जब मूल झगडियाहरु नै रातारात मिल्न पुगे

‘कार्की’ को कटेरोमा पैसाको दुःख भएपछि एमालेका हस्तीहरू ‘लभ्ली’ तिर लागे । त्यहाँ पुगेपछि नाम लिइयो ‘शिव’ को, काम गर्यो ‘बुटी’ को
एमालेसम्बद्ध पेशाकर्मीहरूको झगडा मिलाउने अनेक सूत्र बालकोटदेखि च्यासलसम्म खोजियो । तर, भेटिएन । झगडिया कोहीभन्दा कम थिएनन् । अन्तिममा मूल झगडियाहरूलाई साइड लगाएर विवादमा नमुछिएका पात्र खोजियो । तिनैको कारण मुख्य झगडियाहरू रातारात आफैँ मिल्न पुगे । यस्तो भयो, पेशागत महासंघको चैत २३ र २४ गते सम्पन्न महाधिवेशनमा । बबरमहलस्थित कार्की व्यांक्वेटमा पुरानो पैसा तिर्न नसकेर जावलाखेलको लभ्ली व्यांक्वेटमा महाधिवेशन आयोजना गरिएको थियो । पार्टी विभाजन हुँदा एमालेलाई सबभन्दा बढी क्षति भएको मोर्चा हो, त्यो ।
Advertisement 1
पहिल्यैदेखि माधव–झलनाथ समूहको बर्चस्व हुँदा लैनचौरस्थित महासंघको भवनदेखि सबैथोक एकीकृत समाजवादीतिर गयो । एमालेसँग बाँकी थिए, त्यसका केही नेता । सिडिओसमेत भइसकेका पुण्य ढकालले नेपाल सरकारको उपसचिवबाट चैत १ गतेदेखि लागु हुने गरी राजीनामा दिएर महासंघको अध्यक्ष दावी गरेपछि माधव नेपालको पार्टी छाडेका भोला पोखरेलले पनि अध्यक्ष नै मागे । ओलीलाई अनेक अप्ठेरामा साथ दिँदै आएका केदार देवकोटा भन्दै थिए, ‘म नभए को हुन्छ ?’ हरि श्रेष्ठले भर्खरै तात्तातै माधवलाई छाडेको । ‘यता पनि नहुने भए म त्यतै बस्थेँ, किन यता ल्यायौ ?’ भन्दै उनी चित्त दुखाइरहेका थिए । यी चार भाइका झगडा कसरी मिलाउने भनेर एमाले नेताहरू तीन–हप्तादेखि उपाय खोज्दै गर्दा कतैबाट केही जोर चलेन ।
पार्टीको तर्फबाट जनसंगठन हेर्ने नेता भानुभक्त ढकाल ‘प्रेमकुमार पराजुलीलाई बनाउनुपर्छ कि क्या हो’ भन्दै थिए, भोला कराउन थाले, ‘नेता सेता भनिन्न, अहिले यहीँ मुड्की बजाउनु नपरोस् ’ यस्तो आपत आइलागेपछि पेशागत जिल्ला कमिटीका अध्यक्ष उमेश ढकालहरूले एउटा नाम सम्झाए, शिव अधिकारीको । उनी चितवनका नेता काशिनाथका भाइ । पहिलाका महासचिव । राष्ट्रिय–अन्तर्राष्ट्रिय ट्रेड युनियनबारे दखल राख्ने व्यक्ति । पार्टीको केन्द्रीय लेखा आयोगमा डा.पुष्प कँडेलका सचिव । भानुले ‘यत्तिको मान्छे त अरुले पनि मान्छन् होला हौ’ भन्दै शिवलाई ताने । यो दृश्य पुण्य, भोला, केदार र हरि एकै ठाउँ बसेर हेरिरहेका थिए । यीमध्ये एकजनाले सोधे, ‘शिवसँग किन गोप्य गरेको ?’ भानुले भने, ‘तिमीहरू कुकुर–बिरालोजस्तो झगडा गरेर मर्ने भयौ, अब यसैलाई अध्यक्ष बनाउने हो!’
यस्तो कुरा सुनेपछि जिन्दगीमा कुनै दिन, एक सेकेण्ड पनि राम्रोसँग बोलचाल नगरेका चारै जना एउटा कुनामा थुप्रिए । अध्यक्ष दावी गरेर बसेका चारैजनाले रातारात सहमति पनि जुटाए, अध्यक्षमा पुण्य, उपाध्यक्षमा हरि र भोला, महासचिव केदार † यस्तो सहमतिको समाचार सुनाउन उनीहरू बालकोट पुगे । पार्टी अध्यक्ष केपी ओलीले भानुलाई फोन गरेर भन्नुभयो, ‘यी कुकुर–बिरालो एकैचोटि यहाँ आएर हामी मिल्यौँ भन्छन् । अब यिनीहरूले भनेजस्तै गरिदिनु !’ यही सहमतिअनुसार नाम घोषणा भयो । अब बम्किने पालो आयो, डा.पुष्प कँडेलको । ‘मेरो मान्छे (शिव) लाई के गरेको ? आश किन देखाइयो, फेरि किन निराश बनाइयो ?’ भानुले जवाफ दिए, ‘नाम शिवको, काम बुटीको !’ डा.पुष्पले सोधे, ‘कसरी ?’ भानुले भने, ‘शिवको नाम लिनेबित्तिकै कहिल्यै नमिल्ने यी चारैजना आफैँ मिलेपछि के गर्नु त !’
Advertisement 2
उद्घाटन सत्रमा भने रत्यौलीजस्तो भयो । सबैलाई ११ बजे बोलाइएको थियो । प्रमुख अतिथि पार्टी अध्यक्ष केपी ओली । उहाँ उपत्यका बाहिर हुनुहुन्थ्यो । कार्यक्रम चलाउने सचिव डा.ऋषिराम पन्थीले ‘श्रद्धेय राजनेता, एमाले अध्यक्ष’ सम्म त ठीकै बोल्दै थिए । बोल्दाबोल्दै ‘पूर्वसम्माननीय प्रधानमन्त्री’ भनिदिए । सम्माननीय पूर्व कि प्रधानमन्त्री पूर्व ? सहभागीहरू गलल हाँस्दै थिए । अध्यक्ष ओलीले ३ बजे आउँछु भन्नुभएकोमा ४ बजे पुग्नुभयो । ११ देखि ४ बजेसम्मको टाइमपास गराउन संयोजक बाबुराम थापाले स्कुलका विद्यार्थी ल्याएर नाचगान, कविता, चुट्किला सुनाउन लगाए । त्यही कार्यक्रममा हो, ओलीले ‘राष्ट्रिय गानमा ट्याँट्याँ टुँटुँ राख्नुहुँदैन’ भनेको ।
उक्त महासंघ शिक्षक नेता बाबुरामको अध्यक्षतामा बसेको पहिलो बैठकले उनकै संयोजकत्वमा गठन ग¥यो, दोस्रो बैठकले विघटन ग¥यो । बीचमा सारा गतिविधि शून्य सहसंयोजक थिए, पूर्वमाओवादी दयाराम बस्याल । उनलाई महाधिवेशनबाट केही पदमा नराखी हटाइयो ।