भनसुनमै गरिन्छ कर्मचारी सरुवा,अनलाइन सरुवा प्रणाली नाम मात्रको
कर्मचारीको सरुवामा हुने विचौलियाको चलखेल र विकृती र बिसगती रोक्न भन्दै सरकारले अनलाइनबाटै कर्मचारीको सरुवा हुने व्यवस्था लागू गर्यो ।
Advertisement 1
कार्यालय अर्थात घरमै बसी बसी अनलाइनबाटै सरुवाको आवेदन दिन सकिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको थियो ।
७७ साल मंसिर ५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो प्रणाली विकास गरेर अनलाइनबाटै सरुवा दिन सकिने व्यवस्था मिलाएको थियो ।
यो प्रणाली लागू भएसँगै दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरु सरुवाको निवेदन बोकेर मन्त्रालयसम्म धाइरहनुपर्ने, सरुवाका लागि कसैलाई भनसुन गर्न नपर्ने र ज्येष्ठताका आधारमा आफूले रोजेअनुसारकै कार्यालयमा सरुवा हुन पाइने विश्वास कर्मचारीहरुले गरेका थिए ।
झन्झटिलो बिगतको व्यवस्थाको अन्त्य होला भन्ने अनुमान पनि थियो । तर अनलाइनबाटै सरुवा गर्ने प्रणाली विकास भएको तीन बर्ष व्यतित हुँदा समेत सरुवा प्रणाली पारदर्शी हुन सकेन, न त सहज नै ।
अनलाइनबाट सरुवा भनिए पनि व्यवहारमा भने भौतिक रूपमा उपस्थित भई भनसुन प्रणाली नै बढी कार्यान्वयन हुँदै आएको कर्मचारीहरुले दुखेसो पोखेका छन् ।
निर्वाचन आचारसंहिता फुकुवा भएसँगै अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाका लागि कर्मचारीहरुको भीड लाग्न थालेको छ ।
Advertisement 2
कतिपय कर्मचारीहरू अनलाइनबाट पनि सरुवाका लागि निवेदन दिने र पुनः आवेदनसहितका कागजात हातमै लिएर मन्त्रालयमा धाउने गरेका छन् ।
अहिले पनि कतिपय कर्मचारीहरु आफूले रोजेकै अड्डामा सरुवा गराउन वा सरुवा रोक्न सांसद,नेतादेखि ट्रेड युनियनकर्मीलाई बोकेर सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयका सचिव,कर्मचारी प्रशासनका हाकिमकहाँ धाउने क्रम उस्तै छ ।