विचौलियामुक्त बन्दै वैदेशिक रोजगार कार्यालय :- अनलाइनबाटै दैनिक तीन हजारलाई सेवा
मूल सफा भए न तल सङ्लो पानी बग्ने हो । मूलै फोहोर भएको खण्डमा धाराबाट सफा पानीको अपेक्षा गर्नु नै बेकार !
Advertisement 1
निजामती क्षेत्रमा केही यस्ता सुधारवादी प्रशासक छन्,जो जागिरे जीवनका सिलसिलामा जहाँ पुग्छन् त्यही मन,वचन र कर्मले केही न केही सुधारका यत्न गरिरहन्छन् । सचिवमा बढुवा भएसँगै केही समय काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चलाएका उनी केही समय संघीय मामिला तथा सामान्य प्रशासनको कमाण्डर हुँदै अहिले श्रम सचिवको जिम्मेवारीमा छन्,एकनारायण अर्याल ।
त्यहाँ काविल प्रशासकहरुको टिम बनाउँदै सुधारका कामहरु धमाधम गर्दै छन् । विशेष गरी श्रम कार्यालयमा हुने विचौलियाहरुको प्रभावलाई रोक्न र सेवाग्राहीको छिटो छरितो काम गर्ने पवित्र उदेश्यले श्रम मन्त्रालयमा समेत अनलाइन प्रणालीबाटै काम तमाम हुने गरी प्रविधिमैत्री बनाउने प्रयत्न गरे । यस्तो प्रयत्न उनी हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हुँदा पनि गरेका थिए । यसरी अनलाइनबाटै सरुवा प्रणाली प्रारम्भ गर्दा कतिपय विचौलियाको दाना,पानी नै सुक्न पुगेको थियो ।श्रम कार्यालय पूर्णत अनलाइन प्रणालीमा गएसँगै अहिले विचौलियामुक्त बन्न पुगेको छ । हिजो सेवाग्राहीलाई ताहाचल चोकदेखि नै तान्न आउने विचौलियाहरु आज उठिबास लागेको सेवाग्राहीले अनुभव गरेको बिषय हो । उक्त कार्यालयमा सेवा प्रवाह अनलाइनबाट सुरु भएसँगै काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसर सुनसान हुन थालेको छ ।
Advertisement 2
वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति र पुन श्रम स्वीकृतिका लागि कार्यालयमा जानै पर्ने बाध्यतालाई हटाउँदै सरकारले श्रम स्वीकृति र पुन श्रम स्वीकृति अनलाइनबाट दिन थालेपछि कार्यालयमा हुने भीड हटेको छ । कार्यालयले गत वर्षदेखि नयाँ श्रम स्वीकृति अनलाइनबाटै जारी गर्दै आएकोमा यही माघ २ गतेदेखि पुन श्रम स्वीकृती पनि अनलाइनबाटै दिन थालेको हो । हाल दैनिक तीन हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुन श्रम स्वीकृती लिएको कार्यालयका प्रमुख केशव प्रसाद बिमलीले इकर्मचारी डटकमसँग बताएका छन् ।
कुनै बेला निकै भीडभाड हुने कार्यालय अनलाइनबाट सेवा प्रवाह शुरु भएसँगै सुनसान भएको उनले जनाएका छन् । पहिला ताहाचल चोकदेखि श्रम कार्यालयको ढोकासम्मै सेवाग्राहीको लाइन रहदै आएकोमा अहिले दैनिक कम्तिमा तीन हजार बढी सेवाग्राहीले अनलाइनबाटै सेवा लिने गरेको कार्यालय प्रमुख विमलीले जनाएका छन् । उनका अनुसार केही समस्या देखिएपछि बढीमा दैनिक १५ जना मात्र कार्यालयमा आउँछन् । जसमध्य अनलाइन विवरण भर्दा नबुझिने र अस्पष्ट गरी विवरण पेश गरेका, कहिले कही सर्भरमा देखिने समस्या, ल्याप्चे हान्दा र दुवै कान नदेखिने फोटा अनलाइनमा पेश गर्दा उनीहरु कार्यालयमा आउनु परेको हो ।
Advertisement 3
यता म्यानपावर व्यवसायीको लुट र ज्यादतीका कारण कर्मचारीहरुले गाली खाइरहेको कर्मचारीहरु सुनाउँछन् । खाने बाटो सुके पछि कतिपय म्यानपावर व्यवसायीले जानी जानी सेवाग्राहीको पूर्ण विवरण पेश नगर्ने समेत गर्दै आएको कर्मचारीहरुको आरोप छ । कार्यालयले तोकेको फारामको शुल्क तीन सयमात्र भए पनि कतिपय म्यानपावर कम्पनीहरुले ५ हजारसम्म असुली गर्दै आएको भेटिएको त्यहाँका कर्मचारीहरुले सुनाएका छन् । कार्यालयका अनुसार बीमाको लागि ३५ सयदेखि उमेर अनुसार ५ हजारसम्म तोकिएको छ । कथं कदाचित वैदेशिक रोजगारीमा गएर मृत्यु भएको खण्डमा बीमा कम्पनीले १४ लाख भुक्तानी गर्ने छ । यस्तै,कल्याणकारीको लागि १५ सय तोकिएको छ । कार्यालयले बीमा, कल्याणकारी र ओरेन्टेशन क्लासको शुल्कबाहेक अतिरिक्त रकम नबुझाउन सेवाग्राहीमा अनुरोध गरेको छ ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले जिम्मेवारी सम्हालेलगत्तै सुचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहजरूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएका हुन । श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाई छिटो, छरितो र पारदर्शीरुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुन श्रम स्वीकृतीको काम गरिएको निर्देशक बसन्त बहादुर वोहराले बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुन श्रम स्वीकृतीको काम अनलाइन प्रणालीबाट मात्र गरिएको वोहराले सुनाए ।
अनलाइन प्रविधिका माध्यमबाट श्रम स्वीकृति प्रदान गर्न थालिएपछि वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलको परिचय नै बदलिएको कार्यालयले जनाएको छ । सेवाग्राहीले पेश गर्ने कागजातका आधारमा श्रम स्वीकृति प्रदान गर्दा हुने गरेकोे अनुचित लेनदेन, दबाब, दुराचार र भ्रष्टाचारका कारणले मुलुकमै भ्रष्ट कार्यालय र भ्रष्ट कर्मचारीको बद्नाम छवि बनाएको उक्त कार्यालयमा त्यही काम प्रविधिको प्रयोग गरेर गर्दा सुधार अनपेक्षितरूपमा छिटो देखिएको छ । श्रम स्वीकृतिको सेवा प्रवाहमा गरिएको सुधारले नेतृत्वले चाहेमा परिवर्तन सम्भव छ भन्ने सन्देश पनि उक्त कार्यालयले दिएको छ ।
कुनै समय घुस नदिई कामै नहुने भन्ने कार्यालयको रुपमा बदनामी कमाएको सो कार्यालयमा पहुँच भएका कर्मचारी उक्त कार्यालय जान मरिहत्ते गर्ने गर्दथे । अनुचित लाभका सबै श्रोत अनलाइन प्रणालीले बन्द गरिदिएपछि इमान्दार र शुसासनमा रूची राख्ने कर्मचारीहरू मात्र उक्त कार्यालय जाने वातावरण बनेको छ । प्रविधिको प्रयोग गरी श्रम स्वीकृति दिन थालिएपछि सबै काम अनलाइनबाट हुने गरेकोे छ । पहुँच र लेनदेनका आधारमा छिटो काम गरिदिने र एकअर्काको पालो मिच्ने प्रवृत्ति रोकिएको छ । भौतिकरूपमा सेवाग्राही उपस्थित नहुने भएपछि उक्त कार्यालय आजभोलि सुनसान बनेको छ । कार्यालयले विगतमा अत्यधिक हुने भिडभाडका कारण श्रम प्रतिनिधि बस्ने बेन्च, पिउने पानी, फ्रि इन्टरनेट जस्ता सुविधा उपलब्ध गराएको थियोे ।
सेवाग्राहीको उपस्थिति लगभग शुन्यको अवस्थामा पुगेपछि विगतमा तयार पारिएका ती भौतिक संरचनासमेत अनावश्यक देखिन थालेका छन् ।