प्रमोदको प्रयत्न, सुधारिँदै लाङटाङ राष्ट्रिय निकुञ्ज

चार दशक अघि तनहुँमा जन्मिएका हुन प्रमोद भट्टराई । पढाईमा अब्बल उनी ०५४ सालमै एसएलसी उत्र्तीण भए,प्रथम श्रेणीमा । वन तथा वातावरण बिषय अध्ययन गर्न हेतुले आइएस्सी भर्ना । आइएसस्सी उत्र्तीण गरे पछि केही समय काम गरे प्रोजेक्टमा । विएस्सी पनि वन विज्ञान नै पढे । वन बिषय अध्ययन गरेका उनी ०६७ सालमा सहायक वन अधिकृतका रुपमा निजामती सेवामा पाइला राखे । नवलपरासी रहँदा बैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम गर्ने उल्लेखनीय भूमिका खेलेका कारण नागरिक समाजबाट सम्मान थापे । यस्का अलवा जिल्ला वन कार्यालयका उत्कृष्ट कर्मचारीको सम्मान पनि उनैले थापे । ०७४ सालमा उपसचिव तहमा उक्लिए पछि सगरमाथा निकुञ्जमा प्रमुख संरक्षण अधिकृतका रुपमा पोष्टिङ भयो । सगरमाथा क्षेत्रमा दैनिक पर्यटकको आवतजावत र सँगसँगै फोहोरको थुप्रो लाग्न थालेसँगै स्वच्छ, सफा र सुन्दर सगरमाथा क्षेत्र अभियान प्रारम्भ भयो । हवाई यात्राबाट खुम्बु प्रवेश स्थल लुक्ला क्षेत्रबाट सरसफाई शुरु गरी जोरसल्ले, मञ्जो, नाम्चे, ठमो, थामे, टासिङ्गा, डोले, गोक्यो क्षेत्र हुँदै सातांै दिन दिङ्बोचे देखिमाथि बेसक्याम क्षेत्रसम्म सरसफाई गर्ने काम गरे । सोही कामबाट प्राभवित भएर नेपाली सेनाले उनलाई सम्मान ग¥र्यो । त्यहाँबाट बाँके राष्ट्रिय निकुञ्ज हुँदै मन्त्रालयमा तानिएका उनी विगत १६ महिनादेखि तेश्रो पर्यटकीय गन्तव्य लाङटाङ राष्ट्रिय निकुञ्जको प्रमुखको भूमिकामा छन् ।

Advertisement 1

रसुवा,लाङटाङ र राजश्वमा
रसुवा जिल्लालाई नेपालकै तेश्रो पर्यटकीय गन्तव्य मानिन्छ । भूकम्प,कोभिड पछि थिलथिलो भएको पर्यटन क्षेत्रले बिस्तारै लय समात्दै छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै स्वभाविकै हो,राजश्व पनि बढी उठ्न थालेको । पछिल्लो समयमा लारानिले १ करोड ७५ लाख २३ हजार ६ सय १४ रुपैयाँ राजस्व संकलन गरेको छ । निकुन्जका अनुसार हाल दैनिक दुई सयभन्दा बढी पर्यटक आइरहेका छन् । जसमा फ्रान्स, जर्मन, स्पेन, रसिया, डेनमार्क, अमेरिकालगायतका मुलुकमा पर्यटकहरु रहेका छन । लारानिका अनुसार,२०७५/ ०७६ मा १७ हजार ६ सय ९१ पर्यटक भित्रदा ५ करोड ७२ लाख ९८ हजार ४ सय ३७ रुपैयाँ राजस्व संकलन भएकोमा ०७६/०७७ मा २० हजार १ सय ५९ पर्यटकबाट ३ करोड १९ लाख ४८ हजार ४ सय १ रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै ०७७/०७८ मा ४ हजार ६ सय ४९ पर्यटक रसुवा भित्रदा ६० लाख ३० हजार ६ सय ६७ रुपैयाँ राजस्वमात्र संकलन गर्न सकेकोमा गत आर्थिक बर्षमा १७ हजार ६ सय ८८ जना आएका छन् भने पर्यटकबाट १ करोड ७५ लाख २३ हजार ६ सय १४ रुपैयाँ राजस्व संकलन गरेको हो । लाङटाङ राष्ट्रिय निकुञ्जमा साउन महिनामा ३ सय ९३ जना, भदौमा २ हजार १ सय ४४ जना, असोजमा २ हजार १ सय २ जना, कार्तिकमा ४ हजार २ सय ९१, मंसिरमा १ हजार ५६ जना, पुषमा २ सय ४८ जना, माघमा १ सय ९४ फागुन ७ सय ७६ जना, चैतमा १ हजार ६ सय ७० जना, बैशाखमा १ हजार ७ सय ४३ जना, जेष्ठमा २ हजार ४ सय ६० जनाले निकुञ्ज भ्रमण गरेका छन् ।

Advertisement 2

लाङटाङ राष्ट्रिय निकुञ्ज र सम्भवना
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र एक हजारभन्दा बढी प्रजातिका वनस्पतिहरु पाइन्छ । यस्का अलवा दूर्लभ रेड पाण्डा पनि यहीँ भेट्न सकिन्छ । स्तनधारी ४६, पंछी ३८०, सरिसृप ११, माछा ४०, माकुरा १०, पुतली ५८, २१ प्रकारका रैथाने वन्यजन्तु तथा वनस्पती पाइन्छ । लाङटाङ उपत्यका, क्यान्जिङ उपत्यका, गोसाईकुण्ड र यसका ताल श्रृंखला, दोर्जे लाक्पा पास, जुगल हिमाल बेसक्याम्प, मेलम्चीघ्याङ, हेलम्बु, तार्केघ्याङ, ह्योल्मो आमायाङ्ग्री, शेर्माथाङ, घ्याङफेदी, पाँच पोखरी, दुप्चेश्वरी आदि निकुञ्जभित्रका प्रमुख पर्यटकीय आकर्षणका गन्तव्यहरु हुन् ।

Advertisement 3

सुधारका यत्न
प्रमोद भट्टराईंले लाङटाङ राष्ट्रिय निकुञ्जको कमाण्ड सम्हालेको १५ महिना समय व्यतित भएको छ । यससँगै मेषजाली सहितको तारबार निर्माण, वनपथ निर्माण, डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, गोरेटो बाटो निमार्ण, फोहरमैला व्यवस्थापनका लागि खाडल निर्माण, पर्यटक बिश्रामस्थल निर्माण, उपभोक्ता समूहहरुको गठन, चोरी शिकार नियन्त्रण गर्न युवा परिचालनजस्ता सुधारका यत्न भएका छन् । गत साउनदेखि नुवाकोट जिल्लाको तादी गाउँपालिका वार्ड नं. २ मा पर्ने चिलाउने गाँउमा १ किमि, कालिका गाँउपालिका १, राम्चेमा १ किमि. र नौकुण्ड २ बान्द्रेमा १ कि.मि मेषजाली सहितको तारबार निर्माण भएको निकुञ्जले जनाएको छ ।

वनपथ निर्माण
निकुञ्जको कोर तथा मध्यवर्ती वन क्षेत्रमा गस्ति/पेट्रोलिङ, वन्यजन्तुको उद्घार, वन डढेलो नियन्त्रणजस्ता क्रियाकलाप गर्न जानको लागि वनपथको आवश्यकता पर्दछ । यसै उद्देश्यपूर्ति गर्नका लागि रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका ३ जिल्लामा गत साउनदेखि यता ५ किमि वनपथ निर्माण सम्पन्न भएको छ । यस्तै, ५ किमि अग्नि रेखा निर्माणको काम पनि सम्पन्न भएको निकुञ्जले जनाएको छ । निकुञ्जको कोर तथा मध्यवर्ती वन क्षेत्रमा गस्ति/पेट्रोलिङ, वन्यजन्तुको उद्घार, वन डढेलो नियन्त्रण जस्ता क्रियाकलाप गर्न जानको लागि वनपथको आवश्यकता पर्ने हुँदा गत साउनदेखि यता ५ किमि वनपथ निर्माणको सम्पन्न भएको निकुञ्जले जनाएको छ । यस्तै फोहरमैला व्यवस्थापनका लागि १२ वटा फोहोरमैला व्यवस्थापन खाडल निर्माण सम्पन्न भएको निकुञ्ज प्रमुख भट्टराईले जानकारी दिएका छन् । निकुञ्ज अन्तर्गतका विभिन्न पर्यटकीय पदमार्गहरुमा ३ वटा पर्यटक बिश्रामस्थलको निर्माण कार्य सम्पन्न भएको कामलाई पनि निकुञ्जले आफ्नो बार्षिक उपलव्धी भित्र समावेश गरेको छ । यस्तै मध्यवर्ती व्यवस्थापन समिति अन्र्तगत रहेको २१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति गठन भएको छ भने उपभोक्ता समितिका सदस्यहरु, निकुञ्जमा तैनाथ सेना र निकुञ्ज कर्मचारी सहित परिचालन गर्ने उद्देश्यले १९ वटा उपभोक्ता समितिमा चोरी शिकार नियन्त्रणका लागि युवा परिचालन कार्यक्रम गरिएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व र राहत
निकुञ्जलाई सदैव पिरोल्ने बिषय हो मानव र बन्यजन्तुको द्धन्द । निकुञ्जभित्रका विशेष गरी टिमुरे, धुन्चे, राम्चे, कालिका, लहरेपौवा, उत्तरगया, यार्सा, सरमथली, उर्लेनी, सिलामे, तादी, दुप्चेश्वरी, कल्पेश्वरी र हेलम्बु क्षेत्रमा वन्यजन्तुले मध्यवर्ती क्षेत्रमा आएर बन्यजन्तुले मानवीय, अन्नवालीका अलवा पशुको समेत क्षति गर्दे आएको भेटिन्छ । मानव वन्यजन्तु द्वन्द्वमा मुख्य गरी जंगली बँदेल, चितुवा र भालु रहेका छन् । यी जनावरहरुबाट यस आर्थिक बर्षमा ४४४ वटा घटनाहरु भएको अभिलेख छ निकुञ्जसँग । डिभिजन वन कार्यालय, नुवाकोटको कार्य क्षेत्रभित्र ३८, डिभिजन वन कार्यालय, रसुवाको कार्य क्षेत्रभित्र १ र बाँकी ४०५ वटा घटना यस निकुञ्जको कार्यक्षेत्र भित्र घटेका बताइएको छ । यस आ.व.मा यस कार्यालयबाट मानव–वन्यजन्तु द्वन्द्वका ४४४ वटा घटनाका पीडितहरुलाई ३६ लाख ५९ हजार ५ सय ५० रुपैँया राहत रकम उपलब्ध गराईएको निकुञ्ज प्रमुख भट्टराई बताउँछन् ।

१० बन्यजन्तुको मर्दा ९ को उद्धार
लाङटाङ राष्ट्रिय निकुञ्जमा १० बन्यजन्तुको मृत्यु हुँदा ९ को उद्धार भएको छ । जसमध्ये बिरालो ३,रतुवा मृग ३, स्याल २ वटा, घोरल १ वटा, लंगुर १ वटा र बाज १ छन् । यस्तै रतुवा ४,घोरल २,मृग १,लंगुर १,बँदेल १ को उद्दार गरिएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

लारानिका चुनौती
निकुञ्जको भौगोलिक अवस्था र क्षेत्रफलको आधारमा कर्मचारी दरवन्दी कम र भएको दरवन्दीमा समेत पदपूर्ती नभएको हुनाले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य ठूलो चुनौतीको बिषय बन्न पुगेको छ । खासगरी प्राविधिक कर्मचारीको दरबन्दी रिक्त रहेकोले फिल्ड स्तरमा प्राविधिक काम र सरोकारवाला निकायहरुसँग समन्वय गर्न असहज भएको भट्टराई बताउँछन् । निकुञ्जको सांगठनिक संरचना अनुसार फिल्ड स्तरमा भौतिक संरचना र कर्मचारीको व्यवस्था नहुदा सेवा प्रवाह र संरक्षण कार्यमा चुनौती थपिएको छ । भूकम्प पश्चात भत्किएका निकुञ्ज तथा सुरक्षा पोष्टहरुको समयमै पुनःनिर्माण हुन नसक्नु, भौगोलिक विकटता, अवैधानिक रुपमा निर्माण भएका विकासका पूर्वाधारहरु, मानव–वन्यजन्तु द्वन्द्व, वन पैदावारको अवैध संकलन, वन्यजन्तुको चोरी शिकार तथा तिनका अंङ्गहरुको अवैध ओसारपसार, सुख्खा मौसममा हुने आगलागी, फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्नु, खर्कहरुमा अनियन्त्रित चरिचरण तथा अव्यवस्थित गोठ राख्नु, काठ/दाउरा/ढुंगा/बालुवाको अत्यधिक माग रहनु मृग प्रजातिका वन्यजन्तुहरुलाई क्षति गर्ने भुस्याह कुकुरको नियन्त्रणमा समस्या निकुञ्ज संरक्षणका प्रमुख चुनौती देख्छन् भट्टराई ।

प्रकाशित :२०८० जेष्ठ १७, बुधबार ०९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry