्माउने कि नजन्माउने निर्णय गर्ने हक महिलालाई दिएको छ । त्यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ ले कसैले गर्भवती महिलालाई करकाप गरी धम्की दिई ललाई फकाई गरी वा प्रलोभनमा पारी गर्भपतन गराउनु हुदैन भन्छ । सविधानले नै व्यवस्था गरेको हकको उपयोग गरी गर्भवती महिलाले सन्तानलाई जन्म दिने निर्णय गरिन् । जन्म दिईन र हुर्काईन त्यतिले उनको उत्तरदायित्व पुरा हुदैन । १६ वर्ष पुगेपछि बच्चालाई पहिचान सहितको नागरिकता चाहिन्छ । प्रचलित नागरिकता ऐनले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । यसरी आमाको नामबाट नागरिकता लिन दुई शर्त पुरा हुनु पर्ने देखियो । पहिलो बच्चा नेपालमा जन्मेको हुनुपर्ने, दोश्रो बाबुको पहिचान हुन नसकेको । यो अवस्थामा बाहेक आमाको नामबाट नागरिकता बन्ने व्यवस्था गरिएको छैन । यी दुई शर्तपुरा गर्न नसकेको अवस्थामा नेपाली नागरिक आमाले जन्माएको सन्तानले नागरिकता जस्तो आधारभुत आवश्यकताबाट बन्चित हुनु पर्दछ । अब हेरौ, कस्तो कस्तो अवस्थामा नेपाली आमाले जन्माएको सन्तानले नागरिकताबाट बन्चित हुने अवस्था छ ।

१. कुनै विशेष अवस्थामा मात्र महिलाले उनको बच्चाको बाबुको हो भन्न सक्दिनन् तर अधिकांस अवस्थामा आफ्नो पेटमा हुर्कदै गरेको सन्तानको बाबु को हो, उनलाई थाहा हुन्छ तर सम्बन्धित पुरुषले स्वीकार गरेन भने सन्तानले आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरिएको छैन । यस्तो अवस्थामा नेपाली आमाको सन्तानले अवैध र अनागरिक भएर जीवन काट्नु पर्ने हुन्छ । कि आमाले बच्चाको पहिचानका लागि डिएनए जाच गरिपाउ भनेर आमरण अनसन बस्नु पर्छ ।

Advertisement 2

२.नेपाली नागरिक महिलाले विदेशमा कामदार वा विद्यार्थीको रुपमा रहदा लैगिंक हिन्सामा परेर उतै जन्माएको सन्तानले, मानसिक अवस्था ठिक नभएको अवस्थामा उतै जन्माएको सन्तानले, विदेशी वा नेपाली नागरिकसङ्गको सन्सर्गले उतै जन्मेको सन्तानलाई सम्बन्धित पुरुषले स्वीकार नगरेको अवस्थामा आमाको नामबाट सन्तानले नागरिकता पाउने व्यवस्था गरिएको छैन । यी अवस्थाहरुमा नेपाली आमाको सन्तानले अवैध र अनागरिक भएर जीवन काट्नु पर्ने हुन्छ । कि नभए सन्तानलाई उतै सडकमा अलपत्र छोडेर आउनु पर्यो । एक आमाको मनले सन्तान अलपत्र छोड्न मान्ला र रु एक आमालाई यस्तो परिबन्दमा पार्ने व्यवस्था अमानविय व्यवस्ता हो हुन् ।

यसरी अझ पनि नेपालको नागरिकता ऐनले महिलाका सबै पक्षलाई सम्बोधन गर्न सकेको छैन । प्रचलित कानून बमोजिम बरु पितृत्व तथा मातृत्वको ठेगान नभएकोले नागरिकता पाउछ । अन्य राष्ट्रको नागरिकता लिएका नेपाली नागरिकले नागरिकता पाउछ तर एक किसिमले पिडाको अवस्थामा नेपाली आमाले जन्माएका सन्तानले नागरिकता पाउने व्यवस्था गरिएको छैन । यो राज्यले पिडितलाई अझ पिडा थपिने गरी गरेको व्यवस्था हो ।

Advertisement 3

पितृसत्तात्मक सामाजिक प्रणालीमा कुनैपनि बच्चाको जन्मलाई पुरुषले नसकारे सम्म वैधता दिईदैन । कानुन पनि उही समाजिक संस्कारको उपज हुने हुनाले आमाको नामबाट नागरिकताको व्यवस्था पुरानो होइन नेपाली परिवेशमा । जन्म दिन सक्ने आमालाई किन पहिचान दिने हक दिईएको छैन ? उही पुरानो र परम्परागत उत्तर यौनिकता नियन्त्रण गर्न । आज पनि राज्यले कुनै आमालाई उनको सन्तानलाई दिनुपर्ने पहिचान दिने अधिकारबाट बन्चित गर्नु अन्याय हो महिलाका लागि र उनको सन्तानका लागि । साथै यो अनादर पनि हो विशाल प्रकृतीले दिएको उत्तरदायित्व प्रति । तसर्थ महिलालाई प्रकृतीले दिएको उत्तरदायित्वको सम्मान गर्दै जुन सुकै अवस्थामा जन्मिएको सन्तान होस् नेपाली आमालाई उनको सन्तानलाई दिने पहिचानबाट बन्चित गर्ने कानून बनाउनु हुदैन, बनिसकेका भए यथासिघ्र संशोधन हुनु पर्दछ ।

(लेखक नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकी मुख्य प्रबन्धक हुन् ।)

प्रकाशित :२०८० जेष्ठ २९, सोमबार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry