थापाले पछारे कार्की र अर्याललाई
प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापाले निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्की र अमृत अर्याललाई पछार्न सफल भएका छन् । थापाले कुल १८ मत प्राप्त गरी विजयी भएका छन् भने कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गरेका छन्।
Advertisement 1
निर्वाचन प्रक्रिया अनुरुप आज बिहान नौ बजेदेखि १० बजेसम्म मतदान भएको थियो । प्रदेश १ मा कांग्रेसको कुल २९ सदस्य रहेका छन् । नेता थापा नेपाली कांग्रेस प्रदेश नं १ का सभापतिसमेत हुन् । निर्वाचन नेपाली कांग्रेस प्रदेश नं १ का उपसभापति रमेशजङ्ग रायमाझीको संयोजकत्वमा भएको थियो ।
निर्वाचनपछि दलका नेता थापाले प्रदेश नं १ का नामकरण गर्ने पहिलो प्राथमिकता रहेको भन्दै कांग्रेसले प्रदेशमा प्रतिपक्षको भूमिकाबाट रचनात्मक भूमिका निर्वाह गर्ने धारणा राखे। उनले सत्तापक्षको असल कामको समर्थन एवं प्रशंसा गर्ने र गलत कामको विरोध गर्ने धारणा राख्दै कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा चल्ने विचार व्यक्त गरे।