सीमामा सशस्त्रको कडाईः २४ घन्टामा साढे २ करोड बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएको छ । सो क्रममा सशस्त्र प्रहरीले करिब २४ घण्टाको बीचमा साढे २ करोडभन्दा बढी मूल्यको अवैध सामान तथा गाडी बरामद गरेको छ ।
Advertisement 1
सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान ८ बजेसम्म देशभरका सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलका विभिन्न यूनिटले २ करोड ६५ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो। जसमा कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित युनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
यसैगरी मधेस प्रदेश अन्तर्गत सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित युनिटले २४ घण्टाको बीचमा २ करोड ३६ लाख २८ हजार ८ सय १२ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलवस्तु र बर्दिया जिल्लास्थित युनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
Advertisement 2
यसैगरी सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधिमा ४ लाख ९२ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । बरामद सामानमा भन्सार छली र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवेयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत रहेका छन् । बरामद सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।