लड्दै र पढ्दै अघि-अघि बढ्दै

मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो ‘इतिहास’ । मान्छेले सबै चिज भुल्न सक्छ तर कदापी पनि भुल्न सक्दैन आफ्नो विगत । कहाँ भुल्न सकिन्छ र त्यो कहालीलाग्दो विगत । सम्झिरहेछु, विगतका ती अप्ठ्यरा गल्छेडाहरुमा हात छाड्ने,खुट्टा तान्ने आफ्नै भनिएका ती प्रिय मान्छेहरु !
Advertisement 1
जीवनका अप्ठेराहरुमा तिनैले दिएका घात र प्रतिघातका कारण आज यो ठाउँमा उभिन सफल भएका छु । यो जमिन बनाउन सफल भएको छु । मेरो नाम रञ्जय मेहत्ता,जन्मिए हुर्किए मधेशको सुनसरीमा । साविक मध्यहर्षाही वडा ५ मा जन्मिए अत्यन्त निम्न बर्गमा परिवारमा जन्मिएको हुँ । परिवारको हात मुखको बाटो थियो कृषि । बिहान खाए बेलुका के खाउँ,साँझ खाए बिहान के खाउँ को पिरलोले टोकिरहन्थ्यो बुवा आमालाई । नजिकबाट देख्थें ती सबै पीडादायी घटना । परिवारको आयस्रोतको अन्य माध्यम नभएको र कृषिमै आश्रित हुँदा पढ्ने र पढाउनेतिर परिवारको खासै रुची थिएन । विदेश जाने पैसा कमाउने, घरको काम गर्ने लगायतका कुराहरु दिमागमा डेरा जमाइरहेको थियो । यद्यपि ती अप्ठेरा पहाड र समस्याहरुलाई चिर्दै जेनतेन पार लगाए एसएलसी तह,२०६७ सालमा । देवानगंज माध्यमिक विद्यालय सुनसरीबाट एसएलसी उत्र्तीण भए । पढ्ने र केही गरेर गाउँ समाजमा देखाउने उत्कट चाहना थियो । अत्यन्त कष्टकर परिस्थितीसँग लड्दै दुई बर्ष पछि नै अर्थात ०६९ सालमा हरिनगरा उच्च माध्यमिक विद्यालयबाट प्लस टु पार लगाए । जीवनमा जे कुरा छैन/हुँदैन अक्सर उसैले डसिरहन्छ मान्छेलाई ।
पैसाको अभावले सदैव पिरोलिरहन्थ्यो म र मेरो सिङ्गो परिवारलाई । प्लस टु मात्र उत्र्तीण गरेर केही हुनेवाला थिएन । सर्टिफिकेट सिरानीमा राखेर सुत्ने बोहक । उच्च शिक्षा पूरा गर्न घिडघिडो थियो । जसरी पनि मलाई विविएस पढ्नु थियो । समाजमा केही गरेर देखाउनु थियो । आर्थिक अभाव पूर्तिका लागि र उच्च शिक्षा पूरा गर्न अभिलाषा पूरा गर्न होमिए पत्रिका वितरक अर्थात हकरको रुपमा । विराटनगरको एउटा स्थानीय पत्रिका थियो त्यो । तलब मासिक एक हजारबाट रुपैंया तोकिएको थियो । पत्रिका वितरण गर्दाको पल सम्झिदा स्राहै नमज्जा लागेर आउँछ । समयमा तलब नपाउने,महिनाभरीको श्रमको ज्याला माग्दा उल्टै गाली खानुपर्ने दिन सम्झदा अहिले पनि पीडा लाग्छ । पत्रिका वितरक बन्दाको दुख र सास्तीपछि त्यसलाई त्यही पूर्ण विराम लगाएर अर्काे जागिरमा लागें,जागिर थियो सहकारीमा । घर घरमा पैसा बटु्ल्दै हिड्नुपर्ने । एउटा सहकारी संस्थामा पैसा संकलन र कार्यालय सहयोगीको रुपमा काम प्रारम्भ गरे,तलब १५ सय भनिएको थियो । सहकारीमा मात्र गर्दा त्यसले झनै संघर्ष गर्न सिकायो । ०७० सालमा बिबिएस तहमा भर्ना भए । कहाँ पुग्न सक्छ र मान्छे यो दुनिँयामा न टेक्ने हाँगो र समाउने हाँगो भएपछि ? कुवाको भ्यागूतो कुवामै भनेझैं हुँदो रहेछ ।सहकारीमा कार्यरत थिए,कसैले सुनायो लोकसेवाको तयारी कक्षामा पढेर लोकसेवा भिडेर नाम निकालेको खण्डमा सरकारी सिन्दुर लगाउने अवसर मिल्न सक्छ । पानीमा डुब्न लागेको मान्छेलाई सिन्काको पनि साहारा,भरोसा हुन्छ भन्छन् । त्यस्तै भयो मेरा लागि पनि लोकसेवा ।
Advertisement 2
लोकसेवा तयारी कक्षाबारे जानकारी पाए,लोकसेवा तयारी त गर्ने तर समस्याको अजंगको पहाड बनेर अगाडि उभियो, पैसा । कसले बनायो होला यसरी पाइला पाइलामा समस्या बनेर उभिने पैसालाई ? लोकसेवा तयारीका लागि आवश्यक रकम जुटाउन धेरैसँग ऋृण मागियो,कसैले पत्याएनन् । भगवानले भन्छन रे,तँ आँट म पु¥याउँछु,त्यही पैसाको जोहो गर्नका लागि म्यादी प्रहरीमा भिडे । नाम निस्कियो पनि,हर्षको सीमा रहेन । एक/ दुई महिनाको म्यादी प्रहरीको जागिर । त्यो जागिरमा छँदा प्रहरीका बर्दीधारीहरुले एउटा युवालाई गरेको डिमोटिभेट सम्झदा अहिले पनि साह्रै नमज्जा र नमीठो लाग्दछ । ७० सालमै वन रक्षकको परीक्षा दिए । दैनिक १२ देखि १४ सम्म अध्ययनमै रटिन्थें । आशा थियो नाम निस्किहाल्छ तर मेरो हातमा असफलता लाग्यो । दिनको तीन वा चार घण्टाभन्दा बढी समय नपढ्ने साथीहरुले वन रक्षकमा नाम निकाल्न सफल भए । सँगैका साथीहरु सफल भए,आफू असफल ती साथीहरुले गर्ने व्यग्यवाणले झनै इखालु बनायो । भन्छन नि इख नभएको मान्छे र बिष नभएको सर्प काम छैन । त्यही ईख लिएर आफैंकमा झन झन उर्जा भरिरहे र लगातार संघर्ष गरिरहे, लागिरहे ।
Advertisement 3
भन्छन निरन्तरको नदीको बहावले ठूल्ठूला चट्टान त पगाल्न सकिन्छ भने प्रयास गरेको खण्डमा नहुने र नमिल्ने केही छैन । मनमा सकरात्मक उर्जा लिएर लगतार प्रयास गरिरहें र ०७१ सालमा पूर्वाञ्चलबाट नायब सुब्बा पदमा नाम निकाल्न सफल भइयो । त्यो पनि मधेशी कोटामा १ नम्वरमा । यसरी अथक मेहनतबाट,एउटा हकर केटो नायब सुव्वा बनें । मेरो पहिलो पदस्थापन लेखापालको रुपमा जिल्ला शिक्षा कार्यालय, संखुवासभामा भयो । पहिलो नियुक्ति पाएको पल सम्झदै भावुक भइयो । मेरा नाता गोता,अग्रजहरु भन्दथें यसले जीवनमा केही गरि खान सक्दैन । अहिले तिनै व्यक्तिहरु उत्प्रेणाको स्रोत भन्न थालेका छन् । दुनिँया नै जित्नेहरुको हो, उनीहरुको लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ, इतिहासको पानामा । कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, कसैले खोज्दैनन् हार्नेहरूलाई । अक्सर हामी एक÷दुईवटा असफलताबाटै निराश हुन्छौं र मोड्छौं जीवनको बाटो । तर, जीवनका परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ असफलतासँग । भन्छन्, जीवन नियममा होइन संयोगमा हुन्छ । अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको संघर्ष कमैले मात्र देख्दैनन् । सरकारी नियुक्ती पाएपछि खासै पछाडि फर्केर हेर्नु परेन । आर्थिक रुपमा जीवन अलि सहज हुन थाल्यो । तीन बर्ष पछि अर्थात ०७३ सालमा बीबीएस तहको परीक्षा पार लगाए ।
स्नातक तह उत्र्तीण भए पछि शाखा अधिकृतको परीक्षा भिड्ने सोच बनाए । विज्ञापन खुले पछि परीक्षा थिए । तर दुर्भाग्य एक पटक होइन दुई दुई पटकसम्म शाखा अधिकृतको पहिलो पेपरमा नै असफलता हात लाग्यो । त्यही असफलताले केही पाठ सिकायो र आफ्नो कमजोरिको सूक्ष्म तरिकाले मनन गरेँ । मन हो,कहिलेकाहि एक मनमा लाग्थ्यो कि अधिकृत तह पास गर्न सकिन्न,जीवनभरै । दुई पटकसम्म पहिलो पेपर नै मेरो लागि तगारो बनेर उभिएको थियो । बीचमा कोभिडका महामारीका कारण अफिसरको परीक्षा हुन सकेन । फेरि अदालती मुद्धा परेर विज्ञापन अझैं लब्मियो ।
७८ सालमा लोकसेवाले खुलाएको अधिकृतको विज्ञापनको पहिलो पेपरमा उत्र्तीण भए । अब भने मनोवल अलि उचों भयो । लोकसेवा आयोगल हालै विज्ञापन नम्बर १६६९५ –०७७/७८ प्रशासन सेवा,लेखा समूहतर्फको नतिजा सार्वजनिक हुँदा अधिकृतका सबै तहका ढोका पार गरेर संघीय सरकारको शाखा अधिकृतको रुपमा उत्र्तीण भएका छन् । संघर्षको भट्टीमा खारिएर दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल भएका छन्,जीवनको यी प्रारम्भिक यात्रा हुन । संसारमा सबै कुरा खानु तर हरेश नखानु भन्छन् । निरन्तर बगिरहनुपर्दछ,लागिरनुमात्र पर्दछ सत्कर्ममा । जसरी लगातार नदीको बहावले ठुल्ठूला चट्टानलाई पगाल्छ,उसैगरी सफलतालाई प्राप्त गर्न सकिन्छ । निरन्तरको संघर्ष,मेहनत र सत्कर्म गर्ने हो भने उसका अगाडि सफलतालाई पनि पग्लन करै लाग्छ,जसरी नदीको बहावले पग्लन्छ, चट्टान ।
रञ्जयकुमार मेहता
शाखा अधिकृत, व्याट ३६