कर्मचारी ट्रेड युनियन नाम,यस्तै हुन्छ काम ?
काममा दलिनु नपर्ने,हाजिरमात्र लगाए पुग्ने यस्तो गज्जबको जागिर खाने हो भने केही गर्नुपर्दैन,कर्मचारी ट्रेड युनियनको नेता भए पुग्छ ।
नेताको काम अन्यायमा परेका कर्मचारीको हक हितमा आवाज उठाउने हुनुपर्ने हो तर कर्मचारीका नेताहरुले विरलै अन्यायमा परेका कर्मचारीको पक्षमा बोलेको सुनिन्छ । आफ्ना खास पाटर्नरलाई सदैव मालदार कार्यालयमा फिट गराउने र त्यहाँबाट लाभ लिइइहने धन्दा कर्मचारी संगठनमा बेस्सरी मौलाएको छ ।
Advertisement 1
यता,राजस्व संकलनको जिम्मा लिएर भन्सार कार्यालयमा खटिएका कर्मचारीहरुले नै तस्करहरुसँगको सेटिङमा राजस्व छली गर्ने गरेको तथ्य एकपछि अर्को खुलासा भइरहेको छ । कोभिड महामारीपछि पूर्णतः बन्द भएर हालै मात्र खुलेको उत्तरी नाकामा रहेको रसुवागढी भन्सारमा पनि करोडौँ राजस्व हिनामिना भएको खबर बाहिरिएको छ । चीनबाट भित्रिने महँगा ब्रान्डेड मालवस्तुलाई सस्तो देखाएर व्यापारी र भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा करोडौं राजस्व चुहावट भइरहेको गुनासो बढेपछि भन्सार विभागले हालै गरेको छड्के जाँचमा स–प्रमाण बदमासी भेटिएको स्रोतको दाबी छ ।
वैशाख २१ गते प्रज्ञापनपत्र नम्बर १८९१ र १८८९ बाट बा २ ख १७९३ र ना ६ ख ५२७२ का दुई कन्टेनर सिल गरेर भन्सारबाट छुटेका थिए । अवैधरुपमा महँगा चिनियाँ रक्सीसमेत लुकाएर नेपाल छिराइएका ती कन्टेनरमा छ सय बोरा ब्रान्डेड कस्मेटिक सामाग्रीले भरिएका थिए । तर, बालबालिकाको जुत्ता–कपडा ल्याइएको प्रज्ञापन बनाई न्यून राजस्व तिरेर छुटाइएका ती कन्टेनर भन्सार बिन्दुबाट १७ किलोमिटर वर स्याफ्रुबेसी आइपुग्दा विभागको टोली रसुवा आउँदै गरेको सूचना पुग्यो । त्यसपछि चोरबाटो हुँदै रातारात दुबै कन्टेनरलाई पुनः भन्सार यार्डमा छिराइयो ।
Advertisement 2
बताइएअनुसार विभागको टोली पुग्दा तस्कर, प्रहरी र भन्सार कार्यालयको मिलेमतोमा सिलबन्दी गाडीबाट आधा ९३०( बोरा) सामान निकालेर अन्यत्र लुकाइएको थियो । तर, विभागको टोलीले सिसिटिभी फुटेजका आधारमा थप अनुसन्धान गर्दा ती कन्टेनरबाट निकालिएका मालसामान अरु गाडीमा लुकाइएको तथ्य खुलेको हो । त्यसपछि सामान लुकाइएको गाडीसमेत समातिनुपर्ने निष्कर्ष निकालेको विभागको टोली रसुवागढी भन्सार कार्यालयका प्रमुख र त्यसमा संलग्न कर्मचारीमाथि कारबाही गर्नुपर्ने निचोड निकालेर काठमाडौँ फर्कियो ।
भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको विशेष पहलमा समातिएका यी दुई कन्टेनर छुटाउन यतिबेलै राजनीतिक पहुँच र प्रभावको आडमा ठूलै शक्ति केन्द्रको दबाब बढेको बताइन्छ । राजनीतिक प्रभावकै कारण सोही कम्पनीले पछिल्लो तीन महिनामा ४६ वटा नक्कली कागजात बनाएर भन्सार छलीका सामान निर्वाध ढंगले ल्याइसकेको व्यापारीहरुको दाबी छ ।
Advertisement 3
रसुवागढी भन्सार कार्यालयका कर्मचारीहरुको अगुवाइमा यस्तो धन्दा चलिरहेकाले यो घटनालाई भित्रभित्रै सामसुम पार्न शक्ति केन्द्र परिचालित भइरहेको जानकार स्रोतको दाबी छ । वर्षौंदेखि चीनबाट लत्ता–कपडाको व्यापार गर्दै आएका एकजना व्यापारीले सुनाए, ‘नियम, कानुनको परिधिमा बसेर काम गर्नेलाई अनेक नाममा दुःख र हैरानी दिने गरिन्छ । तर अवैध धन्दा गर्नेलाई भन्सार कार्यालय र राजस्वका हाकिमहरु नै जोगाउन दौडधुप गरिरहेका छन् ।
नेपाल आयात हुने चिनियाँ सामाग्री खासगरी तयारी पोशाकमा ठूलो मात्रामा राजस्व चुवाहट भएको देखिन्छ । त्यस्ता सामाग्रीको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको हुन्छ । र, मूल्यअनुसार राजस्व तोकिन्छ । तर, व्यापारी र भन्सार कार्यालयको मिलेमतोमा एकथरी सामान ल्याएर अर्कै प्रज्ञापनपत्र बनाई वैधानिक लुटधन्दा चलाइन्छ ।
यसैबीच,सामानको गलत घोषणा गरेर भन्सार छली कार्यमा संलग्नता पुष्टि भएपछि भन्सार विभागले रसुवागढी भन्सार कार्यालयका भन्सार प्रमुख नारायण भण्डारीसहित रसुवागढी भन्सारमै कार्यरत अधिकृत बलराम भण्डारी र नायब सुब्बाइन्दु शर्मामाथि अनुसन्धान शुरु भएको छ । भण्डारी अर्थमा र अधिकृत भण्डारी र सुब्बा शर्मा भन्सार विभागमा तानिएको स्रोतले जनाएको छ ।इन्दु काँग्रेस निकट कर्मचारी ट्रेड युनियनका उपमहासचिव समेत हुन । दुई बर्ष भैरहवा भन्सारमा बसेको उनी सेटिङ मिलाएर रसुवा पुगेका थिए ।
कर्मचारी युनियनको आडमा मौलाएको जथाभावी सरुवाविरुद्ध अहिले अख्तियारमा समेत उजुरी पर्ने क्रम बढेको छ । बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनको सचिवालय र कर्मचारी प्रशासनमा बसेर त्रिवि अध्यागमन कार्यालयमा कर्मचारी खटन पटन गराइँदा मोटो रकम उठाइएको उजुरी अख्तियारमा परिसकेको छ । त्यहाँ गोपाल पोखरेलका भाइ कुमार पोखरेललाई खटाइएको थियो ।
गोपाल पोखरेलकै दबाबमा गत माघमा उनका भाइ कुमारलाइ अध्यागमन कार्यालयमा पठाइएको थियो । दरबन्दी नै नभएको ठाउँमा उनलाई त्यता खटाउने काममा त्यतिखेरकर्मचारी प्रशासन फाँट हेर्ने उपसचिव शोभाखर रेग्मी, गोकर्ण उपाध्याय, कृष्णप्रसाद शर्मा, शाखा अधिकृतद्वय कूलशेखर अर्याल र भाष्कर दाहालहरू संग्लग्न रहेको थिए । को बदमासी कस्तोसम्म रह्यो भने, छानीछानी कांग्रेसनिकट कर्मचारीलाई त्यता खटाइने । यो क्रममा भ्रष्टाचार मुद्दामा अनुसन्धान चलिरहेका कुमार पोखरेललाई पुरस्कारस्वरूप त्यहाँ पठाइयो । उनी निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलका आफ्नै भाइ हुन् । गृहका इमान्दार दर्जनौं अधिकृतलाई पन्छाएर, आफैंले तयार पारेको मापदण्डलाई समेत कुल्चिएर त्यहाँ कुमारलाई पठाइँदा लाखौं रकम ‘बोलकबोल’ गरेको बिषयमा अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ स्रोतले जनाएको छ । गृह बाहिरका क्याडर उनलाई त्रिवि अध्यागमनमा पठाइनुमा दाजु गोपालकै मुख्य सेटिङ रहेको त्यहाँका कर्मचारी सुनाउँछन् । कुमार तिनै पात्र हुन्, जो श्रम विभागमा कार्यरत रहँदा अकुत आर्जनमा डामिएर साढे तीन वर्ष निलम्बनमा परेका थिए ।
विशेष अदालतका न्यायाधीशहरूसँग सेटिङ मिलाएर सफाइ पाएका उनीविरुद्ध अहिले पनि सर्वोच्चमा मुद्दा विचाराधीन छ । विशेषको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा दायर गरेको मुद्दा विचाराधीन रहेको हो । विशेषले सुनपानीले छर्किएपछि कुमार लोकसेवा आयोगमा पुगे । आयोगको दरखास्त व्यवस्थापन शाखामा २ वर्ष बढी समय बिताएका उनी लोकसेवाबाट गृहमा एक दिन पनि हाजिर नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा हाजिर हुन पुगेका थिए । युनियनका अध्यक्ष पोखरेलको ठाडो दबाबमा भाइ कुमारसहित अघिल्लो लटमा सरुवा भएका १३ जना सोही निकायमा फिट गराइएको थियो ।
निजामती कर्मचारी युनियनका पदाधिकारीहरुका अनुसार,अध्यक्ष गोपाल पोखरेल,उपाध्यक्ष उत्तम कटवाल लगायतले एजेण्ट अगाडि सारेर रकम असुली गर्ने धन्दा नै चलाएका थिए ।
गोपालका लागि अर्थ,उत्तमका लागि गृह,सामान्य र महालेखा, यज्ञको काँधमा सामान्य प्रशासन र बाग्मती प्रदेशका कर्मचारीको सरुवाको र अर्का युवा सचिव भुपेन्द्रले श्रम मन्त्रालयमातहतका कर्मचारी सरुवाको कामको जिम्मेवारी लिँदै आएका थिए ।
सरुवाको खेती गर्ने कर्मचारीमध्ये उत्तम टेकुस्थित राष्ट्रिय खोप उत्पादन केन्द्रका स्टोर शाखामा कार्यरत छन् । भुपेन्द्र वैदेशिक रोजगार कार्यालयमा कार्यरत छन् । यज्ञ शहरी अन्तरगत कार्यरत रहेका छन् ।
गर्नुपर्ने काम नगर्ने, नगर्नु पर्ने काम गरेर पछिल्लो समय कर्मचारी संगठनहरु बदनामी कमाइरहेका छन् ।