कार्यसम्पादन मूल्यांकनमा रसुवाका पाँच पालिका :- उत्तरगया अगाडि,कमजोर नौकुण्ड
कार्यसम्पादन मूल्याङ्कनका आधारमा रसुवाका पाँचैवटा पालिकाको अवस्था मध्यम देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा आधारमा रसुवाका गोसाइकुण्ड,आमाछोदिङ्मो,उत्तरगया,कालिका र नौकुण्ड कुनै पनि पालिकाले ६० अंकभार कटाउन सकेका छैनन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/ ८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ । देशभरिका ७५३ पालिकाको आयोगले कार्यसम्पादन स्तरको रिर्पोट सार्वजनिक गरेको हो ।
सो रिर्पोटका आधारमा रसुवाका पाँच पालिकामध्ये सबैभन्दा अब्बल उत्तरगया गाउँपालिका देखिएको छ । उक्त पालिकाले ५९ दशमलव ४४ अंक पाएको छ ।
Advertisement 1
यस्तै कालिकाले ५४ दशमलव ६० अंक पाएको छ भने गोसाइकुण्ड गाउँपालिकाले ५३ दशमलव ७२१५ अंक पाउँदा आमाछोदिङ्मो गाउँपालिकाले ४७ र सबैभन्दा कम अंक नौकुण्ड गाउँपालिकाले ४५ दशमलव ५७ अंक पाएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार स्थानीय सरकारले ऐनअनुसार १० असारभित्र सम्बन्धित गाउँ नगरसभामा बजेट पेस गर्नुपर्छ । त्यसो भए वा नभएकालाई एक सूचक मानिएको छ । बजेट असार मसान्तभित्र पास गर्नुपर्छ । गरे वा नगरेको विषय अर्को सूचक हो ।
Advertisement 2
स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे वा नगरेकालाई समेत सूचक मानिएको छ । आगामी आव २०८० ८१ को आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए वा नपठाएकालाई समेत अर्को मूल्याङ्कनको आधार मानिएको छ । यसका अलवा लेखा परीक्षण, आवधिक योजना, सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको सङ्ख्या, गर्भ जाँच गर्ने महिलाको सङ्ख्या, स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या, बालबालिकाको सङ्ख्या, पूर्ण खोप लगाएका बालबालिकाको सङ्ख्या समेतलाई मूल्याङ्कनको आधार बनाइएको छ ।