रसुवागढी नाकाबाट आयात हुन थाल्यो

चिनियाँ नयाँ वर्षका कारण बन्द गरिएको रसुवागढी नाका बुधबारदेखि खुला गरिएको छ । ल्होसार पर्व अर्थात् चिनियाँ वर्षका कारण माघ ६ गतेदेखि रसुवागढी नाकाबाट सामान आयात तथा निर्यात रोकिएको थियो ।

Advertisement 1

चिनियाँ नयाँ वर्षका कारण रोकिएको सामान बुधबार बिहानदेखि आउन थालेको भन्सार कार्यालयले जनाएको छ । बुधबार बिहान ७ वटा र साँझ ७ वटा गरी १४ वटा चिनियाँ कन्टेनर सामान आयात गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

ल्होसार पर्व अर्थात् चिनियाँ नयाँ वर्षका कारण १२ दिनदेखि आयात रोकिएको थियो । चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

Advertisement 2

अहिले नाकाबाट दैनिक रुपमा १४ कन्टेनर मात्र सामान आयात भइरहेको छ । यस्तै नेपाली सामान पनि चीनतर्फ निर्यात हुन थालेको एक महिना पूरा भइसकेको छ । तीन वर्षपछि गत पुस १२ गतेदेखि मात्रै चीनतर्फ सामान निर्यात हुन थालेको थियो ।

निर्यात खुलेपछि अहिलेसम्म नेपालबाट ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भइसकेको बताइएको छ । रसुवागढी नाकाबाट अहिलेसम्म करिब ७ करोड मूल्य बराबरको ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भएको रसुवा भन्सारले बताएको छ ।

Advertisement 3

रसुवागढी–केरुङ नाकाबाट हुने व्यापारमा पनि चीनले लामो समय रोक लगाएको थियो । कोभिड महामारीपछि ठप्प प्रायः रहेको उक्त नाका गत पुस दोस्रो साताबाट खुलेको थियो तर व्यापारमा भने उल्लेख्य सुधार देखिँदैन ।

नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ ।

दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुई भन्सार नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी स्वभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्यप्रगति नगण्य छ ।

सामान्य अवस्थामा दुई देशबीच वार्षिक रु साढे दुई खर्बभन्दा बढीको वैदेशिक व्यापार रहेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ तर चीनसँगको व्यापारमा जोडिएका नेपालका दुई भन्सार कार्यालय तातोपानी र रसुवागढीको अवस्था पछिल्ला वर्षहरुमा निकै कमजोर छ ।

विसं २०७२ को भूकम्पपछि थलिएको सिन्धुपाल्चोकको तातोपानी नाका अझै लयमा फर्किन सकेको छैन । भूकम्प अघि वार्षिक रु डेढ खर्ब बराबरको कारोवार तातोपानी भन्सार बाट हुन्थ्यो । जसबाट सरकारले वार्षिक करिब रु छ अर्ब राजस्व उठाउने गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।

चालु आर्थिक वर्षको पाँच महिनाअर्थात् गत मङ्सिर मसान्तसम्ममा तातोपानी भन्सारबाट रु चार अर्ब ४२ करोड २४ लाख २३ हजार बराबरको वस्तु आयात भएको देखिन्छ । नेपालबाट चीनमा हुने वस्तु निर्यात भने शून्य छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीका अनुसार अहिले त्यहाँ मासिक औसत २४ करोड बराबर राजस्व उठ्ने गरेको छ । ‘अहिले दैनिक तीनवटासम्म कन्टेनरमा सामान चीनबाट आउने गरेको छ । चीनबाट मुख्य गरी स्याउ नेपाल आउँछ । अरु व्यापारिक सामान आएका छैनन्’, उनले भने ।

नेपालबाट चीनमा हुने निर्यात खुलाउनका लागि ल्हासास्थित नेपाली वाणिज्य दूतावासबाट पहल भइरहेको भए पनि कहिले खुल्ने यकिन नरहेको भन्सार अधिकृत केसी बताउँछन् ।

कुनै समय तातोपानी भन्सार कार्यालय सञ्चालनका लागि ८० देखि ८५ जनासम्म कर्मचारी खटिने गरेका थिए । अहिले १४ जना कर्मचारी मात्रै त्यहाँ छन् ।२०७२ सालको भूकम्पका कारण तातोपानी नाकाको चीनतर्फको क्षेत्र खासा बजार पनि निकै प्रभावित भएको थियो । अहिले उक्त बजार पूर्णरुपमा बन्द छ ।

चीनले त्यहाँबाट बस्तीसमेत हटाइसकेको छ । भौगर्भिक अध्ययन पछि उक्त क्षेत्र मानव बसोबासका हिसाबले असुरक्षित देखिएको जनाउँदै चीनले बस्ती सारेको हो । अहिले त्यहाँ चिनियाँ सुरक्षाकर्मीको क्याम्प मात्र रहेको छ ।

चीनतर्फको भन्सार कार्यालयसमेत हटिसकेको छ । खासा क्षेत्रमा बजार बसाउन भौतिक संरचना निर्माण र सडक सञ्जाल निर्माणमा चीनले चासो देखाएको छैन । नेपालका लागि चीनसँगको व्यापारमा रसुवागढी भन्सार भन्दा तातोपानीबाट सामान आयात गर्दा ढुवानी भाडा सस्तो हुने र पूर्वाधारका हिसाबलेसमेत त्यहाँ उपयुक्त भए पनि चीनको बेवास्ताका कारण त्यहाँबाट हुने व्यापार खुम्चिँदै गएको छ ।

 

प्रकाशित :२०७९ माघ २५, बुधबार १०:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry