जनमैत्री एवं कर्मचारी मैत्री योजना मार्फत पहिलो नम्बरको संगठन निर्माण गर्नेछौं

भूमिकाः
जहाँनिया राणा शासनको अन्त्य,निरंकुश पञ्चायती व्यवस्था परिवर्तन गरी प्रजातन्त्रको पूनर्वहाली, पेशागत हकहितका लागि गरिएको छट दिने आन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि चालिएका कदमहरुमा कर्मचारीहरुले पुर्‍याएको बलिदानीपूर्ण संघर्षको उच्च सम्मान गर्दै २०६३ सालमा राजाद्धारा पुन स्थापित संसदबाट सर्वसम्मत पारित संकल्प प्रस्तावको जगमा नेपालमा स्थापीत सरकारी कर्मचारीहरुलाई प्राप्त ट्रेड युनियन अधिकारको प्रयोग गर्दै विगतमा खुलेका ट्रेड युनियनहरुको अराजक शैली र दलाली प्रवृत्ति विरुद्धमा खरो उत्रिन संगठित भई मिति ०७८ चैत्र १४ गते गौरवशाली ट्रेड युनियनका रुपमा एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल स्थापीत भई छोटो अवधिमा क्रियाशिल भइरहेको प्रभावकारी संगठन हुन सफल भएको छ ।
यहि संगठनले छोटो अवधिमा नै १२ वटा सचिवालय,३ वटा केन्द्रिय आयोजक कमिटिको पूर्ण बैठक सम्पन्न गरी विभिन्न जनमैत्री कार्य जस्तो जनतासँग कर्मचारी आषाढ १५ (धान दिवस) वृहत स्वास्थ्य शिविर, जाडो प्रभावितलाई न्यानो कपडा वितरण लगायत जनमैत्री सेवामुलक कार्यक्रम तथा कर्मचारीहरुको विभिन्न खाले समस्या समाधान र खबरदारीका कार्यक्रमहरु मार्फत कर्मचारी र सदस्यहरुको सेवा गर्दै आएको विषय सगौरव प्रस्तुत गर्दै आगामी दिनमा सम्पन्न गरिने कार्ययोजना समेत निकट आएको फागुन २६ र २७ मा हुने राष्ट्रिय अधिवेशनका सन्दर्भका प्रभावकारी योजना निर्माण गर्दै संगठनलाई अन्य जिम्मेवार ट्रेड युनियनका रुपमा स्थापित गर्ने तयारी भैरहेको छ ।
जनतासँग कर्मचारी अभियान मार्फत नागरिक सेवाः
विगतमा समेत जनतासँग कर्मचारी अभियान मार्फत कार्य गरेको विषय माथि नै संक्षेपमा प्रस्तुत गरेको छु । सोही अभियानलाई विस्तार गर्ने कर्मचारीले नागरिकलाई प्रदान गर्ने सेवामा समेत सजग बन्दै क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागु गर्न सरकारलाई दवाव गर्दै त्यसको अगुवाई र कार्यान्वयनमा यस संगठनले नेतृत्व लिनेछ । यस कार्यलाई मूर्तरुप प्रदान गर्नका लागि कम्रिमा हाम्रो संगठनका सदस्यहरुलाई परिचालित र उत्प्रेरित गरिनेछ जसबाट ट्रेड युनियन तथा कर्मचारीप्रतिको जनविश्वास वृद्धि गर्न पहल गर्नेछौं ।
साँगठनिक पहिचान सहित भ्रष्टाचारमा शून्य सहनशिलता अंगिकारः
हाम्रो गौरवशाली संगठनमा आवद्ध सम्पूर्ण कर्मचारीहरुलाई कार्यस्थलमा पहिचान खुल्ने लोगो संकेतको प्रयोग गर्न उत्प्रेरित गरी भ्रष्टाचारजन्य गतिविधिमा कुनै पनि प्रकारको संलग्न हुनबाट निरुत्साहित गर्दै भ्रष्टाचारमा शून्य सहनशिलताको सिद्धान्त अंगीकार गरिनेछ । यसलाई सार्थक पार्नका लागि खबरदारी समेत गर्ने गरी ध्बतअजमयन संयन्त्रको विकास गरिनेछ । सार्वजनिक प्रशासनलाई सुद्धढ, सक्षम, गतिशील प्रभावकारी, जनमुखी एवं लोकतान्त्रिक बनाउँदै नागरिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त, मितव्ययी, जवाफदेही र नागिकमैत्री तुल्याई सरकारी सेवामा नैतिकता र सदाचार प्रवर्द्धन गर्ने संगठनको विधानले गरेको प्रतिवद्धतालाई पूरा गर्नेछौ ।

Advertisement 1

प्रभावकारी सेवा सम्बन्धी कानुनहरु मार्फत प्रशासनिक संघीयता कार्यान्वयनः
राजनीतिक संघीयताको कार्यान्वयन भएको कैयौ वर्ष वितिसक्दा समेत प्रशासनिक संघीयताको कार्यान्वयन र अभ्यास गर्नुपर्ने कर्मचारीसम्बन्धी कानून नबनेको दुर्भाग्यपूर्ण अवस्थालाई चिर्दै कर्मचारीहरुको स्थायी व्यवस्थापन गर्न कानून निर्माण लागू र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नेछौ त्यस्ता कानून बनाउँदा कर्मचारीहरु उत्प्रेरित हुने, वृत्ति विकास, सेवा शर्तका सुरक्षा, ट्रेड युनियन अधिकारको सुनिश्चित गर्दै सुविधाहरुमा विस्तार, स्थायीत्व, प्रणालीबद्ध र प्रभावकारी कल्याणकारी योजनाका लागि निरन्तर खबरदारी गर्नेछौ । तिनै तहका कर्मचारीलाई फरक फरक परिभाषामा नराखी एकै परिभाषा भित्र राखी एक तहले अर्को तहप्रति उचनिचको भावना नराखी एक अर्को आदर र सम्मान भाव पैदा गराउने गरी कानून निर्माणमा सजगता र खबरदारी गर्नेछौ । हाम्रो संगठनको नाम जस्तै सबै तह र सेवाका कर्मचारीहरुलाई एकिकृत गर्ने गरी कार्ययोजना निर्माण गर्नेछौ । करारीय प्रथा जस्तो सामन्ती प्रथाको अन्त्यका लागि विशेष व्यवस्था गरी करारमा वर्षौ कार्यरत कर्मचारीको नवरोजगारी वा स्वरोजगारी छनौटको मापदण्ड तयार गरी आफूलाई फरक (कमजोर) दर्जाको कर्मचारी बनीरहनुपर्ने तितो अनुभव समाप्त गर्नेछौ ।

उत्प्रेरित सदस्य, सुदृढ र समृद्ध संगठनः
हामीले संगठन निर्माणको क्रममा छौं केही जिल्ला विभागहरुमा अभियान लिएर हामी पुग्न नसक्दा सदस्यहरु जोडिन उत्प्रेरित हुन नसकेको यथार्थको धरातलमा टेक्दै हाम्रो संगठनमा आकर्षण र उत्प्रेरणाकालाई हाल रहेको सामाजिक सुरक्षाको विषयलाई अझ विस्तार गर्नेछौ, रु एक सय तिरेर १ लाखसम्मकोसम्मको सदस्य कल्याण योजनालाई कल्याणकारी कोषको वृद्धि सँगै योजनाको रकम पनि वृद्धि गर्दै लगिनेछ । साथै सरकार सँगको सौदावाजीलाई निरन्तरता दिई करार ज्यालादारीमा कार्यरत सदस्यहरुको तथा अन्य स्थायी कर्मचारीको सुविधाहरु वृद्धि गर्ने दिशामा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछौ। नयाँ सदस्यता प्रदान गर्ने तथा पुराना सदस्य नविकरण गर्ने विषयलाई डिजीटल प्रविधिको प्रयोग मार्फत व्यवस्थित र सरल बनाई स्थायी श्रोत बढाइनेछ ।संगठनका लागि स्थायी श्रोतको सुनिश्चितता गरी तदर्थरुपमा गरिएको केन्द्रिय कार्यालय व्यवस्थापनलाई आफ्नै श्रोतमा आवश्यक कर्मचारी सहित निरन्तर सञ्‍चालन गर्नेछौं । यसका लागि आर्थिक श्रोतका नविनतम संभावनाहरुको पहिचान गरी संगठनलाई समृद्ध बनाइनेछ ।
सरुवा लगायतका गुनासो व्यवस्थापनका लागि ट्रेड युनियन अधिकारको प्रयोगः
अहिले अधिकांश ट्रेड यूनियनका पदाधिकारी सदस्यहरुको प्रमुख कार्य सरुवा व्यवस्थापन लगायतका गुनासोहरुमा नै केन्द्रित हुने गरिएको छ । सरुवालाई व्यवस्थापन गर्न नसक्दा मन्त्री र सांसदहरु, पार्टिका शिर्ष नेताहरु समेत सरुवामा लाग्नुपर्ने परिस्थितिमा सामान्य कर्मचारीको गुनासो व्यवस्थापन चुनौती नै बनेको छ । हामी सरुवालाई बैज्ञानिक बनाउन सबै केन्द्रिय निकायहरुमा मापदण्ड निर्माणमा खबरदारी गर्नेछौं । तत्पश्चात तिनै मापदण्डहरुका आधारमा गुनासो सुनुवाई र समाधान गर्नेछौं । आगामी वर्षहरुमा आउने सबैखाले गुनासो अभिलेखीकरण गर्दै क्रमशः न्यूनीकरण गर्दै शून्यमा भरिनेछ । यो विषयलाई संगठनको बैठकहरुमा नियमित प्रगतिको रुपमा प्रतिवेदन गर्ने प्रणाली स्थापना गर्नेछौं । यसै गरी राष्ट्रिय स्तरका ट्रेड युनियहरुको कार्य सचेतनामा आधारित क्रियाकलापमा संलग्न रहने र छाता संगठनका रुपमा रहने आधिकारिक ट्रेड युनियनले मापदण्ड पालना लगायतका सौदावाजी गरोस यसका लगि आधिकारिक ट्रेड युनियनले प्रयाप्त छलफल र निष्कर्षका आधारमा श्रम कानून बमोजिम सौदावाजी गर्ने प्रणाली स्थापना हुनुपर्छ भन्ने हाम्रो मान्यता रहनेछ यसका लागि तत्काल आधिकारिक ट्रेड युनियनको निर्वाचन हाम्रो प्रमुख मुद्दा रहने छ।
अन्तमाः
जनताको मन जित्‍ने गरी जनमैत्री कार्य गर्न भ्रष्टाचारमा शून्य सहनशिलता अंगिकार गर्ने कर्मचारीहरुको नेतृत्व गर्ने र उनीहरुलाई सकेसम्म रुची अनुसारको कार्यमा लगाई कामका आधारमा सुविधा र कल्याणकारी योजना ल्याउन पहल गर्दै गुनासो सुनुवाईको प्रभावकारी संयन्त्र बनाउने एवम् सामूहिक सौदावाजी मार्फत पहिलो नम्बरको ट्रेड युनियन बनाउने गरी माथिका योजनाहरु कार्यान्वयन गर्नेछौं ।

Advertisement 2

 

प्रकाशित :२०७९ फाल्गुन २६, शुक्रबार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry