मन्त्रीलाई उन्मुक्ति, सहसचिवविरुद्ध साढे ५ करोडको भ्रष्टाचार मुद्धा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनजना विरुद्ध ५ करोड ४५ लाख ५२ हजार ६७१ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय,गोरखाका सीडीई ओमराज ढुंगानाविरुद्ध समेतले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा आइतवार विशेष अदालतमा दायर गरिएको हो।
Advertisement 1
गोरखाको गोरखा नगरपालिका–३, जरेवरस्थित दरौंदी नदीमा वारिपारि बाटो नै नभएको ठाउँमा पुल निर्माण गरिएको थियो । गोरखा–३ नारेश्वर र सिरानचोक–५ जरेबर जोड्न दरौंदी नदीमाथि वरिपारि बाटो नै नभएको स्थानमा पुल बनाइएको थियो । सोही पुल निर्माणमा अनियमितता भएको ठहरसहित सहसचिव र दुई उपसचिवविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास मन्त्रालयका सहसचिव ईश्वरचन्द्र मरहट्टासहित तीनविरुद्ध विशेष अदालतमा मुद्दा चलाउँदा यो प्रकरणमा प्रयत्क्ष जोडिएका मन्त्री र उपसचिवलाई उन्मुक्ति दिइएको छ ।
Advertisement 2
गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको आफ्नो खेतमा पुल बनाउन योजना पारिएको थियो । यो प्रकरणमा मन्त्री र उपसचिवलाई उन्मुक्ति दिएर सहसचिवसहितका अन्य तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा चलाइएको हो । बाटो नै नभएको स्थानमा पुल बनाउँदा राज्यको करिब साढे ५ करोड रुपैयाँ दुरुपयोग गरेको कसुरमा अख्तियारले मरहट्टा, गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका उपसचिवद्वय रामकुमार श्रेष्ठ र ओमराज ढुंगानाविरुद्ध आइतबार मुद्दा दायर गरेको हो । मरहट्टा पछिल्लो सरुवामा संघको सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागको महानिर्देशक बनाइएका छन् । अरू दुई जना प्रदेश मन्त्रालयमै कार्यरत छन् ।
यो प्रकरणमा सिनियर डिभिजनल इन्जिनियरद्वय राम पराजुली, दयाराम अधिकारी तथा परामर्शदाता कम्पनी कार्ड कन्सल्ट प्रालिका प्रबन्ध निर्देशक सागरप्रसाद मुल्मीलाई पनि उन्मुक्ति दिएको छ ।